Khadya Bibhag

उपेन्द्र यादवको नजरमा काँग्रेस, एमाले, माओवादी कस्तो पार्टी ?

जनता समाजवादी पार्टी नेपालको एकता महाधिवेशन जेठ ३० गते सम्पन्न भएको छ । त्यो महाधिवेशनले एउटा अध्यक्ष मात्र चयन गर्न सक्यो । उपेन्द्र यादव सर्वसम्मतीले अध्यक्षमा चयन हुनुभयो । महाधिवेशनले अरु पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई नै दियो । महाधिवेशन सम्पन्न भएको ३० दिनभित्र केन्द्रीय समिति चयन गरिसक्नु पर्ने प्रावधान रहेको छ ।
अध्यक्ष यादवले आफ्नो तरिकारले कार्यसमिति बनाउनु नै हुनेछ । तर उहाँले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनको चर्चा खुब भयो । सर्बसम्मतीले पारित भएको सो राजनीतिक प्रतिवेदनमा उहाँले विभिन्नत राजनीति दलको बारेमा राख्नुभएको धारणाले चर्चाको विषय बन्यो । ३१ पेजको लामो सो प्रतिवेदनमा राजनीतिक दलको आलोचनामा उहाँले तीन पेज खर्चिनु भएको छ ।
उहाँले काँग्रेस, एमाले, माओवादी, राप्रापा, लोसपालगायतका दलको खर्रो टिप्पणी मात्र गर्नुभएको छैन । ती दलहरुलाई भ्रष्टाचारी, कमिशनखोरीको आरोप पनि लगाउनु भएको छ ।
काँग्रेस धर्मनिरपेक्ष विरोधी
उहाँले काँग्रेसलाई ‘उदार लोकतान्त्रिक’ धारको नेतृत्व गर्ने पार्टी भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभएको छ । उहाँले आफ्नो राजनीतिक प्रतिवेदनमा भन्नुभएको छ, ‘कांग्रेस विश्वव्यापीकरण, निजीकरण, खुला बजारमा आधारित अर्थव्यवस्था र आर्थिक उदारीकरणको पक्षमा उभिएको र अर्थतन्त्रलाई बजारमा खुला छोडिदिनुपर्छ र यसमा कुनै किसिमको नियन्त्रण हुनु हुँदैन भन्ने मान्यता राखेको छ ।’
उहाँले काँग्रेससँग आफ्नो पार्टी जसपा नेपालको मिल्ने विषय भनेको नागरिक स्वतन्त्रता र बहुदलीय व्यवस्था मात्र रहेको दस्तावेजमा उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो दस्तावेजमा भन्नुभएको छ, ‘यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो परिस्थितिवश लतारिएर गणतन्त्रसम्म आयो, तर हामी सिद्धान्तले नै गणतन्त्रवादी हौं गणतन्त्र जस्तै यो हिजो सांघीयता र समावेशीताको विरूद्धमा थियो । अनिच्छावश मान्न बाध्य भयो ।’
कांग्रेसका कयौं नेताहरू अहिले पनि सार्वजनिक रूपमा नै धर्मनिरपेक्षताको विरुद्धमा रहेको उल्लेख गर्दै अध्यक्ष यादवले संविधानसभाले संविधान बनाउँदा प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक संसदको व्यवस्था हुन नसक्नुको कारण कांग्रेसको अडान रहेको बताउनुभएको छ । संघीय प्रणालीको सही मोडल अर्थात् पहिचानमा आधारित स्वायत्ततासहितको संघीय प्रणाली हुन नसक्नुमा कांग्रेसको ठूलो हात रहेको उल्लेख गर्दै अध्यक्ष यादवले कांग्रेस सहभागीतामूलक, समावेशी समानुपातिक लोकतन्त्रको विरुद्धमा उभिने गरेको आरोप लगाउनु भएको छ ।
यो राष्ट्रिय उद्योगधन्दाहरू समाप्त पार्ने, कृषि अनुदान कटौती गर्ने, कृषि प्रधान देशलाई कृषि वस्तुमै परनिर्भर आयातकर्ता बनाउने, श्रम निर्यात गर्ने बाँकी सबै वस्तुहरू विदेशबाट आयात गर्ने, देशलाई निरन्तर व्यापार घाटामा पार्ने, शिक्षा र स्वास्थ्यको अति व्यापारीकरण तथा माफियाकरण गर्ने, भूव्यवस्थाको व्यापारीकरणमार्फत् अव्यवस्थित शहरीकरण र शहरी सुकुमबासी समस्या सिर्जना गर्ने, नियमक संस्थाहरूको भूमिका कमजोर पार्ने, जताततै मूल्य कार्टेलिङ्ग र सिन्डीकेटलाई प्रश्रय दिने, ठेक्कापट्टा र राजकीय स्रोतहरूमा निश्चित वृत्तलाई मात्र पोस्ने र कमिसन तन्त्रलाई बढावा दिने जस्ता कार्य गरेको अध्यक्ष उपेन्द्र यादवको आरोप छ ।
कांंग्रेसको शासनकालमा लाउडा, धमीजा, सुडान जस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरू भए तर कहिल्यै विश्वसनीय छानविन नभएको उल्लेख गर्दै सुशासनको सवालमा यो पार्टीको प्रतिबद्धता व्यवहारमा नदेखिको उहाँले बताउनुभएको छ । काँग्रेसले प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थिलो भएको उहाँको टिप्पणी छ ।
पञ्चहरू भन्दा पनि तल्लोस्तरका क्रियाकलाप
सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले जनताको बहुदलीय जनवादमार्फत् परम्परागत संसदीय प्रणालीको बाटो समातेको उल्लेख गर्दै अध्यक्ष यादवले एमाले एकैसाथ संसदवादी र कम्युनिस्ट बन्ने अन्तरविरोधपूर्ण बाटोमा अग्रसर भएको टिप्पणी गर्नुभएको छ । एकातिर एमालेले माक्र्सवाद–लेनीनवाद–माओवादप्रति शब्दनिष्ठा व्यक्त गर्न छाडेका छैन भने अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे व्यापक अन्योल, अविश्वास र हिनताबोध रहेको उहाँले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
अध्यक्ष यादवले आफ्नो राजनीतिक दस्तावेजमा भन्नुभएको छ, ‘एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय–विनय गर्दछन् भने अर्कोतिर कम्युनिस्ट–कम्युनिस्ट’ को नाममा सामीप्यता र आडभरोसा खोज्न पनि छोडेका छैनन् । एकदलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्ने वित्तिकै गौरव पनि गर्दछन् ।’ दार्शनिक, वैचारिक रूपमा अन्योलग्रस्त र नैतिक रूपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रूपमा मात्र लामो समय बलियो भइरहन नसक्ने उल्लेख गर्दै उहाँले आउँदा केही वर्ष वा दशकभित्र कम्युनिस्ट पार्टीहरू भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख रहेको बताउनु भएको छ ।
कम्युनिस्ट पार्टीका ठूल्ठूला नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा लज्जास्पद ढंगले उदाङ्गिदै गएको टिप्पणी गर्दै अध्यक्ष यादवले आर्थिक क्षेत्रमा उदारबाद, नवउदारवादी नीतिलाई एमालेले निरन्तरता दिइरहेको दावी गर्नुभएको छ । सम्पत्ति शुद्धिकरण आयोगलाई निष्क्रिय बनाउने तथा ठूला आयोजनाहरू बिना टेन्डर सिधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसँगको साँठगाँंठ हो भन्ने कुरामा कुनै शंका नरहेको उल्लेख गर्दै उहाँले निर्दलीय व्यवस्थाका पञ्चहरू भन्दा पनि तल्लोस्तरका क्रियाकलाप र चरित्रको प्रदर्शन नेपाली कम्युनिस्टहरूले गरिरहेको उल्लेख गरेका छन् ।
माओवादी विकृति र विसंगतिको केन्द्र
माओवादी केन्द्रले १० वर्षे जनयुद्धमार्फत् प्रारम्भिक कालको जनवादी गणतन्त्र नेपाल स्थापना गर्ने उद्देश्यलाई स्थगन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गरेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्विकार गरेको छ । माओवादीले संसदीय निर्वाचनमा आफ्नो स्थिति अत्यन्त कमजोर हुने देखेर बाध्य भई एमालेसँग मिलेर चुनाव लडेको उल्लेख गर्दै अध्यक्ष यादवले सत्ता स्वार्थ र नेतृत्वको बीचको आन्तरिक द्वन्द्वका कारण त्यो एकता टिक्न नसकेको टिप्पणी गर्नुभएको छ ।
माओेवादीले आफूलाई सर्वहारा वर्गको पार्टी भने पनि वास्तवमा पार्टीको आशा र विश्वास नदेखिएको टिप्पणी गदै अध्यक्ष यादवले माओवादी नामको खोलभित्र रहेका विकृति निम्न पुँजीवादी चरित्र बोकेको पार्टी भएको बताउनुभएको छ । माओेवादी चिन्तन र व्यवहारमा मार्क्सवादी–लेनिनवादी, माओवादी नभई ढुलमूले, अवसरवादी चरित्र हावी भएको टिप्पणी उहाँले गर्नुभएको छ । माओवादी पार्टीका नेता, कार्यकर्ता ठूल ठूला भ्रष्टाचार, कमिशनतन्त्र र जग्गा दलालीमा लिप्त रहेको टिप्पणी गर्दै उनले माओवादी केन्द्र विकृति र विसंगतिको केन्द्रको रूपमा स्थापित हुँदै गइरहेको उहाँको टिप्प्णी छ ।
महेन्द्रीय राष्ट्रवादमा राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई राजाबादी, हिन्दु राष्ट्रवादी पार्टी भन्न रूचाउनले गरेको उल्लेख गर्दै पुराना शासकवर्ग र परिवार, राणा, शाह र पञ्चायती शासनका हर्ताकर्ता पञ्चहरूको राजनीतिक रक्षाकवचका रूपमा यो पार्टीको उदय भएको अध्यक्ष यादवले टिप्पणी गर्नुभएको छ । यो पार्टीले पछिल्लो चुनावमा केही स्थान हासिल पनि गरेको छ । महेन्द्रीय राष्ट्रवाद को पैरवी गर्न राप्रपा धारले बेलाबेलामा कांग्रेस कम्युनिस्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गरेको अध्यक्ष यादवले टिप्पणी गरेका छन् ।
अर्काको मुख ताक्ने लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समावेशीता, राष्ट्रिय पहिचान र अधिकारकारको पक्षधर लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै अध्यक्ष यादवले यो पार्टीसँग आफ्ना केही ऐजेण्डाहरू मिल्ने गरेको बताउनु भएको छ । तर, यो पार्टी देश र जनताको हितमा आफ्नो निर्णय आफैँ लिन सक्दैन, अर्काको मुख ताक्ने गर्ने गरेको तैपनि तर पनि यो पार्टीसँग सहकार्य गर्न सकिने उहाँले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया