Khadya Bibhag

साइन्स पढ्न आएकी मनिसा यसरी भइन् आर्टिस्ट

नेपाली राहदानीका पाना पल्टाउँदा देखिने जीवन्त चित्रकलाले महिला सशक्तीकरणको कथा भन्छ । परम्परागत मिथिला कलाको सुगन्धमा आधुनिकताको रङ घोलेर तयार पारिएको त्यो कलाकृति नेपालको राष्ट्रिय पहिचानको एक हिस्सा बनेको छ । त्यो कलाको पछाडि एक संघर्षशील र दृढ संकल्पित कलाकारको अथक् मिहिनेत र सिर्जनात्मक सोच लुकेको छ । ती कलाकार हुनुहुन्छ, सर्लाहीकी मनिसा शाह यादव ।
२८ वर्षकै उमेरमा उहाँले आफूलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ‘मोडर्न मिथिला आर्टिस्ट’ को रूपमा स्थापित गर्नुभएको छ । यो मधेशकी मनिसाको कलायात्राको कथा हो; जहाँ सपना, संघर्ष, पहिचान र सफलताका अनेक रङ पोतिएका छन् ।
गाउँबाट शहरमा
मनिसाको जन्म सर्लाहीको हरिपुर्वा गाउँमा भयो । परिवारमा उहाँ चार दिदी–बहिनी र एक भाइ गरी पाँच सन्तानमध्ये दोस्रो हुनुहुन्छ । उहाँको परिवार गाउँमा प्रतिष्ठित थियो । बुवाको पेट्रोल पम्प थियो । उब्जनीले खान–लाउन पुगेको थियो । संयुक्त परिवार भएकाले बाल्यकाल गाउँले परिवेशमा हजुरआमाको काखमा बित्यो । उनी दुई कक्षामा पढ्दै गर्दा देशमा माओवादी द्वन्द्व चर्कियो । सुरक्षाको कारणले परिवार जनकपुर स¥यो, जहाँ उनीहरूको अर्को घर थियो ।
मनिसाको प्रारम्भिक शिक्षा जनकपुरको मोनास्टिक हाईयर सेकेन्डरी इंग्लिस बोर्डिङ स्कूलमा भयो । कलाप्रतिको लगाव उहाँमा बाल्यकालदेखि नै थियो ।

विद्यालयमा हुने चित्रकला प्रतियोगिताहरूमा सधैं पहिलो वा दोस्रो हुन्थ्यिो । शिक्षकहरूले उहाँको प्रतिभाको प्रशंसा गर्दै कला क्षेत्रमै लाग्न प्रोत्साहन गर्नुहुन्थ्यो । रोचक कुरा त के छ भने उहाँको परिवारमा कसैको पनि कलासँग प्रत्यक्ष सम्बन्ध थिएन । मनिसा भन्नुहुन्छ, ‘मेरो मम्मी, पापालाई चित्र कोर्ने पेन्सिल, ब्रस समात्नसम्म आउँदैन ।’ तर उहाँका पाँचै जना दाजुभाइ–दिदी–बहिनीमा कलाप्रति स्वाभाविक रुचि थियो । यो उनीहरूको जन्मजात प्रतिभा थियो, जुन भविष्यमा कुनै न कुनै रूपमा प्रस्फुटित हुनु थियो ।
मनिसा शाह यादवको यो कथा मधेशकी एउटी साधारण युवतीको असाधारण यात्राको कथा हो । यो एउटा यस्तो कलाकारको कथा हो, जसले परम्पराको जगमा उभिएर आधुनिकताको आकाश छुने साहस गरेको छ ।
डाक्टर पढाउने चाहना
परिवारको सपना र समाजको चलन अनुसार, मनिसाले जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) बाट विज्ञान विषयमा प्लस टु उत्तीर्ण गर्नभयो । परिवारको चाहना उहाँलाई मेडिकल क्षेत्रमा पठाउने थियो । उहाँको निडर र दृढ स्वभाव देखेर बाबु–आमाले छोरीलाई डाक्टर बनाउने सपना देख्नुभएको थियो । त्यही सपना पूरा गर्न मनिसा काठमाडौं आउनुभयो । ललितपुरको डेरामा बसेर उहाँले मेडिकल शिक्षाका लागि विभिन्न प्रवेश परीक्षा दिनुभयो । भारतीय दूतावासदेखि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म खुल्ने हरेक प्रवेश परीक्षाका लागि फारम भर्नुभयो । तर हरेक पटक उहाँको नाम ‘वेटिङ लिस्ट’ (प्रतीक्षा सूची)मा मात्र प¥यो । त्यसपछि उहाँले फरेस्ट्री पढ्ने चाहना राख्नुभयो । त्यसका लागि पनि उहाँ धेरै प्रयास गर्नुभयो तर उहाँको त्यो प्रयास पनि सफल हुन सकेन ।
परिवारको आर्थिक अवस्था
एकातिर सपना पूरा नहुँदाको निराशा थियो भने अर्कोतिर परिवारको आर्थिक अवस्थाको यथार्थ । पाँच सन्तानलाई पढाउनुपर्ने जिम्मेवारीले गर्दा परिवारले रकम खर्चेर पढाउने जोखिम लिनसक्ने अवस्था थिएन । उहाँ सम्झनुहुन्छ, ‘सबै सन्तानलाई बराबरी शिक्षाको अवसर दिनुपर्ने दबाब ममी–पापालाई थियो । त्यसैले छात्रवृत्तिमा नाम निकाल्न सक्छ्यौ भने पढ, नत्र तिमीलाई मात्र लाखौं रकम खर्चेर पढाउन सक्दिनँ भन्नुहुन्थ्यो ।’
यही अनिश्चयका बीच एउटा नयाँ ढोका खुल्यो । जनकपुरस्थित घर अगाडि मनिसाका बुवाका साथी आर्टिस्ट क्षेत्रमा कहलिएका दम्पती उमाशंकर शाह र सीमा शर्मा शाह बस्नुहुन्थ्यो । उहाँहरूले नै मनिसाको कलाप्रतिको रुचिलाई बुझेर चित्रकला पढाउन सुझाउनु भएको थियो । त्यतिबेलासम्म धेरैलाई जस्तै मनिसालाई पनि चित्र बनाउने पनि पढाइ हुन्छ भन्ने थाहा थिएन । यो जानकारी उहाँको जीवनको ‘टर्निङ प्वाइन्ट’ साबित भयो । जहाँतहीं प्रवेश परीक्षाको फारम भर्ने क्रममा उहाँले ललितकला क्याम्पसमा पनि भर्नाका लागि प्रवेश परीक्षाको फारम भर्नुभयो । र, त्यसमा उहाँको नाम निस्कियो ।

काठमाडौँको संघर्ष
आफ्नो सपनाको नयाँ रङ खोज्दै मनिसा ललितकला क्याम्पसमा बी.एफ.ए. (ब्याचलर्स अफ फाइन आर्ट)मा भर्ना हुनुभयो । र, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर हाताभित्र रहेको ललितकला क्याम्पस पढ्न थाल्नुभयो । आफ्नो ब्याचमा तराई (मधेश)की एक्ली विद्यार्थी हुनुहुन्थ्यो, मनिसा । शहरिया परिवेशमा घुलमिल हुन उहाँलाई केही चुनौती पनि आए । कहिलेकाहीं ‘मधेशी’ भनेर हेप्ने प्रवृत्तिसँग पनि जुध्नुप¥यो । तर उहाँको दृढता र कलाप्रतिको समर्पणले यी सबै बाधालाई फिक्का बनाइदियो ।
उहाँभित्र केही फरक गर्ने हुटहुटी थियो । मिथिला समुदायका भएकाले आफ्नो कलाको जग त्यही संस्कृतिलाई बनाउने निश्चय गर्नुभयो । तर उहाँ अरूले जस्तै परम्परागत बाटोमा हिंड्न चाहन्नु भएको थिएन । त्यसैले मिथिला आर्टमै पनि फरक गर्ने लक्ष्य बनाउनुभयो ।
‘जनकपुरका घर–घरमा मिथिला कलाकार छन्, तर सबैको काम उस्तै देखिन्थ्यो । उही एक साइडको मात्र अनुहार, चुच्चो नाक, पानपाते ओठ, माछाको जस्तो आँखा आदि’ मनिसा भन्नुहुन्छ, ‘यो एनाटोमीले परम्परागत मिथिला आर्टलाई चिनाउँछ । म त्यसमा आधुनिकता थपेर फरक फ्लेभर दिन चाहन्थें । जहाँ हस्ताक्षर बिना पनि मानिसले यो मनिसाको कला हो भनेर चिन्न सकुन् ।’
यही सोचबाट ‘मोडर्न मिथिला आर्ट’को अवधारणा जन्मियो । उहाँले ललितकलामा सिकेका आधारभूत सिद्धान्त, कलर थ्यौरी, पस्र्पेक्टिभ, कम्पोजिसनलाई मिथिलाको परम्परागत शैलीसँग मिसाउन शुरू गर्नुभयो । उहाँको कलामा मिथिलाको चिनारी त हुन्थ्यो, तर त्यसको प्रस्तुति आधुनिक हुन्थ्यो । परम्परागत कलामा जस्तो हरेक कुनालाई प्याटर्नले भर्नुपर्छ भन्ने मान्यतालाई उहाँले तोड्नुभयो । ‘कलामा विषयवस्तु स्पष्ट छ भने खाली ठाउँले पनि अर्थ राख्छ’, उहाँले भन्नुभयो ।
आत्मनिर्भरतिर मनिसा
यो यात्रा आर्थिक रूपमा पनि संघर्षपूर्ण थियो । तर मनिसाले स्नातक दोस्रो वर्षदेखि नै आफ्नो खुट्टामा उभिने संकल्प गर्नुभयो । यसले उहाँलाई आत्मनिर्भरको खुट्किलो मात्र चढाएन आफ्नो कलाप्रति अझ बढी विश्वास पनि जगायो । उहाँले आफ्नो पेन्टिङ बेचेर आएको पैसाले नै कलेजको शुल्क, क्यानभास, रङ र अन्य सामग्रीको खर्च जुटाउन थाल्नुभयो । उहाँ भन्नुहुन्छ, ‘मैले ब्याचलर सेकेन्ड इयरदेखि पढाइ खर्च घरबाट कहिल्यै मागिनँ ।’
स्नातक दोस्रो वर्षमा अध्ययनरत साथीहरूसँग मिलेर मनिसाले नेपाल आर्ट काउन्सिल बबरमहलमा ‘हाम्रो पहिलो पाइला’ नामक सामूहिक प्रदर्शनी आयोजना गर्नुभयो । उहाँले सामाजिक सञ्जाल मार्फत तत्कालीन मन्त्री एवं मधेशबाट प्रतिनिधित्व गर्ने एमाले नेता रघुवीर महासेठलाई प्रदर्शनी अवलोकनका लागि निम्तो पठाउनुभयो । उहाँले ‘५ मिनेटको लागि भए पनि आउँछु’ भने र आफ्नो वचन पूरा गर्नुभयो ।
प्रदर्शनीमा रघुवीरको आँखा मनिसाको एउटा पेन्टिङमा प¥यो, जसमा मधेशी महिला सशक्तीकरणका मुद्दा चित्रण गरिएको थियो । २० हजार मूल्य तोकिएको त्यो पेन्टिङ मन्त्री महासेठले मन पराएर किन्ने इच्छा देखाउनुभयो । प्रदर्शनी सकिएपछि उहाँले सिंहदरबारस्थित आफ्नो मन्त्रालयमा पेन्टिङ ल्याइदिन भन्नुभयो । मनिसा पेन्टिङ बोकेर पहिलो पटक सिंहदरबार छिर्नुभयो । मन्त्रीको कार्यकक्षमा पग्नुभयो । तत्कालीन मन्त्री महासेठले बन्द खामभित्र पैसा दिएर पठाउनुभयो । हतार–हतार घर फर्किएर खाम खोल्नुभयो । त्यहाँ २५ हजार रुपैयाँ थियो । अर्थात् उहाँले तोकेको मूल्य भन्दा पाँच हजार बढी ।
‘यो मेरो व्यावसायिक जीवनको पहिलो र सबैभन्दा महत्वपूर्ण कमाइ थियो । तोकिएको मूल्यभन्दा ५ हजार बढी दिएर मन्त्रीज्यूले मलाई आर्थिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि ठूलो हौसला दिनुभयो’ मनिसा भन्नुहुन्छ, ‘अनि मेरो काम पनि राम्रो छ कि भन्ने आत्मविश्वास जाग्यो ।’ उहाँले त्यो रकमलाई पनि कलामै लगानी गर्नुभयो । नयाँ क्यानभास र रङहरू किन्नुभयो ।
मनिसा कलाको चर्चा
मनिसाको कलाको चर्चा विस्तारै फैलिन थाल्यो । जनकपुर महोत्सवमा राखिएको कलाबारे काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकामा छापिएपछि उहाँलाई एउटा अनपेक्षित फोन आयो ।
त्यो फोन नेपाली सेनाको मुख्यालय, भद्रकालीबाट थियो । फोन गर्ने व्यक्तिले उहाँलाई नवनिर्मित जंगी अड्डाको भवनको भित्तामा विशाल म्युराल (भित्ते चित्र) बनाउने प्रस्ताव गर्नुभयो । यो उहाँको जीवनको पहिलो म्युराल प्रोजेक्ट थियो, त्यो पनि अत्यन्तै प्रतिष्ठित स्थानमा । करिब २०–२५ फिट अग्लो भित्तामा उहाँले आफ्नो टिमसँग मिलेर एक महिना लगाएर कलाकृति तयार पार्नुभयो । माथि मिथिला शैलीमा दुर्गादेवीको चित्र र तल जानकी मन्दिरको भव्य दृश्य ।
‘शुरूमा भित्तामा पेन्सिलले चित्र कोर्ने अनि त्यसमा रङ भर्ने काम निकै चुनौतीपूर्ण थियो । तर त्यसले दिएको सन्तुष्टि र पहिचान अझ ठूलो थियो’ मनिसा भन्नुहुन्छ, ‘यो कामबाट करिब साढे ३ देखि ४ लाख रुपैयाँ कमाएँ, जुन एक विद्यार्थी कलाकारका लागि ठूलो उपलब्धि थियो ।’ उहाँले एकदिन आफ्नी हजुरआमालाई त्यो कलाकृति देखाउन जंगी अड्डा लग्नुभयो । सामान्य मानिसलाई प्रवेश निषेध गरिएको ठाउँमा नातिनीको कला देख्दा हजुरआमाले मैथिलीमा भन्नुभयो, ‘यस्तो ठाउँमा जोकोही सजिलै छिर्न पाउँदैन तर तिमीले यहाँ आएर यस्तो भव्य चित्र बनाउन पायौ । तिमी साँच्चै महान् छौ !’ हजुरआमाको त्यो अभिव्यक्ति मनिसाका लागि कुनै पनि पुरस्कारभन्दा ठूलो थियो ।

सन् २०२० मा उहाँले अर्को ठूलो सफलता हासिल गर्नुभयो । विश्व बैंक समूहको नेपालस्थित कार्यालयले महिला कलाकारका लागि आयोजना गरेको म्युराल पेन्टिङ प्रतियोगितामा उहाँ सहभागी हुनुभयो । देशभरिका कलाकारमध्येबाट उनी ‘टप फाइभ’मा पर्न सफल हुनुभयो । अनि पुरस्कार स्वरूप एक लाख नगद र विश्व बैंकको दरबारमार्गस्थित कार्यालयको भित्तामा पनि आफ्नो कलाकृति बनाउने अवसर पाउनुभयो ।
उहाँको काम यति धेरै मन पराइयो कि, विश्व बैंक अन्तर्गतका अन्य निकाय, (जस्तै आईएफसी)ले पनि आफ्नो कार्यालयका लागि पर्यटन, जलविद्युत्, महिला सशक्तीकरण आदि थिममा म्युराल बनाउन लगायो । यसरी उहाँको कलाले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय संस्थाहरूको पर्खालमा पनि स्थान पायो । अनि उहाँले अमेरिकी कलाकारसँग मिलेर काठमाडौंका पर्खालमा पेन्टिङ गर्नुभयो । मनिसा अमेरिकामा बसोबास गर्ने नेपालीहरूलाई समेत मिथिला चित्र बनाउने तालिम दिन पुग्नुभयो । यसरी मनिसाले नामसँगै दाम पनि कमाउन थाल्नुभयो ।
राहदानीमा पेन्टिङ
मनिसाको कलायात्राको सबैभन्दा अद्वितीय र दूरगामी उपलब्धि भने नेपाली ई–पासपोर्टमा उहाँको कलाकृति समावेश हुनु हो । यो अवसर उहाँलाई ललितपुरको सानेपास्थित ‘मिथिला हाउस’ मार्फत जुरेको थियो । मिथिला हाउसले उहाँलाई ‘महिला सशक्तीकरण’ विषयमा एउटा पेन्टिङ बनाउन अनुरोध गरेको थियो । उहाँले बनाएको पेन्टिङको चर्चा राहदानी विभागसम्म पुग्यो । अनि विभागका कर्मचारीले मिथिला हाउस मार्फत मनिसाको चित्र मागे । उहाँले चित्र प्रयोग अनुमति सम्बन्धी आवश्यक कानूनी कागजातमा हस्ताक्षर गरिन् र चित्र उपलब्ध गराउनुभयो ।
तर, पासपोर्टमा छापिएको कुरा भने उहाँले संयोगवश मात्र थाहा पाउनुभयो । पारिवारिक शोकको घडीमा आफन्तको आपतकालीन पासपोर्ट बनाउने क्रममा उहाँका श्रीमान् अजित यादवले पासपोर्टको १६औं पृष्ठमा रहेको चित्र देखेर मनिसालाई सोधे, ‘यो त तिम्रो आर्ट हैन र ?’ त्यतिबेला मात्र मनिसाले आफ्नो कलाले राष्ट्रिय पहिचानको दस्तावेजमा स्थान पाएको थाहा पाउनुभयो । ‘त्यतिबेला मलाई गर्व महसुस भयो’ मनिसा भन्नुभयो, ‘आज विदेश यात्रा गर्ने हरेक नेपालीले आफ्नो पहिचानसँगै मेरो कला पनि बोकेर हिंडेको हुन्छ ।’
अन्तरजातीय विवाह
कलायात्राको संघर्ष र सफलताको बीचमा, आफ्नो व्यक्तिगत जीवनमा पनि मनिसाले एउटा महत्वपूर्ण र साहसिक पाइला चाल्नुभयो । उहाँले जिल्लाकै अजित यादवसँग अन्तरजातीय विवाह गर्ने निर्णय गर्नुभयो । अभिभावकले धुमधामसँग विवाह गरिदिए । मेडिकल क्षेत्रमा कार्यरत अजित मनिसाको कला र सपनाका सबैभन्दा ठूला समर्थक हुनुहुन्थ्यो ।
