Khadya Bibhag

आँपको बगैंचा मासेर सोलार प्लान्ट !

८० बिघामा लगाइएको आमको बगैंचा मासरेर सौर्य प्लान्ट लगाउने तयारी बारे कुुरा बाहिर आएपछि अहिले तराई मधेशमा मात्र होइन देशैभर त्यसको चर्चा छ । यो निर्णयलाई चौतर्फी आलोचना भइरहेको छ । कतिपय ठाउँमा त्यसको विरुद्धमा र्याली निकाल्ने काम पनि भयो । हरेक क्षेत्रबाट त्यसको विरोध भइरहेको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ चित्रपुरमा ८० बिघा क्षेत्रफलमा लगाएको आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी भइरहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटीस्थित जन्दादेवी सोलार प्रा.लि.ले आँप पकेट क्षेत्रमा सौर्य प्लान्ट स्थापनाको काम अगाडी बढाउने तयारी गरेको बुझिएको छ ।
५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि कम्पनीले १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा पनि लिइसकेको छ । तर अहिले त्यो सम्झौताको चौतर्फी विरोध भइरहेको छ । कम्पनीले असार २९ मा किसानसँग गरेको सम्झौतामा वार्षिक प्रतिकठ्ठा आठ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख छ । संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई विभागले त्यहाँ कुनै सिंचाई आयोजना नरहेको भन्दै ती जग्गा सिंचाईयोग्य नरहेको प्रमाणित गरिदिएको बटेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार महतोले बताउनुभायो ।
जन्दादेवी सोलार प्रा.लि.ले लिन खोजेको सबै जग्गामा आँप खेती रहेका छन् । त्यो आँप खेतीबाट वर्षेनी लाखौ रुपियाँ आम्दानी हुने गरेको छ । त्यसभन्दा पनि त्यो आँप बगैँचा पर्यावरणका लागि पनि राम्रो भएको कारण वतावरण विज्ञदेखि लिएर हरेक क्षेत्र जनताले त्यसको विरुद्धमा उत्रेका छन् । आँप खेती फडानी गरेर सोलार प्लान्ट स्थापना गर्ने विषयमा किसान विभाजित छन् । कुनै वर्ष आँपखेतीमा क्षति भोग्दा सरकारले राहत नदिएको भन्दै कतिपय किसान सोलार प्लान्ट स्थापनाका लागि जग्गा दिनु बाध्यता रहेको बताउँछन् । त्यसैले केही किसान जन्दादेवी प्रालिको जग्गा दिन सहमत भएको बताउँछन् ।
स्थानीय किसान रामउदगार महतोले आँप पकेट क्षेत्रमा आँप खेती फाँडेर सोलार प्लान्ट स्थापना गर्नु खेदजनक रहेको भन्दै यसलाई रोक्नुपर्ने बताउनुभयो । रामउदागरले यो जन्दादेवी प्रा.लि.ले पछि गएर के गर्छ थाहा नभएको तर अहिले आफूहरुको आश्रय आँप रहेकाले आँपको बगैँचा फडानी गर्न नदिने अडान लिनुभयोए । सोलार प्लान्टका लागि अन्यत्र खाली जग्गा खोज्न सकिने बताउँदै उहाँले आँप खेती फाँडेर सोलार प्लान्ट राख्न खोजे आन्दोलन हुने चेतावनी दिनुभयो ।
अर्का किसान विनोदकुमार सिंहले सो स्थानमा सोलार प्लान्ट खोल्ने वा नखोल्ने भन्ने विषयमा गहन छलफल हुनु आवश्यक रहेको बताउनुभयो । प्लान्ट स्थापना हुँदा गाउँ तथा वरपरको वातावरणमा असर नगर्ने निश्चित भएपछि मात्रै त्यसको काम अगाडी बढाउन सकिने उहाँले बताउनुभयो । यी दुई स्थानीयभन्दा पृथक विचार स्थानीय किसान रामखेलावन महतोको छ । उहाँले आँप खेतीबाट खासै आम्दानी नहुने गरेकाले आफूहरू सम्झौता गर्न तयार भएएको बताउनुभयो । जल्दादेवी सोलार प्रा.लि.ले भने अन्यत्र जग्गा नपाएकाले सो स्थानमा प्लान्ट स्थापना गर्न लागेको स्पष्ट पारेको छ । बटेश्वरको आँप पकेट क्षेत्रका किसानले दिन मानेपछि त्यहाँ प्लान्ट स्थापनाको तयारी गरेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया