२०८० फागुनको अन्तिमतिर काँग्रेसलाई छाडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन गरेका थिए । तर त्यो गठबन्धन चार महिना पनि टिकेन । असार १७ गते मध्यराती एमाले–माओवादी गठबन्धन भत्केर एमाले–काँग्रेस गठबन्धन बन्यो । काँग्रेसका साभपति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बनाइ सक्नुभएको थियो ।
तर तत्कालिन प्रधानमन्त्री प्रचण्डसँग बालुवाटार भेट्न गएका एमालेका अध्यक्ष ओलीले कुनै पनि सहमति भएको छैन, सञ्चारमाध्यममा आएका सबै गलत समाचार हुन् भनि विश्वस्त बनाउनु भएको थियो ।
यहाँसम्म कि एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट नै पार्टीका महासचिव शंकर पोखरेललाई फोन गरेर अहिले गठबन्धनका बारेमा आएका भ्रामक समाचारहरुको बारेमा विज्ञप्ति निकालेर खण्डन गर्न निर्देशन दिनुभएको थियो । सभापति देउवा र अध्यक्ष अोली बिच सहमतिपत्रमा हस्ताक्षर भएको तस्विर सञ्चारमाध्यममा पनि आइसकेका थियो ।
आफ्नो मोबाइलबाट तत्कालिन प्रधानमन्त्री प्रचण्डले त्यो तस्विर देखाउँदै भन्नुभएको थियो, ‘तपाईहरु त यस्तो सहमति गरिसक्नु भएको छ तस्विर नै आइसकेको छ ।’ त्यसपछि एमालेका अध्यक्ष ओलीले यो पुरानो तस्विर हो, पत्रकारहरुले यस्तै पुराना तस्विरहरु राखेर समाचारहरु बनाउने गरेका छन् तपाई उतातिर नजानुस् गठबन्धनलाई बलियो कसरी बनाउने, २०८४ मा सँगै चुनाव कसरी लड्ने, कम्युनिष्ट पार्टीलाई कसरी बलियो बनाउने त्यो कुरामा सल्लाह गरौं भनि जवाफ दिनुभएको थियो ।
यतिसम्म कि एमालेका अध्यक्ष ओलीले भन्नुभएको थियो, ‘हामी कम्युनिष्टहरु मिलेनौ भने भारतको पश्चिम बगांलमा कम्युनिष्टको जुन हालत भएको छ त्यस्तै हालत हुन्छ । त्यसैले हामी मिल्नुपर्छ मात्र होइन, एकीकरण गरेर कम्युनिष्ट पार्टीको ठूलो शक्ति बनाउनुपर्छ ।’ स्वर्ग जाँदा सँगै जाने, नर्क जाँदा सँगै जाने अब एमाले–माओवादी छुट्टिने कुरा हुँदैन, बरु तपाईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने, बरु यस विषयमा देउवासँग तपाई र म मिलेर कुरा गरौं भन्दै ओलीले वामशक्तिलाई नै बलियो बनाएर जाने निष्कर्ष निकाल्दै बालुवाटारबाट निस्किनु भएको थियो ।
ओलीको कुरा सुनेर तत्कालिन प्रधानमन्त्री प्रचण्ड मख्ख पर्नुभएको थियो । उहाँले यो कुरा असार २८ गते विश्वासको मत लिँदा पनि भन्नुभएको थियो । पार्टीका नेता, सञ्चाकर्मीलगायतका व्यक्तिहरुले प्रचण्डलाई लगातार गठबन्धन भत्यिको, काँग्रेस र एमाले बिच नयाँ गठबन्धन बन्यो भन्दा पनि प्रचण्डले पत्याउनु भएको थिएन । क्याविनेटमा पनि सबै मन्त्रीले नयाँ गठबन्धनका लागि सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ भन्दा पनि प्रचण्डले पत्याउनु भएको थिएन । उहाँले मन्त्रीहरुलाई भन्नुभएको थियो, ‘मसँग चार घण्टा लामो कुराकानी गरेर ओलीजी फर्किनु भएको छ, यो गठबन्धन भत्किदैन सरकारलाई पनि केही हुँदैन तपाईहरु ढुक्क भएर काम गर्नुस् ।’
यो कुरा तत्कालिन प्रधानमन्त्री प्रचण्डले भन्दा मन्त्रीहरु मुसुमुसु हाँस्नुभएको थियो । एमाले अध्यक्ष ओलीले यसरी कन्भिन्स गर्नुभएको थियो कि प्रचण्डलाई नेता, मन्त्री सांसद यहाँसम्म कि आफ्ना सचिवालयका सदस्य समेतले भनेको कुरामाथि विश्वास लागि रहेको थिएन । स्वर्ग पनि सँगै जाने, नर्क पनि सँगै जाने भनेको कुरामा प्रचण्ड यति विश्वस्त भइसक्नु भएको थियो आफ्नो आँखाका अगाडि सबै भइरहेको थियो त्यसमाथि पनि उहाँले विश्वास गरिरहनु भएको थिएन ।
एमालेका अध्यक्ष ओलीले यतिसम्म गर्नुभयो कि अन्नपूर्णपोष्टका मालिक रामेश्वर खनालको घरमा काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न जाँदा माओवादीका अध्यक्ष समेत रहनु भएका तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई अलमलाउनका लागि विष्णु पौडेल र पृथ्वी सुव्वा गुरुङलाई बालुवाटार पठाउनु भएको थियो । गठबन्धन तथा अगामी सरकारलगायतका विषयमा त्यहाँ कुराकानी गरिरहनु भएको थियो उहाँहरु । तर त्यतिबेला पनि प्रधानमन्त्री प्रचण्डलाई खबर आइरहेको थियो कि रामेश्वर थापाको घरमा ओली र देउवाको बिचमा छलफल चलिरहेको छ । देउवा र अोली कहाँ कहाँ कसको घरमा, कसको होटेलमा वार्ता र छलफल गर्नु भयो ती सबै कुराको जानकारी प्रचण्डलाई भइ नै रहेको थियो तर त्यो भेटघाट कुरा के भएको त्यसको जानकारी कसैले दिइरहेको थिएन ।
माओवादीका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री प्रचण्डले काँग्रेसका सभापति देउवालाई फोन गर्नुभएको थियो । तर देउवालाई फोन लागेन । एकछिन पछि फेरि फोन गर्नुभयो । देउवालाई फोन लागेपछि प्रचण्डले भन्नुभएको थियो, के हो देउवाजी ओलीजीले त राष्ट्रिय सहमतिको सरकार बनाउने रे त्यसका लागि हामी बिच छलफल हुनुपर्छ भन्नुभएको छ कुरा के हो ।’
उताबाट देउवाले भन्नुभएको थियो, ‘मलाई ढाँट्न आउँदैन, एमाले–काँग्रेस बिच गठबन्धन बनिसकेको छ, अब हामी अगाडि बढीसक्यौ ।’ त्यसपछि मात्र प्रचण्ड झसङ हुनुभएको थियो । अनि मात्र प्रचण्डलाई विश्वास लागेको थियो कि माओवादी–एमाले गठबन्धन भत्कियो अब सरकार पनि रहने छैन । त्यसपछि मात्र उहाँले आफ्ना निकटका नेताहरुसँग छलफल गर्नु भयो र यथार्थको कुराको जानकारी लिनुभएको थियो । त्यतिबेलासम्म एमाले–काँग्रेस धेरै नै अगाडि बढि सकेको थियो ।
तपाईको प्रतिक्रिया