Khadya Bibhag

यी हुन् हालसम्म उपेन्द्र यादवका साथ छाडेका नेताहरु ?

काठमाडौँ बैशाख २७ गते । ‘पार्टी फुट्ने नेपालमा कुनै पार्टी अछुतो छैन, बनेका पार्टी तीन दिनमा फुट्या छ र सबभन्दा बढी फुटेको पार्टी कम्युनिष्ट पार्टी हो, मलाई कम्युनिष्ट पार्टीको लामो अनुभव छ, म हुँदै कम्युनिष्ट पार्टी ६३ पटक फुटिसकेको थियो, जति नेता थिए सबैका गुट थिए । तर कुनै पनि पार्टी फुट्नु राम्रो होइन ।’
तपाईकै पार्टी पटक पटक किन फुट्छन् भनि पत्रकारको जिज्ञासामा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहनु भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दिनु भएको प्रतिकृया हो यो । २०६३ मा मधेशी जनअधिकार फोरम पार्टीको रुपमा दर्ता भए यता त्यो पार्टी सात पटक विभाजन भइसकेको छ र सैयौ कार्यकर्ता तथा नेताले उहाँको साथ छाडिसक्नु भएको छ ।
देशका ठूला ठूला नेताहरुले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्विकार गरेर उहाँलाई साथ दिनुभएको थियो । तर विस्तारै विस्तारै सबैले उहाँको साथ छाडेर जानुभयो । यस्तो किन भयो त यसको समिक्षा हालसम्म न जसपामा पार्टीमा भएको छ न कतै अरु सार्वजनिक मञ्चमा भएको छ ।
उपेन्द्र यादवबाट छुटिने एक जना दोषी होला, दुई जना होलान्, तीन जना होलान् तर सबैले उहाँको साथ छाडेका छन् पक्कै पनि सबै दोषी थिएनन् तर यसको समिक्षा खै भनि उपेन्द्र यादवको साथमा लामो समय काम गरेका एक नेताले सहारा टाइम्ससँग भन्नुभयो ।

उपेन्द्र यादवलाई अध्यक्ष स्विकार गरेर उहाँसँग जति जना गोलबन्द हुनुभयो । त्यसमध्ये अधिकाँश नेताहरुको उहाँका साथ छाडेर गइसकेका छन् । आज ती सबैलाई सम्हालेर राखेको भए जसपा नेपाल देशकै ठूलो पार्टी हुन्थ्यो तर कहाँ को चुके यसको समिक्षा तथा अध्ययन कही भएको जस्तो लाग्दैन ।
उपेन्द्र यादवको साथमा विजयकुमार गच्छदार, शरतसिंह भण्डारी, जेपी गुप्ता, डा.बाबुराम भट्टराई, अशोक राइ, राजेन्द्र श्रेष्ठ, महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्रराय यादव, रामेश्वर राय यादव, भाग्यनाथ गुप्ता, अमर यादव, भरतविमल यादव, अमृता अग्रहरी, उमाशंकर अरगरिया, तुलानारायण साह, कौशलकुमार सिंह, सरिता गिरी, रामनरेश राय यादव, लक्ष्मण थारु, रेशम चौधरी, किशोर विश्वास, जितेन्द्र देव, आशा चतुर्वेदी, रामजनम चौधरी, नरसिंह चौधरी, दानबहादुर चौधरी, गोविन्द चौधरीलगायत सैयौं होनहार तथा राष्ट्रमा आफ्नो छवी बनाएका नेताहरु गोलबन्द हुनुभएको थियो ।
ती सबै नेताले उपेन्द्र यादवलाई अध्यक्ष स्विकार गर्नुभएको थियो । उपेन्द्र यादवको अध्यक्षतामा रहेको पार्टीमा बस्न चाहनु भएको थियो तर विस्तारै सबैले साथ छाड्नु भयो । के छाड्नेहरु दोषी हुनुहुन्थ्यो कि उपेन्द्र यादव, यसको जवाफ कहीबाट आएको छैन ।
विजयकुमार गच्छदार, शरतसिंह भण्डारी, जेपी गुप्ता पटक पटक मन्त्री भइसकका नेता हुनुहुन्छ । महन्थ ठाकुर सबभन्दा पुरानो नेता हुनुहुन्छ । डा.बाबुराम भटट्राई जनयुद्धको कमाण्ड गरेर आउनु भएको हो र देशको प्रधानमन्त्री भइसक्नु भएको छ । महेन्द्र राय यादव पनि कुम्युनिष्टका पुरानो नेता हुनुहुन्छ । उहाँ पनि पटक पटक मन्त्री भइसक्नु भएको छ । राजेन्द्र महतो, अनिलकुमार झाहरुको पनि आफ्नै राजनीतिक इतिहास छ । बुद्धिजिवी तथा लेखकको रुपमा तुलानारायण साहको आफ्नो पहिचान छ । भरतविमल यादव जनआन्दोलनको नेतृत्वकर्तामाध्येका एक नेता हुनुहुन्छ ।
अशोक राइ एमालेमा हुँदा दोस्रो सबभन्दा ठूलो नेता हुनुहुन्थ्यो । उहाँलाई सालिन र भद्र नेता मानिन्छ । यी सबैले उपेन्द्र यादवको अध्यक्षतामा पार्टीमा बस्न तयार हुनुभएको थियो । तर विस्तारै सबैले पार्टी छाड्नुभयो । ती सबै लोभी, सत्ताभोगी, पार्टीको हित नचाहने हुनुहुन्थ्यो त । कसैले जवाफ दिन सकेको छैन ।
यिनीहरु पार्टी छाड्दा वा विभाजन गर्दा जसपाका अध्यक्ष उपेन्द्र यादवले उहाँहरुमाथि विभिन्न आरोप लगाउनु भएको थियो । कहिले भारतको नाम लिनुभएको थियो भने कहिले काँग्रेस, त कहिले एमाले त कहिले के भनेर आरोप लगाउनु भएको थियो ।
छाड्नेहरुले पनि उपेन्द्र यादव नै दोषी हुनुहुुन्छ भनि आरोप लगाउनु हुनुहुन्थ्यो । तर वास्तविक दोषी को यसको अध्ययन कहीबाट भएको देखिदैन ।
यी सब घटनामा उपेन्द्र यादव नै दोषी रहेको दावी लोसपाका वरिष्ठ नेता भण्डारीले गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सामूहिक नेतृत्व गर्ने क्षमता उपेन्द्र यादवमा छैन । सबैले उहाँलाई लिडर मान्नु भयो तर उहाँले कसैलाई लिडर मान्नुभएन ।’
उपेन्द्र यादवले समाजिक संस्थाको रुपमा मधेशी जनअधिकार फोरम नेपाल गठन गरेपछि उहाँका साथमा थुप्रै व्यक्तित्वहरु संगठित हुनुभएको थियो । फोरम नेपालको प्रथम महाधिवेशन २०६० सालमा भएको थियो । २०६० साउन ११ गते उपेन्द्र यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यकारिणी समिति गठन हुँदा उपाध्यक्ष महानन्द ठाकुर, सचिव रामकुमार शर्मा, कोषाध्यक्ष परमानन्द मेहता हुनुहुन्थ्यो ।
सदस्यहरुमा उदय पटेल, नेवालाल राय, जितेन्द्र सोनल, गिरेन्द्रप्रसाद यादव, जागेश्वर महतो, बीपी यादव, शिवराम यादव, रामप्रसाद साह, जीवछकुमार राय, कृष्णबहादुर यादव र जागेश्वर यादव थिए । त्यसमध्ये हालै मात्र पुनः जसपामा प्रवेश गरेका रामकुमार शर्माबाहेक उपेन्द्र यादवसँग कोही हुनुहुन्न ।

