नेपालमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै सबभन्दा पहिले भ्रमणका लागि भारतबाट निम्तो आउँछ । अहिलेसम्मको परम्परा अनुसार एक दुई जनाबाहेक हरेक प्रधानमन्त्री पहिला भारतको भ्रमण गरेका छन् त्यसपछि मात्र अन्य देशको भ्रमणमा जाने गरेको देखिन्छ । तर एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना भइसक्यो तर भारतले हालसम्म भ्रमणका लागि औपचारि निम्तो दिएको छैन ।
बरु प्रधानमन्त्री ओलीले नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई पटक औपचारिक रुपमा नेपालको भ्रमणका लागि निम्तो पठाई सक्नु भएको छ । तर भारतबाट हालसम्म न कुनै निम्तो आएको छैन न ओलीले पठाएको निम्तोको कुनै प्रतिकृया आएको छ । भारतले भ्रमणका लागि निम्तो दिएको भए प्रधानमन्त्री ओली पहिला त्यहाँको भ्रमण सकाएर मात्र अन्य देश जानु हुन्थ्यो तर भारतले नै रेसपोन्स नगरेपछि उहाँ असोज ५ गते अमेरिका भ्रमणमा जान लाग्नु भएको हो । भारतीय विदेश सचिव बिक्रम मिस्री नेपाल भ्रमणमा आएको बेला धेरैले आश गरेको थियो कि प्रधानमन्त्री मोदीले भ्रमणका लागि निम्तो पठाएको होला । मिस्रीले पनि केही भन्नुभएन । बरु मिस्री भारत फर्किन लाग्दा प्रधानमन्त्री ओलीले उल्टै मोदीलाई नेपाल भ्रमणको निम्तो पठाउनुभयो ।
भारतसँग प्रधानमन्त्री ओलीको सम्बन्ध राम्रो छैन । त्यो सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री डा.आरजुराणा देउवालाई उहाँले भारत पठाउनु भएको थियो । प्रधानमन्त्री मोदीका लागि नेपाल भ्रमणको निम्तो समेत पठाउनु भएको थियो । तर परराष्ट्रमन्त्री आरजु भारतबाट फर्किदा सकारात्मक सन्देश लिएर नफर्केपछि प्रधानमन्त्री ओली फायर हुनुभएको छ । र, त्यसपछि उहाँले भारत विरुद्धमा फायर खोल्नु भएको छ । माओवादी केन्द्रका एक जना पदाधिकारीले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीजी अहिले भारतको विरुद्धमा अभिव्यक्ति दिनुको कारण नै उहाँलाई स्वागत नगर्नु हो । भारतले ओलीलाई प्रधानमन्त्रीको रुपमा अहिलेसम्म स्विकार गरेको छैन । त्यसले गर्दा उहाँ (ओली)तनाबमा हुनुहुन्छ ।’ भारतले नबोलाए पछि प्रधानमन्त्री ओलीले मोदीसँग अमेरिकामा नै भेट्न खोज्नु भएको छ । तर यो समाचार तयार पार्दासम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सकारात्मक प्रतिकृया दिएको छैन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतका प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँग भेट्न नै चाहनु भएको छैन जस्तो लागेको छ तैपनि नेपालबाट प्रयास जारी छ ।
एमालेका अध्यक्ष ओलीले आफूलाई नेपाली जनतामाझमा राष्ट्रवादी देखाउनका लागि भारतको विरुद्धमा नाकारात्मक अभिव्यक्तिहरु दिने गर्नुभएको छ त्यसले गर्दा भारत पनि उहाँप्रति चिढिएको छ । अहिले प्रधानमन्त्री बन्दा पनि भारतको चाहना बमोजिम भएन । भारतले माओवादी–काँग्रेसको गठबन्धन भत्काउन चाहेको थिएन ।
एमालेले विभिन्न षड्यन्त्र गरेर त्यो गठबन्धन भत्काएर माओवादीसँग बनायो । एमाले–माओवादी गठबन्धन बनेपनि प्रधानमन्त्रीमा प्रचण्ड हुनु नै भारतका लागि अनुकुल थियो तर जब ओलीले माओवादीलाई छाडेर काँग्रेससँग गठबन्धन बनाएर आफू प्रधानमन्त्री बन्नुभयो त्यसपछि भारतका लागि टाउको दुखाईको विषय बन्यो । भारतले पनि ओलीसँग सम्बन्ध सुधार गरेर नै अगाडि बढ्न चाहेको छ । तर उहाँको हरकतको कारण विवाद झन बढ्दै गइरहेको छ । अमेरिका भ्रमणबाट असोज १२ गते फर्केपछि ओली पहिला भारत जानुहुन्छ कि चीन । त्यो भारत–ओली बिचको सम्बन्धमा भर पर्छ ।
तपाईको प्रतिक्रिया