Khadya Bibhag

मैथिली भाषाका चलचित्र न्यून

नेपालमा नेपालीबाहेक अन्य भाषामा निकै कम सँख्यामा चलचित्र निर्माण हुने गरेका छन् । तराई क्षेत्रमा चलचित्र भवनको सँख्या राम्रो भए पनि त्यहाँ हिन्दी र भोजपुरी भाषामा तयार भएका चलचित्रको दबदबा देखिन्छ । स्थानीयरुपमा बोलिने मैथिली भाषामा भने निकै कम चलचित्र निर्माण भएका छन् ।
नेपाली र भोजपुरी जस्तो पूर्ण तयारी भएर चलचित्र नबनेको विश्लेषण साहित्यकार तथा गीतकार धीरेन्द्र प्रेमर्षीले गर्नुभयो । उहाँले ससाना भिडिओ चलचित्र बनेको पाइए पनि अन्य भाषाको जस्तो ठूला चलचित्र नबनेको बताउनुभयो । “यहाँ आट गरेर चलचित्र बनाउने लगानीकर्ताको अभाव देखिएको छ । भाषा र साहित्यसँगै समुदायप्रति दायित्व बोध गर्नेको अभाव हुँदा पछिल्लो समय आफ्नै चलचित्र छैनन् ।
उहाँले बजार ठूलो भए पनि मैथिली भाषामा चलचित्र नबन्नु दुःखद् रहेको बताउनुभयो । उहाँलाई ‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’ नामक मैथिली भाषामा बनेको चलचित्र स्मरण छ । जसले बलिउडका ठूला चलचित्रको शो हटाउनसमेत सफल भएको थियो । सो चलचित्रलाई मुरलीधरले निर्देशन गर्नुभएको थियो । भारतीय कम्पनीले निर्माण गरेको थियो भने नेपालमा प्रदर्शन अधिकार निर्देशक मुरलीधरले लिनुभएको थियो । त्यो चलचित्रपछि केही प्रयास भए तर कलाकारले सफलता नपाएको उहाँले बताउनुभयो । पछिल्लो समय डिजिटल प्लेटफर्ममा उपलब्ध ‘ज्याक्सन हल्ट’,‘गामक घर’, ‘ललका पाग’ जस्ता चलचित्र बजारमा आएको छ । नेपालमात्र नभई भारतमा पनि उल्लेख्यरुपमा मैथिली चलचित्र निर्माण हुन् नसकेको कलाकार रमेश रञ्जन झाले बताउनुभयो ।
मैथिलीका छोटा चलचित्र बनेका छन्, तर ठूला चलचित्र नबन्दा यहाँका जनशक्ति बाहिरका उद्योगमा गएर काम गर्न बाध्य एका छन् । वीरगञ्जदेखि जनकपुर हुँदै तयारको बजारलाई लक्षित गर्दै चलचित्रका लागि प्रयास गर्नुपर्ने देखिएको छ । केही समय अगाडि मैथिली भाषामा निर्माण गरेर नेपाली र भोजपुरीमा स्वराङ्कन गरेर प्रदर्शन गर्ने घोषणा गरिएको चलचित्र ‘लेबर’ ले नयाँ अध्यायको सुरुआत गर्नसक्ने विश्वास मैथिली चलचित्रकर्मीको छ ।
यसका निर्देशक पुर्णेन्दु के झाले बजार खोज्ने प्रयासमा सुरुआत गर्न लागिएको बताउनुभयो । “मैले चलचित्रसम्बन्धी अध्ययन गरेर नेपाली भाषाको चलचित्र बनाएँ । तर, यतिबेला हामी तराईबाट प्रतिनिधित्व गर्नेले मैथिली भाषाका लागि चलचित्र बनाउनु आवश्यक देखेर तयारी गरिरहेको छु । अघिल्ला दुई चलचित्रको अनुभवले यसलाई भव्य बनाउने कोसिस गर्ने छु”, निर्देशक झाले भन्नुभयो ।
उहाँले मैथिली भाषासँगै तराईमा देखिएको श्रमिक र वैदेशिक रोजगारीको समस्यालाई चलचित्रको कथा बनाउनुभएको छ । यसमा मिथिलामा नाटक गरेका अभिनेता उत्पल झा, रवीन्द्र झालगायतका कलाकार तय भएका छन् । नेपाली चलचित्र, भोजपुरी चलचित्रमा देखिएका कलाकारसँगै मैथिली भाषामा दख्खल राख्ने कलाकार चलचित्रमा देखिने निर्देशक झाले जानकारी दिनुभयो । “म चलचित्रलाई व्यावसायिकरुपमा तयार गरेर प्रदर्शन गर्ने तयारीमा छु । यसले लगानीकर्तालाई आकर्षित गर्नेछ । लेबर मैथिली चलचित्रका लागि आउँदो दिनमा कोशेढुङ्गा सावित हुनेछ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया