Khadya Bibhag

संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन

देशले दशकौँको संघर्ष, बलिदान र हजारौँको रगतको मुल्यमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको हो । यसलाई कुनै पनि हालतमा कमजोर बनाउन वा विकल्प खोज्न सकिँदैन । गणतन्त्र मास्ने वा अरु कुनै शासन व्यवस्थाको सपना देख्नु भनेको पुनः मुलुकलाई अराजकता र द्वन्द्वतर्फ धकेल्नु हो ।

हालै सम्पन्न आन्दोलनमा नयाँ पुस्ताको साहस, सङ्घर्ष र जागरण देखियो । जेन–जेड पुस्ताले सडकमा देखाएको आक्रोश, असन्तोष र आशा लोकतान्त्रिक गणतन्त्रकै कारण सम्भव भएको हो । यदि आज पनि पुरानो निरङ्कुश शासन व्यवस्था कायम हुने हो भने यस्तो खुलेर बोल्ने, आन्दोलन गर्ने वा विरोध जनाउने वातावरण हुन सक्दैनथ्यो । त्यसैले गणतन्त्रको विकल्प गणतन्त्र नै हो भन्ने सत्यलाई हरेक पुस्ताले आत्मसात गर्नैपर्छ ।

यद्यपि, यो व्यवस्थामाथि देखिएका असन्तोष र आक्रोशको कारण भने स्पष्ट छ—केही नेताहरुको चरित्र, स्वार्थ र असफलताले गणतन्त्रलाई नै बदनाम बनाएका छन् । यो व्यवस्थाले होइन, यसलाई चलाउने मान्छेले दोष कमाएका छन् । त्यसैले गणतन्त्रलाई जोगाउँदै सुधार गर्ने, संविधान संशोधन गर्ने, निर्वाचन प्रणाली परिमार्जन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ल्याउने जस्ता कदमहरु आवश्यक छन् । तर यी सुधारका प्रक्रिया गणतन्त्रकै ढाँचाभित्र हुनुपर्छ, गणतन्त्रको विरुद्धमा होइन ।

सडकमा प्राण गुमाएका युवाको रगतलाई हामीले केवल सहानुभूति वा क्षतिपूर्ति मात्र होइन, सम्मान दिनुपर्छ । उनीहरुको बलिदानलाई सहिदको दर्जा दिँदै गणतन्त्रलाई अझ मजबुत र समृद्ध बनाउनै पर्छ । यही नै उनीप्रति गरिएको वास्तविक श्रद्धाञ्जली हुनेछ ।

आज नेतृत्वका नयाँ नामहरु चर्चामा छन्—बालेन, रवि लामिछाने, लोकमानसहित विभिन्न अनुहारहरुलाई जनताले मूल्याङ्कन गरिरहेका छन् । तर जुनसुकै नेतृत्व आए पनि दुई कुरा सम्झनैपर्छ—राष्ट्रिय सार्वभौमसत्ता र संघीय लोकतान्त्रिक गणतन्त्रमा सम्झौता हुँदैन । यी दुई मूल मूल्यमा धक्का पुग्ने गरी कुनै वार्ता वा सम्झौता भयो भने फेरि आन्दोलन अपरिहार्य हुनेछ ।

नेपालको गहना नै लोकतन्त्र हो । यही व्यवस्थाले हाम्रो विविधतालाई एकता दिन्छ, अधिकार दिन्छ र भविष्यप्रतिको विश्वास दिलाउँछ । केही नेताको स्वार्थ र असफलताका आधारमा गणतन्त्रलाई नष्ट गर्न खोज्नु इतिहासको गम्भीर भूल हुनेछ । त्यसैले आजको आवश्यकता भनेको गणतन्त्रलाई जोगाउँदै, सुधार गर्दै र समृद्धिको बाटोमा अघि बढाउने साझा संकल्प हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नु होइन, यसलाई सुधार गर्दै समृद्ध बनाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । यही बाटोमा मात्र देशको भविष्य उज्यालो छ ।

तपाईको प्रतिक्रिया