Khadya Bibhag

कृषि विद्युतीकरणका लागि मुख्यमन्त्री अग्रसर

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशका आठवटै जिल्लामा कृषि विद्युतीकरणको काम अगाडि बढाउन छलफल सुरु गर्नुभएको छ । उहाँले नेपाल विद्युत् प्राधिकरणका मधेश प्रदेश प्रमुख मोनिन्द्र ठाकुरलगायतसँग यस विषयमा छलफल गर्नुभएको हो । किसानलाई सिँचाइको सुविधा सहज बनाउन खेतमा विद्युत् पु¥याउने लक्ष्यअनुरुप मुख्यमन्त्री सिंहले छलफल अगाडि बढाउनुभएको हो ।
प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा पनि कृषि विद्युतीकरणलाई प्रदेशको गौरवको परियोजनाको रूपमा समावेश गरिएको छ । आठवटै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा विद्युतीकरणका लागि एक करोड विनियोजन गरिएका बारे मुख्यमन्त्रीले जानकारीसमेत गराउनुभएको विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले किसानका लागि कृषि विद्युतीकरणको कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राय लिनुभयो । पुराना अव्यवस्थित तार र संरचनालाई व्यवस्थापन गर्न पनि ध्यानाकर्षण गराउनुभएको छ ।”
यसैगरी बिजुली बत्ती नपुगेका विपन्न बस्तीको तथ्याङ्क सङ्कलन गरी त्यहाँ विद्युत् पुगाउने विषयमा पनि छलफल भएको थियो । मुख्यमन्त्री सिंहले यहाँका विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराउन राखेको प्रस्तावमा प्राधिकरण सकारात्मक भएको प्रमुख ठाकुरले बताउनुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया