Khadya Bibhag

विभाजनपछि जसपा नेपालको पहिलो बैठकमा उठेका यस्ता छन् गुनासाहरु

काठमाडौँ बैशाख २७ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको अनौपचारिक बैठक हिजो सम्पन्न भएको छ ।
अर्को औपचारिक बैठक बैशाख ३१ र जेठ १ गते काठमाडौँमा बोलाएको छ । जसपा नेपाल पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले पहिलो पटक पार्टीको अनौपचारिक बैठक बोलाउनु भएको थियो । सो बैठकमा उपत्यकामा उपस्थित केन्द्रीय सदस्यको उपस्थिति थियो ।
बैठकले राज्य सत्ताका षड्यन्त्रमा परेर अशोक राइहरुले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ । पटक पटक पार्टीमा सुविधा पाएकाहरु नै अहिले आएर राज्यको षड्यन्त्रमा परेर पार्टी विभाजन गरेको बैठकले निष्कर्ष निकालेको छ ।
वर्तमान गठबन्धनकै सरकारलाई निरन्तरता दिने र अगामी कदम सरकारको व्यवहार अनुसार चाल्ने पनि बैठकको निष्कर्ष रहेको नेताहरु बताउनु हुन्छ । एक नेताले भन्नुभयो, ‘वर्तमान सरकारलाई निरन्तरता दिने तर यो सरकारलाई पछिसम्म निरन्तरता दिने नदिने विषय सरकारको व्यवहारमा भर पर्छ ।’

बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले पार्टी विभाजन गर्ने नेताहरु अशोक राइ, राजेन्द्र श्रेष्ठ, रेणु यादव, इस्तियाक राइ, प्रदीप यादवलगायतको खुलेर आलोचना गर्नुभएको थियो । यी नेताहरु पार्टीमा विगतमा पटक पटक गलती गरेको तर कारवाहीबाट बन्चित गरेको कारण आज पार्टीको यो अवस्था आएको नेताहरुले धारणा राख्नु भएको थियो ।
अहिले पार्टी छाडेका नेताहरुबाट विगतदेखि नै पार्टीलाई नोक्सान भइरहेको थियो, उहाँहरुले पटक पटक पार्टी विभाजनका लागि प्रयास गरेको कुरालाई पनि विगतदेखि नजरअन्दाज हुँदै आएको थियो भनि टिप्पणी गर्नेहरु पनि हुनुहुन्थ्यो ।
जसपा नेपाल मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर यादवले प्रदीप यादवले संसदीय कोषबाट सञ्चालन हुने विकास निर्माणका कार्यक्रमहरु बेचेको आरोप लगाउनुभएको थियो । जसपाका उपमहासचिव रहनु भएका प्रदीप यादवले कहिले पनि पार्टीको हितमा काम नगरेको, पार्टीमा भाँडभैलो नै मचाएको आरोप उहाँले लगाउनु भएको थियो ।
जसपा संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठ संगठन विभागका प्रमुख रहे पनि पार्टीको हितमा काहिले काम नगरेको आरोप लगाउँदै अध्यक्ष बालकिशोर यादवले महाधिवेशन भाँड्ने काममा सुरुदेखि उहाँले गरेको पनि आरोप लगाउनुभयो ।

केन्द्रीय सदस्य कैलाश यादवले पार्टीले अशोक राइलाई जिताउनकै लागि जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गर्नुभयो तर त्यही अशोक राइ आज पार्टीमा अन्तरर्घात गर्नुभयो यसको अर्थ पार्टी नेतृत्वले व्यक्ति पहिचान गर्न नसकेको पुष्टि भएको बताउनुभयो ।
अशोक राइ आफू चुनाव जित्नु नै भयो, त्यसपछि उहाँले आफ्नो श्रीमतीलाई जवर्जस्ती समानुपातिक सांसद बनाउनुभयो । आफू मन्त्री पनि बन्नुभयो । संघीय परिषद्को अध्यक्ष पनि बन्नुभयो । पार्टी हरेक कुरामा भागबण्डा लिनुभयो तर अहिले आएर कसैको उक्साहतमा पार्टी विभाजन गर्नुभएको उहाँको आरोप छ ।
अर्का केन्द्रीय सदस्य बम दर्लामीले पार्टीमा राजेन्द्र श्रेष्ठले पटक पटक अवसर पाउनुभयो तर पार्टीको हितमा कुनै पनि काम नगरेको टिप्पणी गर्नुभयो । काठमाडौँमा राजेन्द्र श्रेष्ठको कुनै जानाधार नै छैन, आफ्नो वडाबाट १० मत पनि ल्याउन नसक्ने व्यक्तिलाई पार्टीले समानुपातिक सांसद बनाएर मन्त्रीसम्म पनि बनायो तर आज उनले नै पार्टी छाडेर गएको टिप्पणी गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य विद्युत बज्रचार्यले जसपा नेपाल पार्टी बनाउनमा श्रेष्ठको कुनै योगदान नरहेको दावी गर्नुभयो । कुनै जनाधार नभएको व्यक्तिलाई जसपाले ठूलो हाइट दियो, उपेन्द्र यादवले विभिन्न ठूला ठूला अवसर दिनुभयो जो मधेशका नेताहरुले पनि पाउनु भएन तर आज त्यही राजेन्द्र श्रेष्ठले पार्टी छाडेर जानुभयो ।
महाधिवेशन असफल बनाउने खेलमा राजेन्द्र श्रेष्ठ पनि लागेको कुरा केन्द्रीय सदस्य तारा विश्वकर्माले पनि राख्नुभयो ।
रेणु यादवले पार्टीमा पटक पटक फाइदा लिनुभयो र पटक पटक गल्ती पनि गर्नुभयो तर पार्टीका अध्यक्ष उपेन्द्र यादवले यी सबै कुराको नजरअन्दाज गरेको कारण आज यो अवस्था आएका गुनासो केन्द्रीय सदस्य विशेश्वर यादवको थियो ।

रेणु यादव, प्रदीप यादव, इस्तियाक राइ पहिला पनि पार्टी विभाजन गर्ने प्रयास गर्नुभएकै हो, यो कुरा पार्टी र पार्टीका अध्यक्षलाई राम्रोसँग थाह थियो, त्यति नै बेला कारवाही गरि दिएको भए आज यो अवस्था आउन थिएन भनि धारणा विशेश्वर यादवको थियो ।
रेणु यादवले वीरगञ्जमा बसेको केन्द्रिय समितिको बैठकमा जसरी कुरा राख्नु भएको थियो, त्यो पार्टी हितमा थिएन, त्यतिबेला पनि पार्टीका थुप्रै नेताहरुले उहाँलाई कारवाही गर्नुपर्छ भनिएको थियो तर पार्टी नेतृत्वले सुनुवाई नगरेको गुनासो केन्द्रीय सदस्य सुनिता डोम मरिकले गर्नुभएको थियो ।
माओवादी छाडेर जसपा नेपालमा प्रवेश गरेका रामकुमार शर्माले प्रचण्डबाट पटक पटक जसपा नेपालमाथि प्रहार भएको धारणा राख्नुभएको थियो । गौर घटनादेखि लिएर मधेशमा हुने धेरै जसो घटनामा प्रचण्डको हात हुने गरेको दावी गर्दै उहाँले अहिलेको घटनामा पनि प्रचण्डको नाम आइरहेको दावी गर्नुभयो ।

#JSP N

तपाईको प्रतिक्रिया