Khadya Bibhag

प्रचण्ड एक्लिएकोमा उपेन्द्र यसै दङ

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको अशोक नेतृत्वको जनता समाजवादी पार्टी दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भयो । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि एउटा मन्त्रालय लिएर सरकारमा सहभागी भयो । जनमत पार्टीलाई मधेश प्रदेश नै ठिक छ । संघीय सरकारमा सहभागी हुनका लागि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले त्यति प्रयास पनि गर्नुभएन । उहाँका लागि संघीय सरकारभन्दा मधेश प्रदेशको सरकार नै उपलब्धी मुलक रहेको बुझाई रहेको छ जुन बुझाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको रहेको छ ।

तर जसपा नेपाल न अहिले संघीय सरकारमा छ न प्रदेश सरकारमा । सरकारमा जाने प्रयास नगरेको होइन । उहाँले मधेश प्रदेशको सरकारका लागि प्रयास पनि गर्नुभयो र यता संघीय सरकारमा जसपा नेपाललाई सहभागी गराउनका लागि पनि दौडधुप गर्नुभयो । तर हात केही नलागेपछि उहाँले प्रचण्ड एक्लिएकोमा चित्त बुझाउनु भएको छ । आफ्नो पार्टी विभाजन गराउनमा माओवादीका अध्यक्ष प्रचण्डले नै भूमिका खेलेको कुरा उहाँ स्वयंले खुलम खुल्ला बोल्नुभएको थियो । अहिले आएर माओवादीका अध्यक्ष प्रचण्ड सरकारबाट अलग हुनुभयो र पुरै एक्लो भएकोमा सबभन्दा खुशी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हुनुभएको छ ।

अहिलेको वर्तमान गठबन्धनको सरकारमा सहभागी हुनका लागि काँग्रेसका सभापति शेरबहादुर देउवामार्फत कुरा राख्नुभएको थियो । तर एमालेका अध्ययक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देउवालाई भन्नुभयो, ‘यसपालीको मेरो नेतृत्वको क्याविनेटमा उपेन्द्रजीलाई नपठाउनु तपाईको नेतृत्वमा सरकार बनेपछि उहाँलाई लिनु होला ।’ उपेन्द्र यादव विश्वासिलो व्यक्ति होइन, कतिबेला उहाँले के गर्नुहुन्छ कसैलाई थाह हुँदैन त्यसैले यसपटकको क्याविनेटमा उहाँलाई नराख्ने अडान ओलीले लिनुभएको थियो । त्यसपछि उपेन्द्र यादव सरकारमा जानबाट बन्चित हुनुभएको हो ।

तर उहाँले आफ्नो नेता तथा कार्यकर्ताहरुलाई भन्न थाल्नु भएको छ, ‘सरकारमा सहभागी हुने कुरा नै थिएन, बाहिरबाट समर्थन गर्ने कुरा मात्र थियो, अहिले हामी सरकारमा जाँदैनौ बाहिरबाट समर्थन रहन्छ देउवा नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन्छौ ।’ जसपा नेपालका एक जना कार्यकारिणी सदस्यले भन्नुभयो, ‘हामीले तीनटा कारणले यो सरकारलाई समर्थन गरेका हौं, पहिलो कारण यो सरकार लामो समयसम्म चल्छ, दोस्रो कारण, संविधान संशोधनको बाटो खुल्ने भएको छ र तेस्रो कारण माओवादीका अध्यक्ष प्रचण्ड एक्लिनु भएको छ । यी तीनटा कारणले मात्र जसपा नेपाल सरकारलाई समर्थन गरेको हो ।’

पार्टी विभाजनमा सबभन्दा महत्वपूर्ण भूमिका एमालेका अध्यक्ष एवं प्रधानमन्त्री अ‍ोलीले खेल्नुएको थियो । जुन कुरा उपेन्द्र यादव स्विकार गर्ने पक्षमा हुनुहुन्न । प्रधानमन्त्री ओलीले तत्कालिन प्रधानमन्त्री प्रचण्डको काँधमा बन्दुक राखेर चलाउनुभयो । र प्रचण्डले पनि सबै अपजस आफ्नो काँधमा लिनुभयो । प्रधानमन्त्री ओलीले त्यतिबेला जसपा नेपालबाट अशोक राइलगायतका टीमलाई अलग गरेर साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्नुभएको थियो । त्यो कुराको पुष्टि अहिले अशोक राइ नेतृत्वको जसपाले सरकारमा पाएको भूमिका हो । जसपालाई एमालेले सरकारमा सहभागी गराएको हो ।

एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री अ‍ोलीले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई बाहिर राखेर अशोक राइ नेतृत्वको जसपालाई सरकारमा लिनुले धेरै कुराको संकेत गर्दछ । जसरी प्रधानमन्त्री ओलीले जसपालाई आफ्नो जिम्मेवारीमा सरकारमा सहभागी गराउनु भयो त्यसरी नै काँग्रेसका सभापति शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक पार्टीलाई सरकारमा सहभागी गराउनु भएको हो ।

तपाईको प्रतिक्रिया