श्रीमान्, सासू–ससुरा र माइती पक्ष मनिसाको हिम्मत र प्रेरणाका स्रोत हुन् । उहाँ भन्नुहुन्छ, ‘अजितसँगै सासू–ससुरा, बुवा–आमा, दिदी–बहिनी र भाइको साथ नपाएको भए म यो स्थानसम्म पुग्ने थिइनँ होला ।’ पारिवारिक साथ र समर्थनले उहाँलाई कलामा निर्धक्क भएर लाग्न थप ऊर्जा प्रदान गरेको छ । व्यावसायिक यात्रालाई अझ मजबुत र अर्थपूर्ण बनाएको छ ।

मनिसाका लागि कला केवल रङ र क्यानभासको खेल होइन, यो पहिचान निर्माणको शक्तिशाली माध्यम हो । उहाँका अनुसार व्यावसायिक कलामा उत्कृष्ट र टिकाउ सामग्रीको प्रयोग आवश्यक छ, चाहे त्यो महँगै किन नहोस् । ‘मान्छे मरे पनि क्यानभासको काम बाँचिराख्छ’, उहाँले भन्नुभयो । अहिलेसम्म सामूहिक प्रदर्शनी र तालिम दिंदै आएकी मनिसाले अब आफ्नो एकल प्रदर्शनी गर्ने योजना बनाइरहनु भएको छ । स्नातकोत्तरको थेसिस सकेपछि नेपालकै प्रतिष्ठित नेपाल कला परिषद्मा एकल प्रदर्शनी गर्ने उहाँको धोको छ । त्यसका लागि बल्खुस्थित डेरामा विभिन्न आकार प्रकारमा मिथिला कला चित्रहरू बनाएर राख्नुभएको छ ।
व्यक्तिगत सफलताभन्दा माथि उठेर समुदायको उत्थान र संस्कृति संरक्षणसँग पनि जोडिने लक्ष्य छ उहाँको । मधेशका गाउँ–गाउँमा मिथिला चित्रकला तालिम केन्द्र खोल्नु उनको एउटा ठूलो सपना हो । ‘नयाँ पुस्ताले यो कलालाई सजिलै सिक्न सकुन्’ मनिसा सपना सुनाउनु हुन्छ, ‘अनि राजर्षि जनक विश्वविद्यालयमा एक औपचारिक विषयको रूपमा मिथिला चित्रकला पढाइ भएको हेर्ने चाहना छ, ताकि मधेशका विद्यार्थी चित्रकला पढ्न काठमाडौं आउन नपरोस् !’ यो महान् लक्ष्य प्राप्तिका लागि राज्यबाट सकारात्मक सहयोग पाए आफूले पनि सक्दो योगदान गर्ने उहाँको अठोट छ ।
अन्त्यमा, २८ वर्षीया मनिसा शाह यादवको यो कथा मधेशकी एउटी साधारण युवतीको असाधारण यात्राको कथा हो । यो एउटा यस्तो कलाकारको कथा हो, जसले परम्पराको जगमा उभिएर आधुनिकताको आकाश छुने साहस गरेको छ । विज्ञानको बाटोमा हिंड्न खोज्दाखोज्दै कलाको राजमार्गमा आइपुगेकी मनिसाले आफ्नो मिहिनेत, सिर्जनशीलता र दृढताले मिथिला कलालाई एउटा नयाँ र विशिष्ट पहिचान दिनुभएको छ । सैनिक मुख्यालयको अग्लो पर्खालदेखि विश्व बैंकको कार्यालय हुँदै हरेक नेपालीको राहदानीसम्म फैलिएको उहाँको कलाले प्रमाणित गर्छ– जब सपनामा सत्यता र काममा इमानदारी हुन्छ, तब सफलताको रङ अवश्य फुल्छ । मनिसाको यात्रा कला क्षेत्रमा आउन चाहने हजारौं युवाका लागि प्रेरणाको स्रोत बनेको छ ।
स्रोतः अनलाइनखबर डट कम

तपाईको प्रतिक्रिया