कुरा २०४३ तिरको हो । त्यतिबेला अहिलेको जस्तो मधेश समाज खुल्ला थिएन, एकखालको बन्द समाज थियो । त्यतिबेलाका महिलाहरु घुँघटमा हुन्थे नै त्यसमा पनि चार दिवारी (चारैतिरबाट पर्खाल भएको)भित्र रहनु पथ्र्यो । घरको चार दिवारी नाघेर बाहिर निस्किन सजिलो थिएन मधेशका महिलालाई । त्यतिबेला समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकि नसकी बोकेर हुर्किंदै हुनुहुन्थ्यो जनकपुरधामकी मञ्जुला ठाकुर ।
खुसी के हो ? समाज के हो ? जिम्मेवारी के हो ? भनेर प्रष्ट छुट्याउन सक्ने अवस्थै बनेको थिएन उहाँको । त्यहीँबेला १२ वर्षकै उमेरमा उहाँको विवाह भयो । समय त्यस्तै थियो, कलिलो काँधमा असाधारण जिम्मेवारीको भारी थपिएपछि सकि नसकी माइतीको इज्जत र पोइलीघरको जिम्मेवारी धान्नैपर्ने भयो ।
“कलिलै उमेरमा जिम्मेवारी थपियो । जानेको केही थिइनँ । त्यो समय र आफ्नो जीवन नै बोझ लाग्दै थियो । के गर्ने, के नगर्ने छुट्याउने उमेर पनि त भएको थिएन नि । तर पनि बाँच्नु त पर्यो”, उहाँले त्यो समय सम्झिँदै भने । मञ्जुलको उमङविहीन त्यो समयलाई रङ्गिन बनाउन आमाले सिकाइ दिएको ‘पेन्टिङ् कला’ रङ भर्ने माध्यम बन्यो । जीवनमा रङ भर्ने माध्यम मात्रै बनेन स्वावलम्बनको आधार र घरमा बसेर आश्रित जीवन बाँचिरहेका अरु नारीहरूलाई संगठित गर्ने आधार पनि बन्यो ।
२०४८ सालको समय हुँदो हो, महिना त ठ्याक्कै भन्न सक्नुभएन उहाँले । अर्धघुम्टोमा घरको चौघेरा नाघेर निस्किएको वर्ष थियो त्यो ।
घरघरमा वाल पेन्टिङ
“केही समय घरमै बसेर आफ्नो कलालाई निखारे । पछि २०४८ सालतिर घरबाट समाजमा निस्किएँ । विवाहपछि घरमै मिथिला कलाको अभ्यास गर्न थालेँ । मैले काठमाडौंमा आयोजित १० दिने भित्ता चित्रकला कार्यशालामा भाग लिने मौका पनि पाएँ । त्यो तालिमपछि मलाई जनकपुर नारी विकास केन्द्रमा काम गर्ने मौका प्राप्त भयो ।
त्यो बेला महिलालाई घरबाट निस्किनै समस्या थियो । मलाई पनि सुरुमा त्यस्तै भयो । तर हिम्मत हारिन । बिहे, चाडपर्वको बेला घरघरमा गएर वाल पेन्टिङ् गर्न थाल्यौँ”, मञ्जुलाले त्यो समय सम्झनुभयो, “सुरुमा गाह्रो भयो । गाउँघरको मान्छे कुरा काट्थे । कता जान्छ ? के गर्छ ? अरुसँग किन हिँड्छ ? जस्ता अनेक लाञ्छनासहितका प्रश्नले उडाउँथे । तर त्यसको कुनै प्रवाह गरिनँ”, उहाँले सुनाउनुभयो ।
समय परिवर्तन हुँदै गयो । काम गर्दै जाँदा पैसा आउन थाल्यो । आयआर्जन भएपछि घरका समस्याहरू टार्न सहज भयो । गृहिणीको पहिचान कलाकर्मीमा बदलियो । त्यसपछि परिवारबाट समेत थप साथ पाउन थाल्नुभयो उहाँले । त्यसपछि त मञ्जुलाको समय, दिनचर्या नै बदलियो । अर्थोपार्जन भयो । समाजको भरोसा थपियो । अर्धघुम्टो पूरै उघार्ने अवस्था बन्यो ।
मञ्जुला भन्नुभयो, “मैले आफू मात्रै होइन, घरघरमा सीमित रहेका र घुम्टोसमेत उघार्न नचाहने महिलाहरूलाई आफ्नो अभियानमा जोड्न भूमिका खेले, जसका कारण अरु थुप्रै दिदीबहिनीलाई आर्थिक रूपले सबल बनाउन निकै सहयोग पुगेको छ । आर्थिक रूपले सबल हुनु भनेको महिलाको आत्मसम्मान र प्रतिष्ठासमेत बढ्नु हो नि ।”
कुनैबेला यस्तो समय आयो कि मञ्जुलालाई भ्याइनभ्याई भयो । आफ्नै समाजका चौकचौतारा, बजार, गल्लीहरूमा जानसमेत नपाउने जनकपुरकी एक महिला मञ्जुला पाँच पटक त धेरैले सपनाको देश भनिने अमेरिका पुग्नुभयो ।
घुम्टो भित्रको कला
त्यो क्षण सम्झिँदै उहाँ भन्नुहुन्छ, “त्यसबेलाको मधेशी समाजकी एउटा बुहारी, छोरी, श्रीमती, दिदीबहिनीलाई हेर्ने दृष्टिकोण सम्झिदा पनि नमीठो लाग्छ । मैले संस्कारको नाममा छोपिएको घुम्टो उघार्ने हिम्मत नगरेको भए आज यहाँ पुग्थिन होला । घुम्टोदेखि अमेरिकासम्मको त्यो चक्र सम्झिदा रोमाञ्चित पनि हुन्छु र दुःखी पनि । अहिलेको नयाँ पुस्ताका छोरी बुहारीलाई त धेरै सहज छ । अब उहाँहरू अगाडि आउनुपर्छ । त्यसमा सरकारले पनि सहयोग गर्नुपर्छ ।”
मिथिला कलाकारको हैसियतमा आफूलाई सुरुमा घरपरिवार र समाजबाट धेरै विरोधको सामना गर्नुपरे बताउँदै मञ्जुलाले त्यतिबेला आफूले परिवार तथा समाजबाट अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको बताउनुभयो । उहाँको श्रीमानले उहाँलाई पेन्टिङ गर्न रोक्नु हुन्थ्यो र घरमा काम गर्न भन्नुहुन्थ्यो । तर त्यसबाट उहाँ कहिले डठमगाउनु भएन किनभने मञ्जुलालाई उहाँको ससुराको सहयोग थियो ।
मुन्नी खातुनको मिथिला चित्रकाला
मञ्जुलाको कुरा सुन्दा २६ वर्षअघिको मधेशको मुस्लिम समाजको याद आउँछ । त्यसमा पनि श्रीमान गुमाउनु भएको एउटा नारीको अवस्था । तर त्यसलाई चिरेर अगाडि बढिन् जनकपुरधाम उपमहानगरपालिका—४ शान्तिनगरकी मुन्नी खातुन । छ छोरी र एक छोराकी आमा मुन्नीको जीवनमा एकाएक बज्रपात भयो । २७ वर्षअघि श्रीमान बिते ।
एक्लो ज्यान भए त जेनतेन जीवन चल्थ्यो होला तर उहाँमाथि ती सबै लालाबालाको पालनपोषण गर्ने जिम्मेवारी आइलाग्यो । विकल्पहरू केही थिएनन् । “हिम्मत हार्नु हुँदैन रहेछ, अल्लाहले विकल्प दिइहाल्दा रहेछन् । घरमा सामान्य सिकेको पेन्टिङ कलालाई जीविकोपार्जनको आधार बनाउने सोच आयो । मेरो सीपलाई निखार्ने अवसर भने केही समयअघि खुलेको जनकपुर नारी विकास केन्द्रले दियो”, खातुनले भन्नुभयो, ‘धन्न त्योबेला छ सात सयमा परिवार चल्थ्यो । अहिले त जति पैसा भए पनि पुग्दैन । त्यसमा पनि पेन्टिगं कुनै मूल्य नै छैन जस्तो लाग्छ ।”
खातुनले यहीँ पेशाबाट घरपरिवारको लालनपालनदेखि छोराछोरीको बिहेसम्म गरि दिएको सुनाइन् । उहाँले भन्नुभयो, “हो, पेन्टिङबाटै यो सबै सम्भव भएको हो । यदि यो सीप नभएको भए मैले सात छोराछोरीसहितको परिवार कसरी पालनपोषण गर्थें होला ? यही चित्रकलाबाट घरबार चल्यो, छोराछोरीको विवाह गरियो ।”
रमणी मण्डलको अठोट
मुन्नी खातुनकै जस्तो अवस्था रमणी मण्डलको पनि रहेको छ । १३ जना परिवारको जिम्मेवारी रमणीको टाउकोमा थियो । उहाँले दिनमा नारी विकास केन्द्रमा काम गर्नुहुन्थ्यो भने साँझ तरकारी बेच्नु हुन्छ अनि मात्र १३ जनाको परिवारलाई पालि रहनु भएको छ ।
उहाँले सो केन्द्रमा पेन्टिङ, सिलाई, सिरेमिक र मिरर पेन्टिङ सहित हरेक क्षेत्रमा काम गर्नुहुन्छ । उहाँसँग ती सबै क्षेत्रको ज्ञान रहेको छ । तर त्यहाँ जति मेहनत गरे पनि कमाई भइरहेको थिएन । बनाएका चित्रकालाहरु बिक्रि नहुँदा रमणी मण्डल निराश बन्नुभएको थियो । तर पछिल्लो समय विस्तारै सबै चिन्ता दुर हुँदै गयो ।
उहाँ भन्नुहुन्छ, ‘ जब म सानो थिएँ, मैले मेरी काकीलाई कसरी चित्र कसरी कोर्ने भनि सिकाउन आग्रह गरें, तर उहाँले यो आफ्नो जिम्मेवारी नभएको भन्दै सिकाउनका लागि इन्कार गर्नुभएको थियो । त्यसपछि मन्दिरको भित्तामा चित्रहरू हेरेर कला अध्ययन गर्न थालें । मैले पेन्टिङ सिक्न धेरै मेहनत गरेको छु । अब म कागज र कपडामा रंग्न सक्छु । म गाई, गोरु, बाख्रा, माछा, र देवता र देवीका मूर्तीहरू चित्रण गर्न सक्छु ।’
चित्रकलामार्फत जीविकोपार्जन गर्ने पहिलो महिलाको रूपमा समाजमा आएपछि आफूले त्यो समाजबाट थुप्रै अपहेलनाहरु खेपेको बताउँदै रमणी भन्नुहुन्छ, ‘मैले परिवार र समाजबाट आलोचनाको सामना गरें । तर यसले मलाई र मेरो कामलाई असर गरेको छैन । मेरो गाउँका अन्य महिलाहरू मसँगै केन्द्रमा काम गर्छन्, र उनीहरूलाई त्यहाँ देख्दा मलाई खुसी लाग्छ ।’
सीतादवीलाई अवसर
जनकपुरधाम–१० देवीचोककी सीतादेवी कर्णलाई पनि मिथिला चित्रकलाले नाम, दाम र प्रतिष्ठा सबै दियो । यहीँ कलाले उनलाई बेल्जियम, अमेरिका, काठमाडौँलगायत भारतका विभिन्न ठाउँमा गएर आफ्नो कला प्रदर्शन गर्ने अवसर दियो । त्यसबाट आएको पैसाले परिवारको लालनपालनमा सहयोग पुग्यो ।
“म तीस वर्षदेखि यहीँ काम गरिरहेकी छु । गाह्रो अप्ठ्यारो त जुनसुकै पेशामा हुन्छ नै । तर यहीँ पेसाले म जस्ता तमाम नारीलाई नयाँ पहिचान दियो । देश दुनियाँ हेर्ने अवसर दियो”, उहाँ भन्नुहुन्छ, “आफ्नो जीवन र आँखाको ज्योति रहेसम्म यो कलामा समर्पित हुने चाहना छ । अब नयाँ पुस्तालाई यो क्षेत्रमा अगाडि बढ्नका लागि आफ्नो तर्फबाट सक्दो सन्देश फैलाउन योजना छ ।”
कर्णलाई मिथिला चित्रकलाप्रतिको लगाव भने उहाँको आमाले जागृत गराउनु भएको थियो । त्यसलाई निखार्ने अवसर भने जनकपुर नारी विकास केन्द्रले दिएको हो । “म बच्चादेखि नै यो कलामा लागेको हो । मेरो आमाले चाडपर्वमा गोबर, चामलको पिठोबाट परम्परागत चित्रकला बनाउनुहुन्थ्यो । त्यहीँबेलादेखि चित्रकला सिक्ने भोक जोगको हो ।
नारी विकास केन्द्रले त्यसलाई निखार्न अभिप्रेरित ग¥यो । त्यसको प्रस्थानबिन्दु भने २०५० साल थियो”, कर्णले भनिन् ।
सो संस्थाले त्यसवर्ष ६३ जनालाई सहभागी गराएर चित्रकला प्रदर्शनीसहित अन्तर्वार्ता लिँदा त्यसबाट उत्कृष्ट प्रतिस्पर्धीका रूपमा छनोट भएर काम सुरू गरेको कर्णले जानकारी दिनुभयो । त्यसपछि नै उहाँको व्यावसायिक जीवन सुरू भएको हो ।
उहाँले छ महिनामै शाखाको व्यवस्थापक र मास्टर आर्टिस्ट, पछि संस्थाको सचिव, कोषाध्यक्ष र अध्यक्ष हुँदै २२ वर्षसम्म त्यहाँ काम गरेको स्मरण गर्नुभयो । उहाँ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य पनि बन्नुभयो ।
चित्रकालामा जम्नु भएका सुमिन्त्रा
जनकपुरकी सुमिन्त्रा यादव पनि आफ्नो हातबाट मिथिला चित्रकाला सिक्नु भएको हो । सुमिन्त्राका आमा पनि मिथिला पेन्टिङ गर्नुहुन्थ्यो । सुमित्रा यादवका आमाले उहाँलाई सानैदेखि मिथिला पेन्टिङ सिकाउनु भएको थियो । त्यसपछि उहाँ विराटनगर, राजविराज, सिरहा, काठमाडौं जस्ता विभिन्न ठाउँमा मिथिला चित्रकालाको तालिम लिनुभयो । उहाँ भन्नुहुन्छ, ‘जब म जनकपुर नारी विकास केन्द्रमा आए अनि मात्र मेरा चित्रहरूले महत्वग पाउन थाले ।’
जनकपुर नारी विकास केन्द्रका अनुसार सुमिन्त्राका चार जना छोराछोरी छन् । सुमिन्त्राका श्रीमान वेरोजगार हुनुहुन्छ । त्यसैले बालबच्चा पालनका लागि सुमिन्त्राले दुध बेच्ने काम गर्नुहुन्छ । गाउँमा दुध खरिद गरेर बजारमा गएर बेच्नु हुन्छ । त्यसबाट बचेका समय उहाँ केन्द्रलाई दिनुहुन्छ ।
सुमिन्त्रा भगवान राम, सीता, शिव, पार्वती, गणेश, कृष्ण, राधा, ग्रामिण परिवेश खेतीपाती, खाना उपभोग गर्ने, गाई, भैंसी, बाख्रा, र अन्य धेरै जनावरहरूको चित्र बनाउनु हुन्छ । सुमिन्त्रा भन्नुहुन्छ, ‘मलाई त्यसमध्ये ग्रामिण जीवन, त्यहाँको रहन सहन, त्यसको जीवनशैलीबाला चित्रकाला निकै मन पर्छ र बनाउनमा पनि मन पर्छ ।’ सुमित्रको मिथिला चित्रले अमेरिकाबाट ११ हजार र सिरहाबाट ५ हजारको पुरस्कार जितेको थियो । उहाँको मिथिला चित्रकला साउदी अरबका एक जना पत्रकारले पनि मन पराएको थियो । र, सुमिन्त्राको चित्रकाला पैसाबाट खरिद गर्नुभएको थियो ।
सुलोचनाको जीवन रंग
जनकपुरधाम–१० निवासी सुलोचना कर्णले पनि विगत ३० वर्षदेखि मिथिला चित्रकला कोर्दै आउनु भएको छ । निर्जिव वस्तुमा कोर्ने यहीँ चित्रकलाले आफ्नो जीवनलाई नै जिवन्त बनाइ दिएको उहाँको बुझाई छ । “यहीँ काम गरेर आफ्नो पहिचान बनाए । थोरै भए पनि यो कामबाट आर्जेको पैसाले घरपरिवार चलाउन योगदान पुग्यो । यो भन्नुको अर्थ त्यसले मलाई स्वावलम्बी, आत्मनिर्भर र प्रतिष्ठित जीवन बाँच्नका लागि जीवनमै रङ भरिदियो”, उहाँले भन्नुभयो, ।
हुन त मिथिला चित्रकला मिथिलाञ्चलको पहिचान, कला, संस्कृति, भाषा, साहित्यको त्रिवेणी हो । त्यसैले यहाँका हरेक नारीहरू कुनै न कुनै रूपमा यो सीपसँग परिचित छन् । त्रेता युगमा मिथिला नरेश रामलाई जनकपुरमा स्वागत गर्न राजा जनकले यहाँका भित्ताभित्तामा मिथिला चित्र बनाउन लगाएको किंवदन्तीबाट सुरुभएको यो मौलिक सभ्यातालाई विशेषगरी यहाँका तिनै नारीहरूले धानिरहेका छन् ।
नारी विकास केन्द्र
शदिऔँदेखि सामान्यतः बिहे, व्रतबन्ध, चाडपर्वमा घरआँगन रङ्गाउन प्रयोग हुने यो कला महिलाले आफ्नो मनोभाव चित्रमार्फत व्यक्त गर्ने एक माध्यमका रूपमा मात्रै सीमित थियो । विसं २०५० पछि भने महिला स्वतन्त्रता, सम्मान र स्वावलम्बनका लागि बलियो आधार बनेको छ । त्यसको ठूलो श्रेय नारी विकास केन्द्रलाई जान्छ । विगतमा मिथिला क्षेत्रको सिङ्गो लोकगाथा, सभ्यता र मधेशको जीवन बोक्दै आएको यो कलाले पछिल्लो समय यहाँका नारीहरूको आर्थिक जीवनलाई पनि उचाल्न सघाउ पुगेको छ ।
“घुम्टो उघारेर अमेरिकासम्म पुग्ने । आर्थिक स्रोतमा बलियो पकड जमाउने र निर्भिकतापूर्वक स्वतन्त्र जीवन बाँच्ने आधारका रूपमा मिथिला चित्रकलालाई लिन सकिन्छ”, मिथिला चित्रकलालाई आधुनिक स्वरूप दिन योगदान दिएका डा.राजेन्द्र विमल भन्नुहुन्छ, “मिथिला चित्रकला यहाँको भाषा, कला, साहित्य र संस्कृतिको संगम हो । यसले मैथिल सभ्यता बोल्छ । यहाँको लोकजीवन बोक्छ । नारी हृदयबाट प्रस्फुटित आत्मिक भाव र रुपलाई शब्दचित्रमा ओकेल्छ ।”
यसलाई थप सशक्त र व्यवस्थित बनाउने कार्यको सुरूवात भने नारी विकास केन्द्रको स्थापनापछि भएको डा. विमलको पनि भनाइ छ । “मिथिला चित्रकला यहाँका नारी, समाज र लोकआस्थालाई छुट्याउन सकिँदैन । त्यसैले यहाँका नारीहरू कुनै न कुनै रूपमा यससँग परिचित नै छन् । तर त्यसलाई व्यावसायिक बनाउने र जीविकोपार्जनको सशक्त आधार तय गर्ने कामचाहिँ त्यहीँ केन्द्रले गरेको हो ।”
जनकपुर नारी विकास केन्द्रका व्यवस्थापक अभिवन अंशु नारी सशक्तीकरण र आत्मनिर्भरताका लागि यहाँका नारीमा रहेको कलालाई निखार्न केन्द्रले ठूलो सहयोग गरेको बताउनु हुन्छ । विशेषगरी नेपाली मिथिला क्षेत्रमा सीमित चित्रकलालाई विश्व जगतमा फैलाउन र घरमा सीमित रहेर आश्रित जीवन बाँचिरहेका महिलालाई आर्थिक, सामाजिक रूपमा सशक्त बनाउँदै संसार देख्न र बुझ्न यहीँ संस्थाले जग निर्माण गरिदिएको उहाँको भनाइ छ ।
मैथिली नारीलाई सीप
“मैथिल नारीहरूसँग केही न केही सीप छ । तर त्यसमा निखार र प्रचारको अभाव थियो । मिथिला चित्रकला, हस्तकला, सिलाइ र छपाइका सामग्रीमा सुन्दरता भरेर आर्थिक, सामाजिक र मनोवैज्ञानिक हिसाबले महिलालाई सशक्तीकरण गर्न हाम्रा अग्रजहरूले यो संस्था निर्माण गरेका थिए । त्यसको निरन्तरता दिइरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “तर यसलाई समयसापेक्ष विकासका लागि हामीले मात्रै चाहेर धेरै कुरा हुने अवस्था छैन ।”
नेपालको मौलिक मिथिला पेन्टिङको माध्यमबाट संसारमा चिनाउने र नारी समानता तथा स्वावलम्बनका लागि महत्वपूर्ण योगदान गर्नसक्ने भएकाले यस क्षेत्रको विकासका लागि सामूहिक पहलकदमी जरुरी छ ।
तपाईको प्रतिक्रिया