त्यसपछि सो कार्यसमिति विस्तारै हुँदैगयो । पछि जेपी गुप्तालाई महासचिव बनाइएको थियो । अहिले जेपी गुप्ता पनि उहाँको साथमा छैन ।
कार्यसमिति विस्तारसँगै तत्कालिन फोरम आन्दोलनको तयारीमा लाग्यो । तराई मधेशदेखि काठमाडौँका विभिन्न ठाउँमा विचार गोष्ठीहरु गर्नुको साथै आन्दोलनका लागि तयारी प्रशिक्षणहरु पनि दिएको थियो ।
बिच बिचमा तत्कालिन फोरमको कार्यसमितिलाई विस्तार पनि गर्ने काम पनि भइरहेको थियो । पहिलो चरणको मधेश आन्दोलन पनि सम्पन्न भयो । पहिलो आन्दोलनकै क्रममा भाग्यनाथ गुप्ताको नेतृत्वमा रामकुमार शर्मा, जितेन्द्र सोनल, कुमार विश्वासलगायतका नेताहरु तत्कालिन फोरमबाट अलग हुनुभएको थियो ।
आन्दोलन सफल भएपछि पार्टीमा तत्कालिन फोरममा जेपी गुप्ता, विजयकुमार गच्छदार, शरतसिंह भण्डारी, रामेश्वरराय यादव, रेणु यादवलगायत ठूला ठूला नेताहरु प्रवेश गर्नुभएको थियो । २०६४ मा पहिलो संविधानसभा सम्पन्न भयो । देशकै तेस्रो शक्तिको रुपमा फोरमको उदय भएको थियो ।
२०६५ जेठ १९ गते बसेको तत्कालिन फोरमको बैठकले केन्द्रीय समिति विस्तार गर्यो जसमा केन्द्रीय सदस्यको रुपमा विजयकुमार गच्छदार, रामजनम चौधरी, शरतसिंह भण्डारी, रेणु यादव, रामेश्वर राय यादव, अकवाल अहमद शाह, लालबाबु राउत र आशा चतुर्वेदीलाई मनोनयन गरिएको थियो ।
रुकमाङ्गत कटुवाल कण्डपछि प्रचण्ड नेतृत्वको सरकार भङ्ग भएपछि माधवकुमार नेपालको नेतृत्वमा सरकार बनिरहेको बेला विजयकुमार गच्छदारको नेतृत्वमा शरतसिंह भण्डारी, रामेश्वर राय यादवलगायत नेताहरु उपेन्द्र यादवको साथ छाडेर अर्को पार्टीका बनाउनु भएको थियो ।
पार्टी विभाजनपछि पनि उपेन्द्र यादवको साथमा जोडिएका महादेव साह, परमानन्द झा, तिलक रावल, श्यामानन्द सुमन, सीताराम अग्रवाल, नन्दनकुमार दत्त, रामविलास यादव, डा.शिवजी यादव, रामवीर राय, ओमप्रकाश यादव, अभिषेक प्रताप शाह, श्रवणकुमार अग्रवाल, लक्ष्मण थारु, बीपी यादव, सन्ध्या देव, रम्भा देवी, सुरिताकुमारी साह, बलराम यादव, जितेन्द्र सोनल, सरिता गिरी, अमर यादव, किशोर विश्वास, कौशलकुमार सिंह, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रिजवान अन्सारी, भाग्यनाथ गुप्ता, केशव झा, सर्वदेव ओझा, भीराज चौधरी, वकिल मुसलमान, हेमराज तातैर, आशाकुमारी सरदार, शिवनारायण उराँव, रामानन्द मण्डल, भूपेन्द्र चौधरी, कलाबती दुसाध, निलम वर्मा, ललिता साह, मुगालाल महतोलगायतका नेताहरुमध्ये हाल उपेन्द्र यादवको साथमा सुरिता साहबाहेक कोही पनि हुनुहुन्न ।

बाबुराम भट्टराईको नतेत्वमा सरकार बन्ने बेला जयप्रकाश गुप्ताको नेतृत्वका अर्को पार्टी बनेको थियो ।
२०७० साउन ३ गते बसेको तत्कालिन फोरमले पुनः १६ जना थपेर केन्द्रीय समिति विस्तार गर्यो त्यसमा भरतविमल यादवलाई केन्द्रीय सदस्य एवं वरिष्ठ नेतामा राखेको थियो ।
रामचन्द्र राय, साधु यादव, विरेन्द्र यादव, बसुद्दीन खान, विनिता यादव, पल्टन ठाकुर र सत्यनारायण मण्डललाई राखिएको थियो त्यसमध्ये पनि अहिले उपेन्द्र यादवसँग कोही छैनन् ।
मधेशी नेताहरुले उपेन्द्र यादवको साथ छाड्न थालेपछि उपेन्द्र यादवले आदिवासी जनजातिको साथ खोज्नुभयो । आफ्नो पार्टी हिमाल र पहाडतिर विस्तार गर्न थाल्नुभयो । आदिवासी जनजाति नेताहरुलाई जोड्न थाल्नुभयो । आफ्नो आन्दोलनलाई पनि काठमाडौ केन्द्रीत गर्न थाल्नुभयो । उपेन्द्र यादवको पार्टीमा पहाडी समुदायका नेताहरुको चहल पहल बढ्न थाल्यो । त्यसले मधेश आन्दोलन गरेर आएका कतिपय नेताहरुलाई अप्ठ्यारो पनि भइरहेको थियो ।
त्यहीबेला जनजातिका नेता अशोक राइ नेतृत्वको संघीय समाजवादी नेपालसँग एकीकरण गर्नुभयो । त्यही बेला अशोक राइ, राजेन्द्र श्रेष्ठ, रिजवान अन्सारी, गोपाल ठाकुरलगायत थुप्रै नेता उपेन्द्र यादवसँग जोडिनु भएको थियो तर अहिले उहाँहरु पनि उपेन्द्र यादवको साथमा हुनुहुन्न ।
२०७५ मा तत्कालिन नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराइलाई पार्टीमा ल्याउनुभयो । दुई पार्टी मिलेर समाजवादी पार्टी बन्यो । उपेन्द्र यादवले पनि देशका एउटा पूर्व प्रधानमन्त्रीलाई पार्टीमा ल्याएको भनि सार्वजनिक रुपमा प्रचार गर्नुभयो । पार्टीको आन्तरिक बैठकदेखि लिएर खुल्ला कार्यक्रममा पनि त्यसको उदाहरण गर्वका साथ दिनुहुन्थ्यो ।

