Khadya Bibhag

सहिदको नामबाट पूर्वाधारको नाम राख्न सरकारलाई सुझाव

काठमाडौँ भदौं २६ गते । सरकारले निर्माण गर्ने पूर्वाधारको नाम कुनै नेता वा व्यक्तिको नाम राख्नुभन्दा सहिदको नाम राख्दा सहिदको सम्मान हुने धारणा नेताहरुले राख्नु भएको छ । सहिदलाई पुस्तौ पुस्तासम्म सम्झनका लागि ठूला ठूला आयोजना तथा पूर्वाधारको नाम सहिदबाट राख्दा सजिलो हुने धारणा नेताहरुले राख्नु भएको छ ।
जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले भौतिक पूर्वाधार निर्माण गर्दा त्यसको नामहरु सहिदको नामबाट राख्नुपर्ने सरकारलाई सुझाव दिनु भएको छ । उहाँले भन्नुभएको छ, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु कि निर्माण हुने ठूला ठूला पुल, सडक, भवनलगायतको नाम सहिदबाट राख्नुस् जसलाई पुस्तौ पुस्ता सम्झिन सकिन्छ ।’

सहिदलाई बिर्सिदै गइरहेका छन् भन्दै उहाँले सहिदलाई सम्झनका लागि सरकारले बनाउने हरेक पुल पुलेसा, सडक, अस्पताल, एयरपोर्टलगायत अन्य भवन वा अन्य भौतिक पूर्वाधारको नाम सहिदको नामबाट राखे भने त्यसलाई पुस्तौसम्म मान्छेले सम्झिन सक्छ त्यसैले सरकारले कुनै पनि निर्माण कार्य गर्दा सहिदको नामबाट गर्न आग्रह गर्नुभयो । सरकारको तर्फबाट सहिद घोषणा भइसकेको व्यक्तिको नामबाट कुनै पूर्वाधार बनाउँदा त्यसमा विवाद पनि नहुने भन्दै उहाँले सहिदले गर्व गर्ने काम गरेका कारण त्यस्तै सम्मान पनि राज्यले दिनुपर्ने बताउनुभयो ।
मधेश आन्दोलन क्रममा २०७२ भदौं २५ गते सहादत प्राप्त गरेका तीन जना सहिदको सम्झनामा सहिद संजय चौधरी समृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रदेश सांसद सुमनले मधेशी जनताले अहिले पाएको अधिकार त्यही सहिदको कारणले सम्भव भएको र त्यसलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो । मधेश आन्दोलन हुँदा कसैले पनि विश्वास गरेका थिएनन् देशमा गणतन्त्र आउँछ, संघीयता आउँछ र मधेशका छोराछोरी मुख्यमन्त्री, मन्त्री बन्छन्, प्रदेशको नाम मधेश हुन्छ, मधेश सरकार गठन हुन्छ तर त्यही सहिदको सहादतको कारण ती सबै सम्भव भएको र आज छुट्टै मधेश प्रदेश पनि पाएको उहाँले बताउनुभयो ।
नेताहरुका लागि प्रेरणाको स्रोत नै सहिद हो भन्दै उहाँले भन्नुभयो, ‘कुनै सहिदका छोरा छोरी पढ्न पाएको छैन भने त्यसलाई पढाउने जिम्मवारी हाम्रो हो, कुनै सहिद परिवारको घरमा चुल्हो बलेको छैन भने त्यो चुल्हो बाल्ने जिम्मेवारी हाम्रो हो ।’ भदौ २५ गते एकै दिन संजय चौधरी, नितु यादव र दिलिप यादवले सहादत प्राप्त गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष ममता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालका कोषाध्यक्ष एवं पूर्वमन्त्री सुरिता साहले मधेशका युवाको बलिदानका कारण यो उपलब्धी प्राप्त भएको बताउनुभयो । उपलब्धीको रक्षाका लागि पनि सहिदलाई सम्झनु पर्छ र उसलाई सम्मान गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मधेश आन्दोलनका सहिद र घरपरिवारलाई मधेश सरकार बिच पुल भएर काम गरोस् भन्ने हिसाबले हामी सबै मिलेर मधेश सहिद प्रतिष्ठान निर्माण गरिएको हो । हामीबाट केही कमीकमजोरी भएको होला, तर सबै मिलेर यस्तो प्रत्येक वर्ष कार्यक्रम गर्नु पर्छ ।’
लोसपा नेपालका मधेश प्रदेशका सांसद उपेन्द्र महतोले पनि मधेसी युवाले दिएको सहादतका कारण देशमा संघीयता स्थापित भएको बताउनुभयो । मधेश आन्दोलन नभएको भए, मधेशी युवाले रगत नबगाएको भए देशमा मधेश सरकार, मधेश प्रदेश पनि स्थापना हुने थिएन भन्दै उहाँले सहिदले देखेको सपना पुरा गर्नका लागि अझै सशक्त भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा तमलोपाका नेता एवं सभासद् डा.बिजय सिंह, नेता सजय यादव, मधेश सहिद प्रतिष्ठानका उपाध्यक्ष रामनरेश यादव, रामप्रसाद गिरी, राष्ट्रिय मुक्ति क्रान्तिका नेता रमन पाण्डे, संजय सिंहलगायत महिला नेतृ बिभा ठाकुर, पुनम झा, बिन्दु ठाकुर, गुलु देवी पासवालगायतको उपस्थिति    थियो ।

तपाईको प्रतिक्रिया