सेतै दाह्री, कपाल र सेतै धोती, कुर्तामा देखिने राजेन्द्र महतोमा यतिबेला गज्जबको जोश देखिन्छ । ६६ वर्षीय महतोमा कुनै युवाभन्दा कम जोश छैन । यो उमेरमा पनि एउटा क्रान्तिको शंखनाथ गर्नुभएको छ । मधेशको समथल जमिनमा लामो राजनीतिक अनुभव बटुल्नु भएका राजेन्द्र महतो अहिले हिमाल र पहाड उक्लिन थाल्नुभएको छ । हिमाल र पहाडको उकालो गोरेटो बाटो चढ्न पनि उहाँलाई गाह्रो छैन किनभने कहिले लौरोको सहयोगमा उकालो काट्नु हुन्छ भने कहिले आफ्ना सहयोगीका साथ उकालो चढ्नु हुन्छ । विभिन्न कार्यक्रम लिएर उहाँले देशको सुदुरपूर्व याङवारदेखि पश्चिमको बुर्तिवाङसम्मका जनताको घरघर पुगिरहनु भएको छ । साँच्चै राजेन्द्र महतोको यो अर्को रुप हो ।
उहाँ थाक्नु भएको छैन किनभने उहाँमा क्रान्तिको एउटा भुत सवार भएको छ र त्यसलाई सफल बनाएर मात्र विश्राम लिने कसम खानु भएको छ । त्यसैले उहाँले आफ्नो अभियानको नाम नै दिनुभएको छ ‘राष्ट्रिय मुक्ति क्रान्ति ।’ मधेश मुक्तिका लागि संघर्ष गर्दागर्दै दाह्री, कपाल फुलाएर आधाभन्दा बढी वसन्त पार गरिसक्नु भएका राजेन्द्र महतो यतिबेला आएर राष्ट्रिय मुक्तिको कुरा गर्न थाल्नु भएको छ । उहाँले एकल राष्ट्रिय राज्य नेपाललाई बहुलराष्ट्रिय राज्यमा रुपान्तरण गर्ने कठोर लक्ष्य तय गर्नुभएको छ । स्वदेशवाद, बहुलराष्ट्रवाद, सामुदायितक समाजवादको मार्ग निर्देशक सिद्धान्तमार्फत नेपाललाई बहुलराष्ट्रिय राज्य बनाउने क्रान्तिको लामो बाटो तय गर्नुभएका राजेन्द्र महतोले यो देशमा आफ्नै राज्य सत्ता निर्माण गर्ने खाका कोर्नमा लाग्नुभएको छ ।
त्यसका लागि उहाँले ‘केन्द्रीकरण सहितको हस्तक्षेप गरौं’ भन्ने कार्यनीति नारा नै तय गर्नुभएको छ । यस कार्यनीतिको अधिकतम समय आन्तरिक केन्द्रिकरणमा जोड दिनुको साथै केन्द्रीकृत हस्तक्षेप कार्यक्रम तय गर्नुभएको छ । केन्द्रीकरण सहितको हस्तक्षेपको कार्यनीतिले कार्यक्रमलाई रणनीतिक रुपमा आउँदो मंसिरपछि हुने तेस्रो चरणको कार्यक्रमलाई सहायक सिद्ध हुने गरी विकास गरिने छ । त्यही केन्द्रिकरणले राष्ट्रिय मुक्ति क्रान्तिलाई हाँक्ने एक क्रान्तिकारी संगठन वा पार्टीलाई जन्म दिने लक्ष्य उहाँले लिनुभएको छ ।
‘अभियानमा निरन्तरता, संघर्षमा जोड र विद्रोहको तयारी’ भन्ने मुल रणनीतिमा कार्यक्रमहरु अगाडि बढी रहेको छ । असारदेखि कात्तिकसम्म धेरैभन्दा धेरै नेतृत्वहरुको आत्मगत तयारीका साथ केन्द्रिकृत हस्तक्षेपमार्फत विकल्पसहित विद्रोहको तयारीलाई अझ सशक्त बनाउने योजना राजेन्द्र महतोको रहेको छ । राजेन्द्र महतोले सुरुको चरणमा अभियान चलाउने, त्यसपछि विभिन्न संघर्षका कार्यक्रम तय गर्ने त्यसपछि अन्तिममा विद्रोहमा जाने योजना बनाउनु भएको छ । उहाँले आफ्नो कार्यनीतिमा उल्लेख गर्नुभएको छ, ‘हाल कायम रहेको औपनिवेशिक सत्ताबाट सहमति फिर्ता लिनेछ र आफ्नो स्वदेशी सत्ताको अभ्यासतर्फ आकर्षित हुनेछ । पहिला र दोस्रो चरणको कार्यक्रमको दौराना कायम रहेको केन्द्रप्रतिको आर्थिक र भौतिक निर्भरतार्ला अन्त्य गर्दै कमाण्ड, ब्युरो, विशेष ब्युरो तथा विभिन्न भातृ संगठन तथा संस्थाहरुलाई आत्मनिर्भरता विकास गरिनेछ भने केन्द्रिय कोषलाई पनि विभिन्न कार्यक्रमहरुमार्फत अधिकत रुपमा बढाइनेछ ।’
आर्थिक संकलनमा जोड
राजेन्द्र महतोले हस्तक्षेपकारी विद्रोहमार्फत राज्यसत्ता स्थापना हेतु आन्दोलनका लागि आर्थिक संकलनमा विशेष जोड दिनुभएको छ । त्यसका लागि उहाँले विभिन्न १६ वटा कार्ययोजना तय गर्नुभएको छ । त्यसमा व्यापारी, साहु महाजन, ठेकेदार, उच्च पदश्त कर्मचारीहरूको अभिलेख राखेर चन्दा उठाउनेदेखि परियोजनाहरु आफ्नो पक्षमा पार्नेसम्मको योजना बनाउनु भएको छ । आन्दोलनका लागि स्वेच्छिक सहयोग गर्ने व्यक्ति वा संस्थाहरूको पहिचान गरि अभिलेख तयार पार्ने र गोप्य तरिकाले सहयोग संकलन गर्ने योजना राजेन्द्र महतोको रहेको छ । देशमा राष्ट्रिय मुक्ति क्रान्तिको आधार क्षेत्रमा रहेका व्यापारी, साहु महाजन, ठेकेदार, उच्च पदश्त कर्मचारीहरूको अभिलेख तयार पारी अति गोप्य तरिकाले सहयोग प्राप्त गर्ने कार्ययोजना उहाँले बनाउनु भएको छ । जग्गा जमिनको व्यवसाय गर्ने व्यवसायीहरुको अभिलेख तयारी गरी उनीहरुसँग सम्पर्क, समन्वय र सहकार्य गर्ने योजना उहाँको छ ।
आफ्नो आधार क्षेत्रहरूमा पहिल्यै रहेको परियोजनाहरूमा नियमित सहयोगका निमित्त अनुरोध गर्ने । नयाँ प्रस्तावित परियोजनाहरूको सम्बन्धमा भने संयुक्त लगानी प्रस्ताव गर्ने र आफ्नो पक्षधर व्यवासायीहरूलाई दिलाउने कार्ययोजनामा उहाँले उल्लेख गर्नुभएको छ । उहाँले तयार पार्नुभएको कार्ययोजनाको बुँदा नम्बर ८ मा भनिएको छ, ‘परियोजना निर्माण सम्बन्धी ठेक्कापट्टाहरू हामी पक्षधर वा हाम्रो सदस्य ठेकेदारहरूलाई दिलाउने ।’ त्यति मात्रे होइन संभावित नयाँ परियोजनाहरूको सर्वेक्षण गरि सम्बन्धित राष्ट्रिय परिषदहरूकै प्रत्यक्ष संयोजनमा परियोजना प्रस्तावहरू तयार पारी आफ्नो पक्षधर व्यवसायीमार्फत निर्माण गरि व्यवसाय सञ्चालन गर्ने राजेन्द्र महतोको योजना रहेको छ ।
अन्तर्राष्ट्रिय लगानी नीतिको अध्ययन गर्ने र लगानीकर्ताहरू तथा उनीहरूको स्थानीय एजेन्टसँग गोप्य सम्बन्ध विस्तार गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । सरकारी वा निजी तहबाट हुने एफडीआई सम्बन्धी छलफल, परामर्श तथा मोलमोलाईमा संस्थागत सहभागिता गराउने वातावरण बनाउने उल्लेख गर्दै राजेन्द्र महतोले विदेशमा रहेका सम्पर्क कमिटीहरूमार्फत एफडीआई भित्र्याउने योजना बनाएको छ । आर्थिक व्यूरो अन्तर्गत सहकारी विभागले माईक्रोक्रेडिटलाई व्यवस्थापन र प्रवद्र्धन गर्ने र हाल सञ्चालनमा रहेको सहकारीहरूलाई विभाग अन्तरर्गत ल्याउने र नयाँ सहकारीहरु स्थापना गर्ने कार्ययोजना उहाँले बनाउनु भएको छ ।
सहकारीमार्फत ग्रामिण तथा शहरी क्षेत्रहरूमा ‘एचटुएच’ अवधारणा अन्तरर्गत साना तथा मझौला व्यवसायहरू स्थापना गर्नुको साथै आर्थिक व्यूरोले यङ ईण्डिजीनिष्ट लीग (वाईआइएल) र आत्मारक्षा बलसँग समन्वय गरि आर्थिक योजनाहरू कार्यन्वयन गर्ने योजना महतोको रहेको छ । आइपिओ, एनजिओ तथा आइएनजिओ, सिविओ, सिजीसँग समन्वय गर्ने तथा सार्वजनिक, निजी र सहकारी बिच साझेदारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा वैकल्पिक आर्थिक सञ्जाल र बजार विस्तार गर्ने राष्ट्रिय मुक्ति क्रान्तिले कार्ययोजना बनाएको छ ।
यस्तो छ तयारी
बहुलराष्ट्र स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको कार्यक्रम सम्पन्न गरेको छ । दोस्रो चरणको कार्यक्रमका लागि १५ दिनसम्म तयारी थाल्ने निर्णय गरेको छ । त्यसका लागि उहाँले विभिन्न ४५ वटा समिति बनाउनु भएको छ । सो समितिले १५ दिनभित्र आआफूले पाएको कार्यविभाजन अनुसार कार्यको तयारी गर्ने बताइएको छ । पाँच खण्डमा गर्ने तयारीमा आन्तरिक विकास तथा सुदृढीकरण गर्नका लागि विभिन्न १६ वटा कार्यक्रम तय गरेको छ । त्यसमा विभिन्न नेताहरुलाई जिम्मेवारी सुम्पेको छ ।
दोस्रोमा आम सहमति तथा सञ्चारका लागि तयारी गर्ने भनेको छ । त्यसको तयारीलाई १० खण्डमा विभाजन गरेको छ । त्यसमा सञ्चारमाध्यमसँग सम्पर्क बढाउनका लागि विभिन्न संवाद कार्यक्रम गर्नु साथै अन्य माध्यमबाट सम्पर्क बढाउन विभिन्न व्यक्तिलाई जिम्मेवारी बैठकले सुम्पेको छ । अर्थ तथा योजना निर्माणका लागि विभिन्न छ वटा समितिहरु निर्माण गरेका छन् । आत्मरक्षा तथा सुदृढीकरण तथा विकासका लागि पनि विभिन्न कार्यक्रम तय गरेको छ । तयारीका लागि चार वटा कार्यक्रम तय गरेको छ । त्यसमा आत्मरक्षा सुरक्षदस्ता सम्बन्धि कार्ययोजना निर्माण, वाइआइएलको कार्ययोजना निर्माण गर्ने, वाइआएलको एकेडेमी सञ्चालन गर्ने, साँस्कृतिक प्रतिरोध कार्यक्रमको कार्ययोजना तयार गर्ने रहेका छन् ।
त्यस्तै पाँचौमा उच्च आत्मगत तयारीका साथ विकल्प सहितको बिद्रोहलाई अभ्यासमा लैजाने कार्यक्रम तय गरेको छ । यसको तयारीका लागि विभिन्न नौ वटा कार्यक्रम गर्ने भएको छ । त्यसमा चाहो (तामाङ स्वशासन प्रमुख), नायः (नेवा गुठी प्रमुख), तुम्हाहाङ (लिम्बु स्वशासन प्रमुख), मरर, माइन्जन–देवान, बडघर, भलमन्सा, महट्वाको सम्मेलन गर्ने तथा दुङह्युलमा अभ्यास भएको ग्राम गणतन्त्रको अभ्यासनलाई स्वनिगः अन्य क्षेत्रमा पनि विस्तार गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै, ग्राम गणतन्त्र, स्वराज अभ्यासलाई सबै कमाण्ड, ब्युरो, विशेष ब्युरोहरुमा अभ्यास गर्न पहल गर्ने, पार्टीको घोषणाका लागि आवश्यक विधान, घोषणापत्र नियमावली लेखन गर्ने, सिडियो कार्यालय खारेजीको लागि विस्तृत कार्ययोजना तयार गर्ने र पार्टी घोषण कार्यक्रम तथा मागपत्र पू्रस्तुत गर्ने कार्यक्रम रहेका छन् ।
तपाईको प्रतिक्रिया