भाजपाको कार्यक्रममा पठाउन सिके राउतले दाइलाई बनाउनुभयो परिषद्को अध्यक्ष
१९ बैशाख २०८१, बुधबार २२:४४
काठमाडौँ बैशाख १९ गते ।जनमत पार्टीकाका अध्यक्ष डा.सिके राउतले आफ्ना दाइ जयकान्त राउतलाई भारतीय जनता पार्टीका निमन्त्रणामा भारत पठाउनका लागि पार्टीको राष्ट्रिय परिषद्को अध्यक्ष बनाउनु भएको छ ।
पार्टीमा कुनै सल्लाह नै नगरि पार्टीको हैसियत दिएर आफ्नो दाइलाई चुनावको बारेमा जानकारी गराउन भाजपाले आयोजना गरेको कार्यक्रममा सहभागी गराउन आज भारत पठाउनु भएको छ ।
राष्ट्रिय योजना आयोगको सदस्य भएपछि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएका जयकान्त राउतलाई भारतको नयाँ दिल्ली उड्नु भन्दा केही घण्टा पहिले मात्र राष्ट्रिय परिषद्को अध्यक्ष बनाएर भारत पठाउनु भएको हो । जब कि हिजो पार्टीको सचिवालयको बैठक थियो त्यो बैठकमा यो विषयमा कुनै चर्चा नै भएन ।
तर आज विहानै परिषद्को अध्यक्षमा जायकान्त राउतलाई मनोनय गरिएको कुरा बाहिर आएपछि पार्टीका धेरै नेताहरु आश्चर्यमा पर्नुभएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्ना परिवारका सदस्यलाई अवसर दिने गरेको गुनासो पार्टीमा पहिलादेखि उठ्दै आएको हो ।
नार्कको जागिर छाडेर सिके राउतका दाजु जयकान्त राउत सप्तरी–१ मा प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नु भएको थियो । त्यसमा पनि पार्टीमा धेरैलाई जानकारी गराइएको थिएन । सिके राउत आफै सप्तरी–२ बाट र दाइ जयकान्त राउतलाई सप्तरी–१ बाट चुनाव लडाउनु भएको थियो । तर जयकान्त राउत पराजित हुनुभएको थियो ।
चुनावमा पराजित हुनुभएका जयकान्त राउतलाई अध्यक्ष सिके राउतले राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो । यस बारेमा पनि पार्टीमा कुनै छलफल भएको थिएन । जनमत पार्टीका एक नेताले भन्नुभयो, ‘यस्ता निर्णयको बारेमा कुनै नेतालाई जानकारी हुँदैन, सिके राउतले निर्णय गरिसकेपछि कसैले बोल्न हिम्मत राख्दैनन् ।’
राष्ट्रिय योजना आयोगको सदस्यबाट हटेपछि जनमत पार्टीका अधयक्ष सिके राउतले कसैसँग सल्लाहै नगरी सिधै राष्ट्रिय परिषद्को अध्यक्ष बनाएको निर्णय गर्नुभएको ती नेताले बताउनुभयो । पार्टीका नेताहरुका अनुसार प्रतिनिधि सभामा मत ल्याएको आधारमा जयकान्त राउतलाई राष्ट्रिय परिषद्को अध्यक्ष बनाउनु भएको हो ।
जब कि पार्टीको विधानमा राष्ट्रिय परिषद्को व्यवस्था नै छैन । अध्यक्ष सिके राउतले भारत पठाउनु पर्ने भएकाले जवर्जस्ती आफ्नो दाइलाई परिषद्को अध्यक्ष बनाएको ती नेताले गुनासो गर्नुभयो ।
तपाईको प्रतिक्रिया