कुनै वस्तुमा जति चोट लाग्छ, त्यसमा त्यति नै निखार आउँछ । माथिबाट विभिन्न ठक्कर खाँदै झरेको पानीमा अद्भुत सुन्दरता देखिन्छ । प्रध्यापक एवं लेखिका मञ्चला झामा त्यही निखार र सुन्दरता झल्किन्छ । सप्तरी पडरियामा जन्मनु भएका महोत्तरी निवासी (ससुराल) मञ्चला झा आफ्नो जीवनमा थुप्रै चोट खानु भएको छ । त्यही भएर अहिले उहाँको जीवन सुन्दर देखिन्छ ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगका सदस्य समेत रही सक्नु भएका मञ्चला त्रिभुवन विश्व विद्यालयमा हिन्दीका प्रध्यापक हुनुहुन्छ । आत्मनिर्भर र स्वावलम्बी हुनुपर्छ भनि मान्यता मञ्चलाले सानैदेखि राख्नु भएको थियो । उहाँ भन्नुहुन्छ, ‘आत्मनिर्भर बन्नुपर्छ, परनिर्भर होइन ।’ उहाँ आफू कसैमाथि निर्भर रहन चाहनु भएन । आफ्नो लागि आफै केही गर्नुपर्छ भनि सधै सोचाइ राख्ने मञ्चला राजनीति शास्त्रमा मास्टर्स, अंग्रेजीमा बीएड, अर्थशास्त्रमा बीए, हिन्दीमा एमए र हिन्दीमा पीएच डी अध्ययन गर्नुभएको छ ।
मधेशका महिलाले यतिका शिक्षित र डिग्री प्राप्त गरेका सायदै पाउन सकिन्छ । तर उहाँलाई यो कुराको कुनै घमण्ड छैन । अहिले पनि चुपचाप आफ्नो बेगमा बगिरहनु हुन्छ । आमा बुवाले दिनु भएको संस्कार र शिक्षा तथा ससुरा बुवाको प्रेरणाले मञ्चलालाई कर्तव्य निष्ठ मात्र बनाएन स्वाबलम्बी बनाउन समेत बल पुग्यो ।
शिक्षाका लागि संघर्ष
महाकवी देवकोटा निमावि चनौरा सप्तरी पडरियाबाट एक कक्षादेखि आफ्नो पढाइ सुरु गर्नुभएका मञ्चला त्यहाँबाट सात कक्षासम्म अध्ययन गर्नुभयो । आठ कक्षादेखि केशो अनिरुद्रवत्ती व्यवसायीक मावि राजविराजमा अध्ययन गर्न थाल्नुभएका उहाँ २०४१ मा एसएलसी पास गर्नुभयो । प्राविदेखि माविसम्म घरबाट हिडेरै स्कूल आउजाउ गर्ने मञ्चला झा सानैदेखि पढाईमा अब्बल हुनुहुन्थ्यो । उहाँ पढाईमा मात्र होइन अन्य क्रियाकलापमा पनि अब्बल नै हुनुहुन्थ्यो । खेलकुदको हाइजम्प, लङ्गजम्प, ब्याडमिन्टर प्रतियोगिताहरु पनि जित्नु हुन्थ्यो । गीत, संगितमा पनि उहाँ अब्बल नै हुनुहुन्थ्यो । स्कूलमा कुनै नयाँ पुस्तक आयो भने किनेर पढ्ने बानी स्कूल जीवनदेखि नै थियो । अहिले पनि उहाँ राजनीति र कुटनीतिका पुस्तकहरु पढ्न औधी मन पराउनु हुन्छ ।
एसएलसीपछि राजविराजका महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अर्थशास्त्रमा आइए अध्ययन गर्नु थाल्नुभयो । घरबाट एकघण्टाको दुरीमा उहाँको कलेज थियो । तैपनि सधै हिडेर जानुहुन्थ्यो । मञ्चला झा भन्नुहुन्छ, ‘पुल तल खोलामा पानी र बिहानै उज्यालो नहुँदै घर बाट क्याम्पसका लागि हिँड्नु पथ्र्यो तर मलाई मेरो हजुर बुवाले पुल पारिसम्म पार गराउनु हुन्थ्योे ।’ मञ्चलालाई कानुन विषय पढ्ने इच्छा थियो तर ल क्याम्पसमा विहानदेखि पढाइ हुने भएर उहाँ बीए पढ्न थाल्नुभयो तर संयोग बीएको क्लास पनि विहानकै भयो । मञ्चलाको पढाई लेखाइमा उहाँको हजुरबुवाको ठूलो योगदान रहेको छ । आमाको पनि साथ सहयोग पनि त्यस्तै थियो । बुबा सरकारी जागिरमा भएको कारण आमाले नै सबै कुराको व्यवस्थापन गर्नुहुन्थ्यो ।
मञ्चला पढाईमा राम्रो भएको कारण त्रिविको स्कलरसीपमा आइए र बीए पढ्नुभयो । आइए र बीएमा मुख्य विषय उहाँको अर्थशास्त्र थियो । मञ्चला पूर्वाञ्चल टपर हुनुहुन्थ्यो । पूर्वाञ्चल टपर भएकै कारण उहाँले नेपाल बैंकबाट पनि स्कलरसीप पाउनु भयो । उहाँले त्यसका लागि ‘आधारभुत आवश्यकता परिपुर्तीमा जनसँख्या नियन्त्रणको अपरिहार्यता’ विषयमा निबन्ध लेख्नु भयो । त्यसमा पनि उहाँ प्रथम हुनुभयो र बैंकको त्यो छात्रवृति पनि उहाँले पाउनुभयो । बीए सकाएपछि महोत्तरीका इञ्जिनियर कमलेश कुमार झासँग उहाँको मागी विवाह भयो । तर विहेपछि उहाँको पढाइमा दुई वर्ष ब्रेक लाग्यो ।
पढाइ लेखाइ नभइ रहेको कारण उहाँले दुई वर्ष कसरी काट्नु भयो त्यो उहाँलाई नै थाह छ । उहाँ भन्नुहुन्छ, ‘म सानैदेखि पढाईमा साह्रै रुची राख्थे । विहेपछि बढाईमा ब्रेक लागेपछि मलाई निकै छटपटी भयो । के गरौं के गरौं जस्तो भयो ।’ श्रीमान कमलेश झा काठमाडौँमा जागिरे भए पछि उहाँ पनि काठमाडौँ आउनुभयो र एमए अर्थशास्त्रमा पढाई सुरु गर्नुभयो । त्यति नै बेला उहाँ गर्भवती हुनुभयो । त्यसपछि उहाँ महोत्तरी आफ्नो घर फर्किनुभयो ।
उहाँले त्यहाँ छोराको जन्म दिनुभयो । छोरालाई जन्म दिएपछि उहाँको मनमा छटपटी आयो । यसरी कसरी बेरोजगार भएर सकिन्छ । केही महिनापछि नै उहाँले आफ्नो सानो छोरोलाई घरमा छाडेर त्यहाँको एउटा स्कूलमा पढाउन सुरु गर्नुभयो ।
पछि उहाँले पढाई लेखाईमा असर पर्छ भनेर स्कूल छाडेर अध्ययनका लागि २०४९ मा पुनः काठमाडौँ आउनु भयो । आफनो डेढ वर्षको छोरालाई माइती सप्तरीमा छोड्नु भएको थियो । त्यतिबेला उहाँका श्रीमान काठमाडौँमा हुनुहुन्थेन । अरु कतै सरुवा भएर जानुभएको थियो । उहाँ त्रिविको होस्टलमा बसेर एमए पढाई सुरु गर्नुभयो । उहाँ हिन्दी लिएर पढ्न थाल्नुभयो । उहाँ भन्नुहुन्छ, ‘पास गर्न सजिलो होस् भनेर नै मैले त्यतिबेला हिन्दी लिएर पढाइ सुरु गरेको थिए ।’ अहिले उहाँ त्यही हिन्दी भाषाको प्रध्यापक हुनुभएको छ ।
जीवन गुजाराका लागि जागिर
त्यति नै बेला उहाँको श्रीमान अस्वस्थ्य हुनुभयो । अस्वस्थताका कारण जागिर छाड्नु भयो । पति कमलेश अस्वस्थ भएर जागिर छाडे पछि सबै आर्थिक सामाजिक व्यवहार मञ्चलाकै काँधमा आयो तर उहाँ ती सबैको व्यवस्थापन गर्दै अघि बढ्नु भयो । मञ्चलाको जीवनले अर्को मोड लियो । तर हार मान्नु भएन । पछि फर्केर कहिले हेर्नुभएन । यति उहाँको जीवनमा धेरै उतार चढाव आयो तर परिवारमाथि कहिले बोझ भएर बस्नु भएन ।
मञ्चला भन्नुहुन्छ, ‘मान्छेको जीवनमा कुनै प्रकारको दुख परे पनि हरेश खानु हुँदैन । आत्मविश्वसको साथ अघि बढ्यो भने मार्गहरु आफै खुल्दै जान्छ । त्यसका लागि गरिने संघर्षको स्वाद पनि बेग्लै हुन्छ । जीवनमा संघर्ष गरिएन भने जीवन नै फिका हो जस्तो लाग्छ ।’ उहाँ जति दुख कष्टमा भएपनि आफ्नो समाजका युवालाई उत्प्रेरित गर्ने काम गर्नुहुन्थ्यो । उहाँका आर्थिक अवस्था खराब भएपनि गाउँबाट आउने युवालाई कुनै समस्या पर्दा उहाँ सहयोग गर्न अग्रसर हुनुहुन्थ्यो ।
यही मुलमन्त्रका साथ आर्थिक गुजाराका लागि उहाँले डिल्लीबजारको बाल उद्यान्न मावि बोर्डिङ स्कूलमा पढाउन सुरु गर्नुभयो । मास्टर्स सकाएर मात्र केही गर्ने उहाँको सोच थियो तर परस्थितिले छिट्टै केही गर्न बाध्य बनायो । विहान बिएडको पढाइ सकाएर मेसमा जे खाना पाकेको हुन्थ्यो त्यही खाएर उहाँ बोर्डिङ स्कूलमा पढाउन कुद्नु हुन्थ्यो ।
कहिले काही बीएडको क्लाश छाडेर नै पढाउनका लागि जानु हुन्थ्यो । किनभने त्यतिबेला पढ्नु भन्दा पढाउनु उहाँको प्राथमिकतामा थियो । किर्तिपुरबाट गाडि चढेर डिल्लीबजारसम्म पुग्नु हुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘मलाई पहिलादेखि शिक्षक पेसामा रुची भएको कारणले नै मैले बीएड पढाई सुरु गरेको थिए ।’ विहान बीएडको क्लाश लिन जानु हुन्थ्यो भने १० बजेदेखि बोर्डिङ स्कूलमा पढाउनु हुन्थ्यो । विहानको बीएड पढाइ र बोर्डिङ स्कूलको जागिरले एमएको हिन्दी क्लाश उहाँले नियमित लिन सकि रहनु भएको थिएन ।
जुन दिन बोर्डिङ स्कूलमा विदा हुन्थ्यो त्यो दिन मात्र उहाँ एमएको क्लाश लिन जानुहुन्थ्यो । २०५१ मा उहाँ हिन्दीबाट एमए पास गर्नुभयो । बोर्डिङ स्कूलमा पढाइ रहेकै बेला मोडर्न इण्डियन स्कूलमा करार शिक्षकका लागि विज्ञापन निस्केको थियो । छाडेर गएका शिक्षक पुनः फर्केपछि मञ्चला झाले छाड्नुपर्ने सर्त थियो । त्यो शर्त मानेर उहाँ मोडर्न स्कुलमा पढाउन थाल्नु भएको थियो । त्यसपछि उहाँ होस्टल छाडेर कुपाण्डोलमा डेरा लिएर बस्न थाल्नुभयो । मोर्डन इण्डियन स्कूलमा पढाउन थालेपछि उहाँले घरबाट आफ्नो छोरालाई पनि ल्याउनुभयो । र, छोरालाई कुपण्डोलको नाइटिङ्गल स्कुलमा भर्ना गराउनुभयो ।
५–६ महिनामा नै शिक्षक फर्केर आएपछि मञ्चलाले मोडर्न स्कुल छाड्नु परेको थियो । किनभने सर्त नै त्यही थियो । मञ्चलालाई तनाब थपियो । मोडर्न इण्डियन स्कूलमा जागिर पाएपछि उहाँले डिल्लीबजारको जागिर छाड्नु भएको थियो । अब मञ्चलासँग कुनै जागिर छैन ।
घरमा ट्युशन
तर उहाँले हिम्मत हार्नुभएन । आफू बस्ने घरमा ट्युशन सुरु गर्नुभयो । उहाँले १० कक्षाका विद्यार्थीलाई दुई सिफ्टमा पढाउन थाल्नुभयो । ट्युशनमा उहाँ अँग्रेजी पढाउनु हुन्थ्यो । त्यसबाट अलिअलि आम्दानी हुन थाल्यो । त्यही बिचमा मञ्चला फेरि गर्भवती हुनुभयो । गर्भवती हुँदा उहाँसँग कुनै जागिर थिएन । ट्युशनबाट आउने आम्दानीबाट घर चलाई रहनु भएको थियो । तर जीवन गुजारा गर्न निकै गाह्रो भइरहेको थियो । अभावमा बाँचि रहनु भएको मञ्चलाले अर्का छोराको जन्म दिनुभयो । त्यतिबेलासम्म उहाँसँग कुनै जागिर थिएन, आर्थिक स्रोतको एक मात्र आधार ट्युशन थियो ।
हार खाएको त्यो दिन
तर स्वभिमानी, स्वावलम्बी मञ्चला घरबाट कहिले सहयोग लिनुभएन । न आफ्नो दुख पिडा आमा बुवालाई भन्नुभयो न सासु ससुरालाई । जिन्दगीलाई हर तरिकाले चलाउने प्रयास उहाँले गर्नुभयो । तर यसरी सधै चल्दैन । अब त बिकल्प खोज्नै पर्ने भयो । त्यति नै बेला मोडर्न इण्डियन स्कुलमा विज्ञापन पनि खुल्यो । त्यो विज्ञापन मञ्चलाले पनि भर्नुभयो । तर विज्ञापन भरेर मात्र हुँदैन, जागिर हुनुपर्यो । त्यो पनि तत्कालै । मञ्चलाले भन्नुभयो, ‘मोडर्न स्कूलमा विज्ञापनको फर्म त भरे तर त्यसको परीक्षा कहिले हुने टुगों थिएन, मलाई तत्कालै जबको आवश्यकता थियो ।’ मञ्चलाले काँखको दुधे बालकलाई घरमा छाडेर जागिरका लागि काठमाडौँमा भौतारिनु हुन्थ्यो । कही कतै केही हात लागि रहेको थिएन । अब मञ्चला हार मान्नुभयो । उहाँ टुटिसक्नु भएको थियो ।
अब घर फर्किनु पर्छ भनि मन बनाइ सक्नु भएको थियो उहाँ । बडो पिडाका साथ उहाँले झोलाझन्टी मिलाउन थाल्नुभयो । निकै भरोसाका साथ संघर्ष गर्न काठमाडौँ आउनु भएको मञ्चलालाई लागेको थिएन कि यसरी घर फर्किनुपर्छ । झोला मिलाई सकेपछि पशुपती दर्शन गरेर जाउ भनि उहाँका मनमा लागेको थियो । पशुपतिको दर्शन गरेर आएपछि साँझमा नाइट बसे चढेर महोत्तरी फर्किने तयारी थियो उहाँको ।
उहाँ पशुपती दर्शन गर्न जानुभयो । दर्शन गरेर कोठा फर्केपछि अचानक मोडर्न स्कूलबाट मञ्चलालाई फोन आयो । स्कूलले उहाँलाई त्यही दिन इन्टरभ्युका लागि बोलायो । स्कूलको त्यो फोनले गर्दा मञ्चला झाको आँखामा खुशीको आँसु छछल्कियो, उहाँसँग खुशीको सीमा थिएन । काठमाडौँमा बस्न नसक्ने भएपछि घर फर्किन झोला, बोरा मिलाइ सक्नु भएका मञ्चलालाई जब इन्टरभ्युका लागि स्कूलले बोलायो त्यो क्षण उहाँको लागि निकै महत्वपूर्ण क्षण थियो । र उहाँले मनमनै पशुपतिनाथलाई सम्झिनुभयो र धन्यवाद दिनुभयो ।
उहाँले घर जान मिलाउनु भएको झोलालाई त्यतिकै छोडेर इन्टरभ्युका लागि मोडर्न इण्डियन स्कूल जानुभयो । उहाँ भन्नुहुन्छ, ‘इन्टरभ्यु हो, पास होइन्छ कि हुँदैन ठेगान थिएन, इन्टरभ्युमा पास भइएन भने त्यही दिन साँझ घर फर्किने सोचले स्कुल पुगेको थिए ।’ इन्टरभ्युमा मञ्चलालाई गायत्री मन्त्र जाप गर्न भनिएको थियो । उहाँ खर्र गायत्री मन्त्र सुनाउनुभयो । मञ्चला भन्नुहुन्छ, ‘जसको कोही हुँदैन त्यसको भागवान हुन्छ भनि साँच्चै हो रहेछ म सधै घरमा पुजा गर्थे गायत्री मन्त्र वाचन गर्थे त्यो पुजा मलाई इन्टरभ्युमा काम लाग्यो ।’ गायत्रीमन्त्र सुनेपछि स्कुलका प्रिन्सिपल भीएन रत्नाकर खुशी हुनुभयो र भोलीदेखि नै स्कुलमा पढाउन आउन भन्नुभएको थियो ।
मञ्चलासँग खुशीको सिमा थिएन । एकछिन अघिसम्म पिडाको बोझ लिएर हिडरहनु भएको, घर फर्किने तयारीमा रहनु भएको मञ्चलामा अचानक खुशी छायो । उहाँ खुशीका साथ कोठा फर्किनुभयो । झोला, बोरा खोल्नुभयो । कोठा मिलाउनुभयो । तर भोलीपल्टै स्कूल जानुभएन । स्कुलबाट पुनः फोन आयो । त्यसपछि मञ्चला झाले स्कूललाई भन्नुभयो, ‘मलाई एक दुई दिन समय चाहिन्छ, सानो बच्चा छ, त्यसलाई व्यवस्थापन गरेर मात्र म स्कूल आउँछु ।’ मञ्चलाको त्यो प्रस्ताव स्कूलले स्विकार गर्यो । कान्छो छोरालाई डे केयर सेन्टरमा राख्नुभयो । र, दुई तीनपछि स्कूलमा पढाउन जान सुरु गर्नुभयो । यता घरमा ट्युशन पनि पढाउन सुरु गर्नुभयो ।
हरायो दुखका दिन
ट्युशन र मोडर्न स्कूल पढाउन थालेपछि उहाँको आर्थिक अवस्थामा सुधार हुन थाल्यो । दुखको दिन गए जस्तो उहाँलाई अनुभूती हुन थाल्यो । सब ठिकठाक चलिरहेको थियो । केही पछि डे केयर सेन्टरमा राखिएको छोरा विमार हुन थाल्यो । त्यसपछि उहाँले छोरालाई केयर सेन्टरबाट निकालेर घरमै राख्न थाल्नुभयो । छोरालाई देखभालका लागि एक जना केटो राख्नुभयो । मञ्चला विहान खाना पकाएर खुवाएर जेठो छोरालाई नाइटिगंलमा छाडेर आफू पढाउने स्कुल जानु हुन्थ्यो । हेरचाहका लागि राखेको केटोले कान्छो छोरालाई देखभाल गथ्र्यो ।
कान्छो छोरा अढाइ वर्षको भएपछि उसलाई पनि नाइटिङ्गल स्कूलमा भर्ना गराउनु भयो । घरमा काम गर्न राखेको केटोलाई पनि उहाँले एउटा सरकारी स्कुलमा भर्ना गराई दिनुभयो । काम गर्ने केटो स्कूलबाट आएपछि घरमा बच्चालाई हेरचाह गर्नुको साथै घरको काममा सहयोग गर्थे । बाँकी खाली समयमा घरमा पढाइ गर्थे ।
पछि त्यो काम गर्ने केटालाई घरबाट निकाल्ने आवस्था आयो । मञ्चला झा भन्नुहुन्छ, ‘जसरी म आफ्नो दुईटा छोरालाई पढाए लेखाए हुर्काए त्यसरी नै त्यो केटोको लागि पनि सबै व्यवस्था गरे, छोरा जस्तै माया गर्थे तर त्यो केटो घरमा पैसा चोर्न थाले । अनि बाध्य भएर मैले घरबाट निकालि दिए । त्यहाँबाट निस्केर कहाँ गए थाह छैन पछि उसैले फोन सम्पर्क गरेर आफू वैदेशिक रोजगारीमा कतारमा छु भन्यो । उसले मलाई अझै पनि निकै आदर गर्छन् ।’
हिन्दी प्रध्यापकका लागि ट्राइ
मोडर्न स्कुलमा पढाउदै गर्दा उहाँले त्रिविमा हिन्दी प्रध्यापिकामा पार्ट टाइमका लागि कोशिस गर्नुभयो । त्यसका लागि उहाँले इन्टरभ्यु पनि दिनुभयो । तर त्यहाँका इन्चार्ज वसन्त विश्वकर्माले मञ्चला झासँग निहुँ खोज्नुभयो । मञ्चला झा हिन्दीको क्लाश लिन नआओस् भनि चाहना विश्वकर्माका थियो । वसन्त विश्वकर्माले मोडर्न स्कुललाई एउटा पत्र लेखेर मञ्चला झा त्यहाँ स्थायी शिक्षकको रुपमा कार्यरत हो कि होइन भनि सोध्नुभयो । जुन कुराको जानकारी मञ्चलालाई थिएन । स्कुलबाट नै त्यो चिठी बारे जानकारी पाउनुभएको थियो ।
मञ्चला त्यहाँ स्थायी हुनुहुन्थ्यो । स्कूलले गलत चिठी लेख्न मिल्दैन्थ्यो । त्यसपछि उहाँ त्रिविको पार्टटाइम जागिरको मोह त्याग्नु भयो । आफ्नो दिनचार्यामा लाग्नुभयो । केही पछि त्यहाँ हिन्दी प्रध्यापकका लागि विज्ञापन नै निस्कियो । मञ्चलाले पनि फर्म भर्नुभयो । उहाँ पास पनि हुनुभयो । त्रिविमा पनि स्थायी उता मोडर्न स्कुलमा पनि स्थायी । एक जना व्यक्ति दुईतिर कसरी स्थायी जागिर गर्न सक्छ भनि एउटा जागिर छाड्नु पर्ने अवस्था मञ्चला सामु आइपुग्यो । त्रिविले उहाँलाई जनकपुरका लागि नियुक्ति दियो । मञ्चलाका लागि झन आपत्त भयो । पारिवारिक अवस्थाका कारण काठमाडौँबाट जनकपुर जाने अवस्था थिएन । तर त्यत्रो मेहनतले त्रिविमा पाएको जागिर त्यतिकै छाड्ने कुरा पनि थिएन ।
उहाँ जनकपुर जान तयार हुनुभयो । यता स्कुलमा पार्टटाइम पढाउन थाल्नुभयो । मञ्चलाले भन्नुभयो, ‘त्रिविमा मैले प्रध्यापकमा जागिर पाएपछि मोडर्न इण्डियन स्कुललाई छाड्नुपर्ने अवस्था आयो, यो कुरा मैले त्यहाँ पनि राखे । तर स्कुलले भएसम्म पार्टटाइम पनि पढाउनुस् भन्यो ।’ त्यसपछि जनकपुरको कलेजमा पढाउँदा पनि उहाँ स्कुल छाड्नु भएको थिएन । भ्याएसम्म उहाँ दुवैतिर काम गर्नुहुन्थ्यो । कहिले काही त एउटा प्लेनले जाने र त्यहाँ पढाएर पुनः अर्को प्लेनले काठमाडौँ फर्किनु हुन्थ्यो । कहिले काही मोडर्न स्कूलमा पढाएर प्लेनमा जनकपुर जानु हुन्थ्यो ।
कहिले काही नाइट बस चढेर जानु हुन्थ्यो त्यहाँ पढाएर फेरी अर्को नाइट वा प्लेन चढेर काठमाडौँ फर्किनु हुन्थ्यो । जनकपुरको कलेजमा पाएसम्म विदा बस्नु हुन्थ्यो भने कहिले काही जनकपुरबाट काठमाडौँका लागि काज मिलाउनु हुन्थ्यो । यो उहाँको बाध्यता थियो । तर यो दौडधुपले धेरै दिन जिन्दगी चल्दैन भन्दै उहाँ जनकपुरबाट काठमाडौँ सरुवा गराउनेतिर लाग्नुभयो । उहाँ त्रिविको रेक्टर अफिसमा आफ्नो समस्यासहित निवेदन दिनुभयो । तर परीक्षणकाल पनि नकटेको कारण सरुवा गर्न मिल्दैन भनेर मञ्चलाको निवेदनमाथि कुनै सुनुवाइ भइरहेको थिएन ।
त्यसपछि उहाँ मोडर्न स्कुलमा पार्ट टाइम पढाएर बाँकी टाइम सरुवाका लागि धर्ना बस्न रेक्टर अफिसमा जानुहुन्थ्यो । पछि त अरु अरुले पनि उहाँलाई साथ दिन थाले । जो यस्तै यस्तै समस्यासँग जुधिरहेका थिए । सरुवा नभएसम्म उहाँ रेक्टरको अफिस जान छाड्नु भएन । सत्य र न्यायका लागि लडि रहने मञ्चला सरुवाका लागि लामो संघर्ष गर्नुभयो । तर हार मान्नु भएन । पछि रेक्टर गुणनीधि तिवारीले मञ्चलाजी तपाईबाट म नसक्ने भए, तपाई यति जिद्दी, यति कठोर र डेलिकेटेड हुनुहुन्छ भनि थाह थिएन भन्दै मञ्चलालाई जनकपुरबाट काठमाडौँ सुरुवा गर्दिनुभयो । मञ्चला त्रिविमा काम गर्न थाल्नुभयो ।
उता मोर्डन स्कूलमा विहान १०ः३० वजेसम्म पढाउनु हुन्थ्यो भने बाँकी समय त्रिविमा दिनुहुन्थ्यो ।
मञ्चलाको जीवन दौडादौडमा बितिरहेको थियो । जेठो छोरालाई लिएर उहाँ आफै स्कुल जानु हुन्थ्यो । कान्छोलाई उहाँका श्रीमानले पुर्याई दिनुहुन्थ्यो । कतियौं दिन गाडी छुट्ला भनि बच्चालाई लिएर दौडिनु हुन्थ्यो । कुपण्डोलमा अहिले पनि मञ्चलाको संघर्ष र दौडधुपलाई देख्ने थुप्रै छन् ।
लेखनमा रुची
मञ्चला झा शिक्षिका र प्रध्यापिका हुनुहुन्छ तर उहाँलाई लेखिकाबाट परिचित गराएको छ । उहाँ राजविराजमा ब्याचलरमा पढ्दादेखि नै त्यहाँको भित्ते पत्रिकामा आफ्नो लेख तथा रचनाहरु प्रकाशन गर्नुहुन्थ्यो । उहाँले लेख्ने मात्र होइन, उद्घोषण र भाषण पनि स्कूल जीवनदेखि नै गर्नुहुन्थ्यो । विगतलाई सम्झिदै मञ्चला भन्नुहुन्छ, ‘प्रजातन्त्र दिवसको अवसरमा आयोजित एउटा कार्यक्रममा कलेजको तर्फबाट मैले भाषण दिएको थिए । मेरो प्रस्तुती यस्तो दमदार भयो कि सबैतिर त्यसको प्रसंशा भयो मेरो तारिफ भयो ।
तर मेरो एक जना काकी पर्नेले मेरो आमालाई आएर भन्नुभयो छोरीलाई रोक्नुस् यतिजनाको बिचमा तपाईको छोरी बोल्नुहुन्छ भोली पर्सी छोरीको विहे हुँदैन अनि थाह पाउनुहुन्छ ।’
तर मञ्चलाको आमाले ती सब कुरामा ध्यान दिनुभएन । छोरीले जे गर्नुभएको होला त्यो राम्रै गर्नुभएको होला भनि उहाँको आमालाई लागेको थियो । किनभने आमालाई मञ्चलामाथि भरोसा थियो । मञ्चला सानैदेखि राजनीतिमा रुची राख्नुहुन्थ्यो, समाजका बेथितीमाथि चासो राख्नु हुन्थ्यो । न्यायका लागि समाजमा बौलनु हुन्थ्यो । अहिले पनि उहाँ न्याय र सत्यको पक्षमा बोल्न कहिल्यै डराउनु भएन । तर उहाँ खुलेर कहिले राजनीति गर्नुभएन । कुनै पार्टीको सदस्यता लिएर आजसम्म राजनीति गर्नुभएन । उहाँलाई पार्टीमा आउन दलका नेताहरुबाट प्रस्ताव नआएको होइन तर उहाँ कुनै पनि पार्टीबाट प्रत्यक्ष राजनीतिमा जानु भएन ।
तर राजनीतिका सबै ज्ञान, सबै कुराको जानकारी हुनहुन्छ किनभने त्यसका लागि उहाँले कडा अध्ययन गर्नुहुन्छ । त्यही भएर उहाँको लेख र विचार त्यति दमदार हुन्छ ।
उहाँले कान्तिपुरलगायत विभिन्न राष्ट्रिय दैनिकमा देशको समसामयिक राजनीतिक घटना तथा समाजिक विषयवस्तुमा लेख लेख्नु भएको छ । उहाँ शिक्षिका हुँदादेखि नै लेख लेख्नु हुन्थ्यो । त्यतिबेला उहाँ जति वटा लेख लेख्नु भयो ती सबै राती राती नै लेख्नु भयो । खाना खाएर सबै सुति सकेपछि उहाँ दुई तीन वजे रातीसम्म अध्ययन तथा लेखहरु लेख्नु हुन्थ्यो । उहाँलाई दिनमा यो भागदौडको जिन्दगीबाट फुर्सद नै हुँदैन्थ्यो ।
सुरुमा उहाँले कान्तिपुरमा लेख पठाउनु भएको थियो । लगातार दुईटा लेख पठाए पनि कुनै प्रकाशित भएन । अनि उहाँले कान्तिपुरका तत्कालिन सम्पादक नारायण वाग्लेलाई सिधै फोन गरेर आफ्नो लेखको बारेमा सोध्नु भएको थियो । सम्पादक बाग्लेले मञ्चला झालाई मधेशी महिलाको इस्युमा लेख्न सुझाउनु भएको थियो । तर मञ्चला झाले महिला भएर महिलाको विषयमा, मधेशी भएर मधेशकै विषयमा लेख्नु पर्छ भनि के छ र आफू महिलाको बारेमा नलेख्ने देशको समसामयिक राजनीति अवस्था तथा समाजिक विषयवस्तुमा मात्र लेख्ने भनि जवाफ दिनुभएको थियो ।
