जसपा नेपाल फुटाएको आरोप लागेपछि दीपेन्द्र झाले दिनुभयो राजिनामा (राजिनामापत्रसहित)
४ जेष्ठ २०८१, शुक्रबार १६:२१
काठमाडौँ जेठ ४ गते । जनता समाजवादी पार्टी नेपालबाट अधिवक्ता दीपेन्द्र झाले पनि राजिनामा दिनुभएको छ ।
हालै जसपा नेपाल विभाजनमा दीपेन्द्र झाको हात रहेको आरोप लागेको कारण उहाँले नैतिकताका आधारमा राजिनामा दिनुभएको छ ।
पार्टी विभाजनमा संलग्न अशोक राइ र निर्वाचन आयोगमाथि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएको मुद्दामा पनि दिपेन्द्र झाले सहयोग नगरेको आरोप पार्टीभित्र लाग्दै आएको थियो ।
उनले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट आजैको मितिले जसपा नेपालका अध्यक्ष यादवसमक्ष राजिनामा दिएका छन् ।
पार्टीमा आफूमाथि रहेको अविश्वास र पार्टी विभाजन गरेका कतिपय नेतासँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको कारण स्वार्थ बाझिने डरले आफू मुद्दामा बहस नगरेको पनि राजिनामा पात्रमा स्पष्ट पार्नुभएको छ ।
यस्तो छ दीपेन्द्र झाले दिनुभएको राजिनामा पत्र
मितिः २०८१–०२–०४
श्रीमान् अध्यक्षज्यू,
जनता समाजवादी पार्टी, नेपाल
नमस्कार,
सवैभन्दा पहिला यँहाले मलाई पाँच बर्ष सम्म पहिलो मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको जिम्मेवारी दिलाउन र प्रदेश सरकारको कानून मस्यौदा समितिको संयोजकको ऐतिहासिक जिम्मेवारी दिलाउन गर्नुभएको सहयोगप्रति म यहाँप्रति सदेव अनुग्रहित रहने छु । त्यस लग्तै मलाई जसपा नेपाल पार्टीमा प्रवेश गराई टिकट समेत दिई, पार्टीको विधान मस्यौदा समितिको सदस्य र हालै निर्वाचन समितिको संयोजक जस्तो अतिनै महत्वपूर्ण जिम्मेवारी दिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।
खासगरी भर्खरै भएको पार्टी विभाजनको मुद्दामा सक्रिय रहेका साथीहरुले पार्टी फोडने म नै हो जस्ता अभिव्यक्तिहरु सार्वजनिक स्थलहरुमा वारम्वार दिएकोले उत्पन्न भएको अविश्वासको कारण मैले जसपा नेपालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको मुद्दा मस्यौदामा सुझाव सल्लाह दिएपनि वहसमा अनुपस्थित भएको व्यहोरा जानकारी गराउँदछु ।
अझ विपक्षी बनाइएका केही नेताहरुसँग मेरो सम्बन्ध रहेको र उनीहरुको कैयौं मुद्दा मेरो ल फर्मवाट हेरिने भएकोले स्वार्थ वाझिने हिसावले मैले कुनै पक्षमा पनि वहस गर्न उचित ठानिन । म सर्वप्रथम एकजना कानून व्यवसायी हुँ र त्यसकारण स्वार्थ बाझिने र अविश्वास भएको मुद्दाबाट आफूलाई अलग गर्नु मेरो पेशागत धर्म हो । यो मुद्दामा मैले त्यही धर्म निर्वाह गरेको हुँ । सिद्धान्त र नैतिकताको हिसावले पनि जसपा नेपालको प्रदेश निर्वाचन समिति घोषणा भइसकेको अवस्थामा आफैले गरेको निर्णय आफै उल्टाउन त्यति सहज नहुने भएकोले आजैको मिति देखि आफूलाई जसपा नेपालको सम्मपूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी गराउन चाहन्छु ।
साथै,महाधिवेशनको लागि चाहिने मुख्य दस्तावेज निर्वाचन निर्देशिका मैले निकै मिहिनते गरी बनाइसकेको हुँदा जसपा नेपालको केन्द्रीय निर्वाचन समितिका सदस्य देव नारायण यादवजीलाई केन्द्रीय निर्वाचनको संयोजकको जिम्मा दिई महाधिवेशनको काम अगाडि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिन चाहन्छु।
यो बिषय मैले कुनै सार्वजनिक खपतका लागि नभई यँहाको जानकारीका लागि मात्रै यो पत्र प्रेशित गरेको छु।यहाँ नेपालमा संघीयता ल्याउने संघर्षको नायक हुनुहुन्छ र मधेस विद्रोहको नेतृत्वकर्ता पनि हुनुहुन्छ, त्यसका लागि यहाँप्रति मेरो सम्मान र सद्भाव सदैव कायम रहनेछ । म जसपा नेपालबाट अलग्गिए पनि मधेशको सशक्तिकरण र विकासको कुरामा यहाँले मेरो सहयोगको अपेक्षा गरेको खण्डमा म सहयोगको लागि सदैव तयार रहने जानकारी पनि गराउँदछु । पार्टीमा रहँदा यहाँले मलाई दिएको अवसरको लागि सदैव अनुगृहित रहनेछु ।
अवको मेरो जीवनको यात्रा एउटा स्वतन्त्र कानून व्यवसायीको रुपमा अगाडि बढ्ने कुरा पनि यहाँ सँग साझा गर्न चाहन्छु ।
दिपेन्द्र झा
अधिवक्ता
तपाईको प्रतिक्रिया