त्यसको आडमा विदेशमा पनि समाजवादी पार्टीको राम्रै संगठन बन्न थाल्यो । उपेन्द्र यादवको माग मधेशभन्दा पहाडमा बढी हुन थाल्यो । हिमालबाट पनि उहाँको बोलाहट सुरु भयो । सबै ठिकठाक चलिरहेको थियो । नयाँ शक्तिसँग एकीकरण गरेको दुई वर्ष मात्र पुगेको थियो । पार्टीको समायोजन काम पनि सकेको थिएन ।
त्यति नै बेला उपेन्द्र यादवले २०७७ बैशाख १० गते महन्थ ठाकुर नेतृत्वको तत्कालिन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गर्नुभयो । सो एकीकरणपछि मधेशका ठूलो तप्का उपेन्द्र यादवको साथमा जोडिएका थिए । महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा, महेन्द्र राय यादव, रेशम चौधरी, जितेन्द्र सोनल, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, रामनरेश राय यादवलगायत थुप्रै नेताहरु उपेन्द्र यादवको साथमा जोडिनु भएको थियो । सबैले उहाँलाई नेता स्विकार गरिसक्नु भएको थियो ।
यदि त्यो दिन उपेन्द्र यादवले राजपासँग एकीकरण नगरेको भए रेणु यादव, इस्तियाक राइ, उमाशंकर अरगरिया, प्रदीप यादव, विमल श्रीवास्तव, डा.सुरेन्द्र यादवलगायतका नेताहरुले उहाँको पार्टी विभाजन गर्थे ।
अहिले तीमध्ये कुनै पनि नेता उपेन्द्र यादवको साथमा हुनुहुन्न ।

समाजवादी पार्टी र राजपा मिलेर जनता समाजवादी पार्टी नेपाल बन्यो । उपेन्द्र यादव नेतृत्वको जसपा झन समावेशी र शक्तिशाली बन्यो । मधेशमा एउटा ठूलो शक्ति बन्यो । तर पार्टी एकीकरण भएको छ महिना पनि पुगेको थिएन, उपेन्द्र यादव र महन्थ ठाकुरबीच खटपट सुरु भएको थियो । २०७८ भदौमा जसपा विभाजन भयो । महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारीलगायतका नेताहरु उपेन्द्र यादवको साथ छाडेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गर्नुभयो ।
हुन त महन्थ ठाकुर पक्षमा रहेका महेन्द्र राय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, रामनरेश राय यादव, नवलकिशोर साह, सरोज यादव, अमृता अग्रहरी, प्रमोद साहलगायतका थुप्रै नेता उपेन्द्र यादवकै साथमा बसे । तर पछि सरोज, राजकिशोर र मृगेन्द्रबाहेक अरु नेताहरु त्यहाँबाट निस्किनुभयो ।
पछि डा.बाबुराम भट्टराई, महेन्द्रराय यादव पनि उपेन्द्र यादवको साथ छाडेर निस्किनुभयो । अहिले अशोक राइ, राजेन्द्र श्रेष्ठ, प्रदीप यादव, इस्तियाक राइ, रेणु यादव, रञ्जु ठाकुरलगायतका नेताहरु उहाँको साथ छाडेर निस्किनु भएको छ ।

 

तपाईको प्रतिक्रिया