नेपाली राहदानीका पाना पल्टाउँदा देखिने जीवन्त चित्रकलाले महिला सशक्तीकरणको कथा भन्छ । परम्परागत मिथिला कलाको सुगन्धमा आधुनिकताको रङ घोलेर तयार पारिएको त्यो कलाकृति नेपालको राष्ट्रिय पहिचानको एक हिस्सा बनेको छ । त्यो कलाको पछाडि एक संघर्षशील र दृढ संकल्पित कलाकारको अथक् मिहिनेत र सिर्जनात्मक सोच लुकेको छ । ती कलाकार हुनुहुन्छ, सर्लाहीकी मनिसा शाह यादव ।
२८ वर्षकै उमेरमा उहाँले आफूलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ‘मोडर्न मिथिला आर्टिस्ट’ को रूपमा स्थापित गर्नुभएको छ । यो मधेशकी मनिसाको कलायात्राको कथा हो; जहाँ सपना, संघर्ष, पहिचान र सफलताका अनेक रङ पोतिएका छन् ।
गाउँबाट शहरमा
मनिसाको जन्म सर्लाहीको हरिपुर्वा गाउँमा भयो । परिवारमा उहाँ चार दिदी–बहिनी र एक भाइ गरी पाँच सन्तानमध्ये दोस्रो हुनुहुन्छ । उहाँको परिवार गाउँमा प्रतिष्ठित थियो । बुवाको पेट्रोल पम्प थियो । उब्जनीले खान–लाउन पुगेको थियो । संयुक्त परिवार भएकाले बाल्यकाल गाउँले परिवेशमा हजुरआमाको काखमा बित्यो । उनी दुई कक्षामा पढ्दै गर्दा देशमा माओवादी द्वन्द्व चर्कियो । सुरक्षाको कारणले परिवार जनकपुर स¥यो, जहाँ उनीहरूको अर्को घर थियो ।
मनिसाको प्रारम्भिक शिक्षा जनकपुरको मोनास्टिक हाईयर सेकेन्डरी इंग्लिस बोर्डिङ स्कूलमा भयो । कलाप्रतिको लगाव उहाँमा बाल्यकालदेखि नै थियो ।

विद्यालयमा हुने चित्रकला प्रतियोगिताहरूमा सधैं पहिलो वा दोस्रो हुन्थ्यिो । शिक्षकहरूले उहाँको प्रतिभाको प्रशंसा गर्दै कला क्षेत्रमै लाग्न प्रोत्साहन गर्नुहुन्थ्यो । रोचक कुरा त के छ भने उहाँको परिवारमा कसैको पनि कलासँग प्रत्यक्ष सम्बन्ध थिएन । मनिसा भन्नुहुन्छ, ‘मेरो मम्मी, पापालाई चित्र कोर्ने पेन्सिल, ब्रस समात्नसम्म आउँदैन ।’ तर उहाँका पाँचै जना दाजुभाइ–दिदी–बहिनीमा कलाप्रति स्वाभाविक रुचि थियो । यो उनीहरूको जन्मजात प्रतिभा थियो, जुन भविष्यमा कुनै न कुनै रूपमा प्रस्फुटित हुनु थियो ।
मनिसा शाह यादवको यो कथा मधेशकी एउटी साधारण युवतीको असाधारण यात्राको कथा हो । यो एउटा यस्तो कलाकारको कथा हो, जसले परम्पराको जगमा उभिएर आधुनिकताको आकाश छुने साहस गरेको छ ।
डाक्टर पढाउने चाहना
परिवारको सपना र समाजको चलन अनुसार, मनिसाले जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) बाट विज्ञान विषयमा प्लस टु उत्तीर्ण गर्नभयो । परिवारको चाहना उहाँलाई मेडिकल क्षेत्रमा पठाउने थियो । उहाँको निडर र दृढ स्वभाव देखेर बाबु–आमाले छोरीलाई डाक्टर बनाउने सपना देख्नुभएको थियो । त्यही सपना पूरा गर्न मनिसा काठमाडौं आउनुभयो । ललितपुरको डेरामा बसेर उहाँले मेडिकल शिक्षाका लागि विभिन्न प्रवेश परीक्षा दिनुभयो । भारतीय दूतावासदेखि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म खुल्ने हरेक प्रवेश परीक्षाका लागि फारम भर्नुभयो । तर हरेक पटक उहाँको नाम ‘वेटिङ लिस्ट’ (प्रतीक्षा सूची)मा मात्र प¥यो । त्यसपछि उहाँले फरेस्ट्री पढ्ने चाहना राख्नुभयो । त्यसका लागि पनि उहाँ धेरै प्रयास गर्नुभयो तर उहाँको त्यो प्रयास पनि सफल हुन सकेन ।
परिवारको आर्थिक अवस्था
एकातिर सपना पूरा नहुँदाको निराशा थियो भने अर्कोतिर परिवारको आर्थिक अवस्थाको यथार्थ । पाँच सन्तानलाई पढाउनुपर्ने जिम्मेवारीले गर्दा परिवारले रकम खर्चेर पढाउने जोखिम लिनसक्ने अवस्था थिएन । उहाँ सम्झनुहुन्छ, ‘सबै सन्तानलाई बराबरी शिक्षाको अवसर दिनुपर्ने दबाब ममी–पापालाई थियो । त्यसैले छात्रवृत्तिमा नाम निकाल्न सक्छ्यौ भने पढ, नत्र तिमीलाई मात्र लाखौं रकम खर्चेर पढाउन सक्दिनँ भन्नुहुन्थ्यो ।’
यही अनिश्चयका बीच एउटा नयाँ ढोका खुल्यो । जनकपुरस्थित घर अगाडि मनिसाका बुवाका साथी आर्टिस्ट क्षेत्रमा कहलिएका दम्पती उमाशंकर शाह र सीमा शर्मा शाह बस्नुहुन्थ्यो । उहाँहरूले नै मनिसाको कलाप्रतिको रुचिलाई बुझेर चित्रकला पढाउन सुझाउनु भएको थियो । त्यतिबेलासम्म धेरैलाई जस्तै मनिसालाई पनि चित्र बनाउने पनि पढाइ हुन्छ भन्ने थाहा थिएन । यो जानकारी उहाँको जीवनको ‘टर्निङ प्वाइन्ट’ साबित भयो । जहाँतहीं प्रवेश परीक्षाको फारम भर्ने क्रममा उहाँले ललितकला क्याम्पसमा पनि भर्नाका लागि प्रवेश परीक्षाको फारम भर्नुभयो । र, त्यसमा उहाँको नाम निस्कियो ।





तपाईको प्रतिक्रिया