त्यसपछि मञ्चला झाको लेख कान्तिपुरमा छाप्न थालिएको थियो । सम्पादक बाग्लेले मञ्चला झाको उदाहरण अरुअरुलाई दिनु हुन्थ्यो ।
त्यसबेला मधेश आन्दोलन चलिरहेको थियो । मधेश आन्दोलनको बारेमा उहाँका थुप्रै लेख कान्तिपुरलगायत अन्य पत्रिकाहरुमा छापिएको थियो । त्यसले उहाँलाई झन उचाइमा पुर्यायो । समाजमा प्रतिष्ठित तथा परिचित बनायो ।
उहाँ मधेश आन्दोलनको बारेमा मात्र होइन देशका केन्द्रीय राजनीति, शान्ति प्रकृया, माओवादी द्वन्द लगायतको विषयमा लेख लेख्नु भएको छ । अहिले पनि मञ्चलालाई धेरैले त्यही रुपमा चिन्छन् । त्यही लेख र विषयवस्तुको प्रस्तुतीका कारण उहाँ २०७१ मा सत्यनिरुपण तथा बेपत्ता छानविन आयोगको सदस्य बन्नुभयो ।
आयोगको सदस्य बनेपछि उहाँले मोडर्न इण्डियन स्कूल छाडनु भएको थियो भने त्रिविमा बेतलबी विदा लिनुभएको थियो । मोडर्न स्कुल छाडेको दिन त्यहाँका प्रिन्सिपल रत्नाकरले एसेम्बलीको समयमा मञ्चलाको बारेमा निकै प्रशंका गर्नुभएको थियो । मञ्चला झाले काठमाडौँमा गरेको संघर्षलाई त उहाँले कथाकै जस्तो सबैलाई सुनाउनु भएको थियो । मञ्चलाबाट अरुलाई सिक्न पनि उहाँले सुझाव दिनुभएको थियो । सत्य निरुपन मेलमिलाप आयोगमा उहाँ चार वर्षसम्म रहनु भयो । त्यहाँ रहँदा पनि उहाँले फरक ढंगले काम गर्नुभयो ।
उहाँले जहिले पनि हिमाल र पहाडका फिल्ड रोज्नुहुन्थ्यो । माओवादी जनयुद्धकालमा सबभन्दा बढी जहाँ द्धन्द चर्केको थियो, त्यहाँ जान उहाँ रुचाउनु हुन्थ्यो । पिडित महिलाहरुले मञ्चला झासँग खुलेर राखेको कुराहरु अहिले पनि उहाँको स्मरणमा ताजै छन् ।
त्यतिबेला उहाँले आयोगमा दुईटा निवेदन दिनुभएको थियो, एउटा आयोगलाई राजनीतिबाट टाढा राख्नुपर्छ र अर्को बलात्कृत महिलाको बारेमा आफूलाई काम गर्न दिनुपर्छ ।’ तर राजनीतिबाट टाढा राख्ने विषयमा आयोगले कुनै निर्णय नै गर्नुपरेन तर बलत्कारको विषयमा काम गर्ने जिम्मेवारी मञ्चला झालाई दिएन । उहाँ आयोगमा आउनुअघि २०७० मै पीएचडी ज्वाइन गरिसक्नु भएको थियो । आयोगमा काम गर्दा गर्दै उहाँले पिएचडी पनि सकाउनुभयो । कोरोनाको समयमा उहाँले भिष्म साहनीको विषयमा पीएचडी (हिन्दी) सकाउनुभयो ।
उहाँका करिब २० वटा लेख विभिन्न जर्नलनमा प्रकाशित छन् । ‘विद्यापती और नेपाल’ भनि पुस्तक पनि लेख्नु भएको छ भने उहाँले ‘उठो आहिल्या’ नाटकको नेपाली अनुवाद पनि गर्नुभएको छ ।
परिवार
बुवा रमाकान्त झा र आमा सुधादेवी झाको छोरी मञ्चला झा पाँच दाजु भाइ, दिदी वहिनी हुनुहुन्छ । जेठी दिदी रञ्जु झा नेपाली राजनीतिमा हुनुहुन्छ अहिले उहाँ जसपामा सांसद हुनुहुन्छ । भाइ राजमंगल झा शिक्षा क्षेत्रमा हुनुहुन्छ भने वहिनी आरती झा समाजिक कार्यमा सक्रिय हुनुहुन्छ भने डा.रञ्जित झा डाक्टरी पेसामा हुनुहुन्छ । मञ्चला झाका दुई जना छोरा छन् । जेठो छोरा आषिश झा एआइमा पीएचडी गरिरहेका छन् भने कान्छो उत्कर्ष झा एमबीएमा अध्ययनरत छन् ।
तपाईको प्रतिक्रिया