काठमाडौँ, वैशाख १९ गते । निर्माता एवं निर्देशक पुर्णेन्दु झाले ‘लेबर’ फिल्मको टिजर (ट्रेलर) सार्वजनिक गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मैथिली, भोजपुरी र नेपाली भाषामा बन्न लागेको फिल्म ‘लेबर’ को टिजर सार्वजनिक गरिएको हो ।
निर्देशक झाले चलचित्रमा विदेशिन बाध्य नेपाली र विदेशिन बाध्य बनाइने नेपालीको कथा रहेकाले श्रमिक दिवसकै अवसर पारेर निर्माण घोषणा गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो देशबाट श्रमिकको रुपमा बाहिरिनेको सङ्ख्या निरन्तर बढ्दो छ । यस विषयमा अध्ययन र अनुसन्धान गरेपछि कथालाई चलचित्रमार्फत देखाउनुपर्छ भन्ने लागेर यसको निर्माण गर्दैछौँ । यो मधेसको पृष्ठभूमिमा तयार गरिने आम मानिस र सरकारबीचको कथा हो ।”

यस अगाडि नेपाली भाषामा ‘संरक्षण’ र ‘चौका दाउ’ जस्ता चलचित्र निर्देशन गरिसक्नुभएका झाले मैथिली भाषामा बन्ने चलचित्रको स्तरीयता र नयाँ पन महसुुस हुने गरी ‘लेबर’ लाई निर्देशन गरेर तयार गरिने बताउनुभयो । “हामी नेपाली चलचित्रको बजार विदेशमा खोजिरहेका छौँ । तर, हामीले स्वदेशमै भएको बजारलाई बलियो बनाउने र विस्तार गर्नेतर्फ पनि ध्यान दिनु आवश्यक छ ।
यो नेपालभर प्रदर्शन हुने चलचित्र बन्नेछ”, निर्देशक झाले भन्नुभयो ।
कार्यक्रममा उपस्थित पूर्वराजदूत डा सूर्यनाथ मिश्रले यो विषय गम्भीर भएको र प्रवासमा रोजगारीको लागि पुग्नेको प्रत्यक्ष सरोकारको विषयमा चलचित्र बन्न लागेको बताउनुभयो । “दुई करोडभन्दा बढी जनसङ्ख्याको सरोकारको विषय भएकाले यो सान्दर्भिकसँगै संवेदनशील पनि छ । यो विषयलाई चलचित्रमा ल्याएर प्रस्तुत गर्नु आफैँमा तारिफ योग्य काम हो । श्रमिकसँग भइरहेको बेथितिलाई यसले प्रस्तुत गरेर सम्बन्धित निकायलाई झक्झकाउनेमा विश्वस्त छु”, उहाँले भन्नुभयो ।
कार्यक्रममा निर्माण समूहलाई शुभकामना दिँदै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मैथिली चलचित्रको क्षेत्रमा आधुनिक यात्रा प्रारम्भको बिन्दु यो चलचित्र हुन सक्ने सम्भावना रहेको बताउनुभयोे ।

“यसको सार्वजनिक गरिएको श्रव्यदृश्य हेर्दा मैथिली चलचित्रमा नयाँ पुस्ताले आधुनिकता भित्र्याएका छन् भन्न सकिन्छ । चलचित्र तयार हुने तीनै भाषाका व्यक्ति श्रमिकको समस्यासँग जोडिएका छन् ।
त्यसकारण पनि यो चलचित्र ती व्यक्तिका लागि आवाज बन्ने छ र त्यो समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्नेमा विश्वस्त छु”, अध्यक्ष झाले भन्नुभयो, “लेबरको बेथितिविरुद्धको विद्रोहको रुपमा चलचित्र आवाज उठाउने सार्वजनिक श्रव्यदृश्यमार्फत सङ्केत गरेको छ । यो विद्रोह कायम रहेको खण्डमा चलचित्रले सार्थकता पाउने छ ।”
पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्रालिको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा सतेन्द्र झा, सञ्जय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धीरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माताको रुपमा हुनुहुन्छ । निर्देशक झासँगै नरेश मिश्राले लेख्नुभएको चलचित्रमा उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकारले अभिनय गर्दै हुनुहुन्छ ।



तपाईको प्रतिक्रिया