सिरहा भदौ १६ गते । सहारा टाइम्सले आइतवार आफ्नो १६ औ स्थापना दिवस मनाएको छ ।
२०६५ भदौं १६ गतेदेखि यो पत्रिका निरन्तर प्रकाशित हुँदै आएको हो । यो पत्रिकाले १५ वर्ष पुरा गरी १६औं वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा सहारा टाइम्सले आज सिरहाको औरहीस्थित श्री सुन्दर जनता माध्यमिक विद्यालयमा वार्षिक उत्सव तथा पुरस्कार वितरणका साथै “हुलाकी राजमार्ग वरपरको शैक्षिक अवस्था” विषयक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो ।
सहारा टाइम्सले गत वर्ष सामाजिक अभियन्ता एवं शिक्षक रामबालक यादवको निधनमा उहाँको नाममा स्थापना गरेको “रामबालक शैक्षिक सहारा टाइम्स पुरस्कार” पनि वितरण गरेको छ । श्रीसुजमाविबाट २०८० को एसइइ परीक्षामा सर्वोत्कृष्ठ अंक ३.५८ जीपिए ल्याएर उतिर्ण हुनु भएका औरही गाउँपालिकाका अनिशाकुमारी यादवलाई पाँच हजार राशीको नगद पुरस्कारसहित सम्मानपत्रसबाट सम्मान गरेको छ ।
सो स्कूलबाट प्रत्येक वर्ष सबभन्दा बढी अंक ल्याउनेलाई पुरस्कृत गर्ने सहारा टाइम्सले यसअघि नै घोषणा गरि सकेको थियो । अर्को वर्षदेखि दोस्रो सबभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई पनि अढाई हजार राशीको नगद पुरस्कार सहित सम्मान प्रदान गर्ने समेत सहारा टाइम्सले घोषणा गरेको छ ।
श्री सुजमाविका पूर्व प्रधानाध्यापक फुलेश्वरप्रसाद यादवका प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा शिक्षा विज्ञ, विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधिहरुले आआफ्नो धारणा राख्नुभएको थियो ।
उहाँहरुले पढाइमा विद्यार्थीहरु कमजोर हुनुमा शिक्षक मात्र होइन, अभिभावक पनि दोषी रहेको दावी गर्नुभयो । विद्यार्थीलाई स्कूल मात्र पठाएर हुँदैन, अन्य क्रियाकलापमा पनि ध्यान दिनुपर्ने धारणा उहाँहरुको थियो । कार्यक्रमका प्रमुख अतिथी फुलेश्वरप्रसाद यादवले सुजमावि औरहीले भौतिक रुपमा विकास गरे पनि शैक्षिक गुणस्तरमा सुधार गर्न नसकेको गुनासो गर्नुभयो ।
स्कुलको शैक्षिक अवस्था सुधार गर्न आग्रह गर्दै उहाँले यो औरही गाउँपालिकाको शैक्षिक अवस्था मात्र होइन हुलाकी राजमार्ग छेउछाउका सबै स्कूलको हालत उस्तै रहेको बताउनुभयो ।
पूर्व शिक्षक एवं शिक्षा विज्ञ श्यामनन्दन यादवले हुलाकी सडक वरपरको शिक्षा निकै कमजोर अवस्थामा रहेको टिप्पणी गर्नुभयो । जिल्लामै सबभन्दा पुरानो कलेज सिरहा क्याम्पसको अवस्था अहिले सबभन्दा खराब रहेको र एक समय त्यहाँ विद्यार्थी अट्दैन्थे तर अहिले त्यहाँ जानका लागि मान्दैनन्, यसको दोषी को ? उहाँले भन्नुभयो, यस्तो अवस्था हुनुमा कोही न कोही जिम्मेवार त हुनुपर्छ, कसैले न कसैले जिम्मेवारी लिनुपर्छ ।”
सुजमाविका व्यवस्थापन समितिका अध्यक्ष श्रीदेव यादवले सहारा टाइम्सले विद्यार्थीलाई सम्मान गरेको प्रशंसा गर्नुभयो । उहाँले विद्यार्थीलाई मोवाइलबाट टाढा रहन आग्रह गर्नुको साथै विद्यार्थीलाई अत्याधिक नम्बर ल्याएर उच्च शिक्षामा आगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले मधेशको शिक्षा बिग्रनुमा मुख्य दोषी राज्य रहेको दावी गर्नुभयो ।
राज्यले मधेशलाई हेर्ने दृष्टि नै राम्रो नरहेको कारण मधेशको शिक्षाको गुणस्तर दिनदिनै बिग्रिदै गइरहेका बताउनुभयो ।
सुजमाविका प्रधानाध्यापक विवेककुमार यादवले मधेश प्रदेशको शैक्षिक अवस्था दिनदिनै खस्किदै गइरहेको छ त्यसमा पनि हुलाकी राजमार्ग वरपरको शिक्षा झनै कमजोर रहेको बताउनुभयो । शैक्षिक अवस्था बिग्रिनुमा शिक्षक तथा विद्यालयलाई दोषी देखाइरहेको भन्दै उहाँले यो गलत सोच हो त्यसमा अभिभावक र सरकार पनि दोषी रहेको बताउनुभयो ।
आधारभूत प्रावि इटाटार कमलपुरका प्रधानाध्यापक ज्ञानेन्द्र ठाकुरले विद्यार्थीलाई मोवाइलबाट टाढा राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, हाम्रो समाजमा शिक्षाप्रति अझै पनि चेतनाको कमी रहेको बताउनुभयो ।
हुलाकी बहुमुखी क्याम्पसका प्रस्तावित प्रमुख दीलिप यादवले शिक्षा क्षेत्रलाई सुधार गर्न मिडियाले सहयोग गर्नुपर्ने सुझाव दिनुभयो । हुलाकी वरपरको शिक्षा अवस्था एकदमै नाजुक छ, त्यसलाई सुधार गर्न सबैका साथ र सहयोग अवश्यक रहेको कुरामा जोड दिनुभयो ।
त्यस्तै, आधारभूत प्रावि औरहीका प्रधानाध्यापक अनन्तनारायण यादवले शिक्षाको गुणस्तर खराब हुनुमा विद्यालय तथा शिक्षक मात्र दोषी नभएर अभिभावक पनि त्यतिकै दोषी रहेको दावी गर्नुभयो । उहाँले शिक्षामा सुधार हुनु आवश्यक छ र त्यसमा अभिबभावतक तथा सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
सुजमाविका सहप्रधानाध्यापक विजय सिंहले विद्यार्थीले आफ्नो कर्तव्य मात्र पुरा गरे भने शैक्षिक सुधारमा कुनै समस्या नहुने बताउनुभयो ।
औरही वडा नम्बर ५ का वडा अध्यक्ष रामपृत यादवले विद्यालयका कुनै पनि शिक्षक कमजोर हुँदैन तर पढाइमा ढिलासुस्ती र लापरबाही गरेको कारण गुणस्तरमा असर भएको बताउनुभयो । शिक्षकले विद्यार्थीलाई पढाउनमा ध्यान दिनुपर्ने धारणा राख्दै उहाँले विद्यार्थीले पनि आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
तपाईको प्रतिक्रिया