साना दललाई सिध्याएर दुई दलीय राजनीति व्यवस्था ल्याउन गठन भएको काँग्रेस–एमाले गठबन्धनले हालै एउटा ट्रयालमा फेल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपासभामुख बन्नुभएको इन्दिरा राणा मगरलाई हटाउने पुरा तयारी थियो गठबन्धनको । त्यसका लागि हरेक प्रयास गर्यो । संसदमा बहुमत पुर्याउन हस्ताक्षर अभियान समेत सञ्चालन गर्यो । विभिन्न दलका नेताहरुलाई समेत भेटेर छलफल गर्यो । तर बहुमत नपुगेपछि हाललाई पछाडि हटेको छ ।
सत्तापक्षमै रहेका दलहरु जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम आदमी पार्टीले समेत प्रधानमन्त्री ओलीलाई साथ नदिएपछि काँग्रेस–एमाले गठबन्धन खासगरि प्रधानमन्त्री केपी शर्मा ओली पछाडि हट्नुभयो । साना दललाई सिध्याउने प्रपञ्च हो भनि थाह पाएर यी दलहरुले प्रधानमन्त्री ओलीको साथमा रहेपनि उपसभामुख हटाउने विषयमा साथ दिएनन् । ती दलहरु राम्रोसँग बुझेका छन् कि ‘आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई समाप्त गर्न लागेको छ भोली हाम्रो पालो पनि आउँछ ।’
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको दावी गर्नुभयो । सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पु¥याउनका लागि उपसभामुखलाई हटाउन लागेको दावी गर्दै उहाँले यो कार्य एकदम गलत नियतका साथ भइरहेको छ, साना दललाई समाप्त गर्ने नियत पनि रहेको बताउनुभयो ।
संवैधानिक परिषद्मा बहुमत पुर्याउनका लागि यो सब खेल भइरहेको बताउँदै आम आदमी पार्टीका अध्यक्ष प्रभु साहले यसमा ओली सफल हुनुभयो भने उहाँले यो देशमा साना दललाई तहस नहस गर्नुहुन्छ त्यसले सचेत रहन आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई सचेत रहन आग्रह गर्नुभयो । राणालाई हटाउन गरेको ट्राइलमा पास नभएपछि प्रधानमन्त्री ओलीले साना दलप्रति गरेको पछिल्लो टिप्पणीले पनि गठबन्धनको नियत प्रष्ट भएको नेताहरु बताउनु हुन्छ ।
नयाँ राजनीतिक दल खानकै लागि जन्मिएको पार्टी भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो चुनावमा आफ्ना दलको भोट नयाँ पार्टीले खाएकोले २०८४ सालको चुनावमा सचेत रहन कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका थिए । भदौं २९ गते एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिजोका चुनावमा हाम्रो भोट कहाँ गयो त ? हुँदै नभएका पार्टीहरू जन्मिए, भाँडाको भात छैन खोइ भन्दा ती जन्मिएका खन्चुवाहरूले खाए होला नि । खान जन्मिएकाहरू छन् । अनि तिनका मुखमा गाँस चाहिँ कसरी पस्यो त ? त्यसकारण हामी होसियार हुनुपर्दछ, सक्रिय हुनुपर्दछ ।’
प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिबाट साना दललाई समाप्त गर्न नै सबै खेल सुरु गर्नुभएको भनि प्रष्ट बुभन सकिन्छ । यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अशोक राइहरुलाई अलग गराएर जनता समाजवादी पार्टी गठन गर्न लगाउनुभयो । अहिले त्यो पार्टीलाई आफ्नो पार्टीमा मिसाउने कसरत गरिरहनु भएको छ ।
आफ्ना पार्टीका पुराना नेता अशोक राइलाई बालुवाटारमा पटक पटक बोलाएर यस विषयमा प्रधानमन्त्री ओलीले छलफल गर्नुभएको छ । ‘अब हामी मिल्नुको विकल्प छैन, साना दलहरु त्यतिकै समाप्त हुँदैछ, तपाईको पार्टीलाई एमालेमा विशेष स्थान हुन्छ सबै नेताहरुको राम्रोसँग व्यवस्थापन हुन्छ भनि प्रधानमन्त्री ओलीले अशोक राइलाई फकाउन लाग्नु भएको छ । अशोक राइसँग सात जना सांसद छन् ।
अशोक राइको पार्टीलाई मिलाउन सक्यो भने प्रधानमन्त्रीसँग ८५ सांसद हुनेछन् । प्रधानमन्त्री ओलीलाई यो देशको सबभन्दा ठूलो पार्टी बनाउनु छ । त्यो पनि ८४ को चुनावभन्दा पहिले । काँग्रेसको सांसद सँख्या ८९ रहेका छन् । अशोक राइको पार्टी मिलाएपछि काँग्रेसभन्दा पाँच सीट कम हुन्छ । अशोक राइलाई मिलाइ सकेपछि अर्को प्रहार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)माथि गर्ने योजना प्रधानमन्त्री ओलीको रहेको छ । त्यो पार्टीलाई टुक्र्याएर पाँच छ जना मात्र निकाल्न सक्यो भने काँग्रेसभन्दा ठूलो पार्टी एमाले हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि फुटाउनका लागि प्रधानमन्त्री ओली कसरत छाड्नु भएको छैन । मुकुल ढकाललाई त्यो पार्टीबाट बाहिर निकालेर विभिन्न हरकतहरु गराई नै रहनु भएको छ । सहकारी समितिमार्फत सो पार्टीका सभापति रवि लामिछानेलाई दोषी देखाइ दिनुभयो । उपासभामुख रानामाथि प्रहार गर्नु नै भयो । अब त्यो पार्टीलाई कसरी विभाजन गर्न सकिन्छ । त्यतातिर उहाँको सम्पूर्ण ध्यान केन्द्रीत भएको छ ।
एमालेका एक नेताले भन्नुभयो, ‘एमालेका अध्यक्ष ओलीले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई अगामी ८४ को चुनावमा सांसद बनाउने ग्यारेन्टी लिनुभयो भने जुनसुकै बेला एमालेसँग एकिकरण गर्न तयार हुन्छन् ।’ नागरिक उन्मुक्ति पार्टीलाई फोड्न धेरै मेहनत नै गर्नुपर्दैन । एउटा राज्यमन्त्री दिएकै छ । रञ्जिता श्रेष्ठलाई मन्त्री बनाइ दियो भने नागरिक उन्मुक्ति पार्टी एमालेकै हुन्छ भनि एमालेका नेताहरुको हिसाब किताब रहेको छ ।
यसरी साना दलहरुलाई समाप्त गर्दै आफू शक्तिशाली बन्ने दाउ प्रधानमन्त्री ओलीको रहेको छ र त्यसका लागि आफ्नो सम्पूर्ण शक्ति परिचालन गरिसक्नु भएको छ । आफ्नो प्रधानमन्त्रीको कार्यकालमा साना दलहरुलाई तहस नहस गर्नुहुन्छ । र ८४ को चुनावमा सबभन्दा ठूलो पार्टी बनाउने तयारी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको रहेको छ ।
तपाईको प्रतिक्रिया