Khadya Bibhag

चाडपर्वमाथि राज्यको प्रहार (फरकमत)

–राजेन्द्र महतो
पहिचान मान्छेको चिनारी हो । अहिले शासन–सत्ताको केन्द्रमा जो छन्, उनीहरूले पहिचानका निम्ति संघर्ष गर्नुपरेन । शिक्षा उनीहरूको दैलोदैलोमा पुग्यो । शिक्षाको आलोकमा उनीहरूले ज्ञानविज्ञानको क्षेत्रमा फड्को मारे । संरचनागत लाभांशको फाइदा उठाए । शासन–सत्ताको उपरी संचरनामा पुगेका उनीहरू अहिले भनिरहेका छन्, ‘कहाँ सबै क्षेत्रमा आरक्षण र कोटा खोजेर हुन्छ । हामीजस्तै प्रतिस्पर्धामा आउनुपर्छ । प्रतिस्पर्धा र क्षमतामार्फत् सबैतिर श्रेष्ठ बन्नुपर्छ ।’ तर उनीहरूले यो तथ्य बुझ पचाइरहेका छन् ।
उनीहरू शासन–सत्ताको पहुँचमा सुरुदेखि नै थिए । उनीहरूको पुस्ता दरपुस्ताले शासन–सत्ताको वरिपरि रहेर लाभ उठाउँदै आएका थिए । मधेशी समुदाय जस्तो जन्मदै ऋणको गर्तमा जन्मनु परेन । अभावको गर्तमा आकण्ठ जाकिनु परेन । पाइलैपिच्छे यो देशमा जन्मिएको प्रमाण देखाउनु परेन । पहिचानविहीन जीवन भागमा परेन ।
कुनै पनि वर्ग, समुदायको पहिचान मेटियो भने अधिकार पनि खोसिँदो रहेछ । पहिचान नै रहेन भने केको नाममा अधिकारको दाबी गर्ने ? पहिचान कायम हुनुपर्छ भन्नुको अर्थ त्यही पहिचानको नाममा अधिकार प्राप्त गर्ने बाटो खोज्नु पनि हो । त्यसैले हामीले पहिचानसहितको संघीयताको कुरा उठान गर्यौ । अहिले नश्लीय सत्ताले प्रदेश नम्बर १ को नाम कोशी नामकरण गरेको छ । जबकि, पञ्चायतले पनि किराँत स्वीकार गरेको थियो । नश्लवादीहरू पञ्चायतभन्दा पनि पछाडि फर्किएर एकल जातीय अहंकार लाद्न लागिपरेका छन् । हाम्रो असन्तुष्टि यहीँनेर हो । पहिचानका लागि संसारभर संग्राम चलेको छ । यद्यपि यो सिलसिला जारी छ ।
पहिचानसहितको संघीयताका लागि डेढ सय मधेशीले आफूलाई बलिवेदीमा चरु झै होमेका छन् । अधिकार माग्दा गोली थमाउने नश्लीय सत्ताले मधेशको आवाज बन्दुकले नै दबायो सोचेको होला ! पहिचानको आन्दोलन खरानीले छोपेको आगो जस्तो हो । बाहिरबाट हेर्दा ज्वाला नदेखिन सक्छ । तर आगो जीवन्त रहन्छ । मधेशीको पहिचान स्थापित गरि छाड्ने उद्देश्यले सुरु भएको आन्दोलन अहिले मध्यान्तरमा छ । शक्ति सञ्चय गर्ने चरणमा छ ।
जब ज्वाला दन्काउने जुगाड भइसक्छ, डढेलो यसरी फैलने छ, शासक र तिनका उपासकहरूले कल्पना पनि गर्न सक्ने छैनन् । संरचनागत लाभका कारण सत्तामा पुगेकाहरूको शासन क्षणभङ्गुर बन्ने छ । यहाँनेर पहिचान भनेको के हो भनेर प्रश्न उठ्न सक्नेछ । मधेश प्रदेश दिएकै छौ त भन्ने जवाफ पनि नआउने होइन । अहिलेको प्रदेश संरचना महेन्द्रको विकास क्षेत्रीय ढाँचा हो । पञ्चायतको जन्मदाता महेन्द्र बरु यिनीहरूभन्दा उदार थिए । विकास क्षेत्रको संरचनामार्फत् प्रशासनलाई छरेका थिए ।
कुनै पनि समुदायको पहिचान भाषा, संस्कृति र वेशभूषाबाट कायम हुन्छ । यहाँ खस–आर्यबाहेक जातिको पहिचानलाई खासै स्वीकारिँदैन । अहिले मेला–महोत्सव, झाँकीहरूमा विभिन्न जातजातिको वेशभूषा प्रयोग गरिन्छ । नेताहरू त्यसैमा सजिएर पहिचान दिन तयार भएजस्ता पनि देखिन्छन् ।
यही ढोग र पाखण्डभित्रै हाम्रो पहिचान नामेट भएको छ । मधेशी, जनजातिहरू आज पनि आफ्नो मातृभाषामा पढ्न पाउँदैनन् । नेपाली भाषा नै पढेर खस–आर्यसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । सबैलाई पहिचान दिलाउन र देश सबैको साझा हो भन्ने भावना जगाउन दलहरु सुरूदेखि नै अग्रसर छन् । मधेशको वेशभूषा र पहिचान भनेको धोती, कुर्ता, पाइजामा, लुंगी र गम्छा हो । यो प्रयोग गर्नुको आफ्नै वैशिष्ट्य छ । वैज्ञानिकता छ । यो पोशाक मधेशको हावापानी र माटो सुहाउँदो हो । उष्ण ठाउँ भएकाले पातला र हिँड्दा, बस्दा अप्ठ्यारो नहुने प्रकारको लुगा लगाउनुपर्ने हुन्छ ।
गर्मीको ठाउँमा बख्खु लगाउने कुरा आएन । तर, मधेशको यो पहिरनलाई हेलाहाँसो गर्दै अपमान गरिराखियो । धोती लगाउने मधेशीहरूलाई अपमान गर्न ‘धोती’ शब्द प्रयोग गरियो । मधेशीको मुटुमुटुमा बिझेको छ यो अपमान । यसलाई मेटाउनका लागि पनि हामीले साझा पहिचान र पहुँचका आवाज मुखरित गरेका हौं । मधेशमा मनाइने चाडपर्वले मधेशीको जीवनमा उमङ्गको इन्द्रेणी ल्याउँछ । यहाँका पर्व–त्यौहारको आफ्नै रौनक छ । तर राज्यले लामो समयसम्म यहाँका पर्व–त्यौहारलाई राष्ट्रिय मान्यता दिन चाहेन ।
मधेशमा रहेका पहाडी समुदाय दशैँमा उत्सव मनाउँथे । घटस्थापनादखि कोजाग्रत पूर्णिमासम्म झन्डै आधा महिना बिदा दिइन्छन् । तर, त्यस्तै उत्सव मनाउने हाम्रो छठ पर्वमा बिदा दिइँदैनन् । पहाडको फागु पूर्णीमालाई मान्यता दिइयो, तर होलीका दहनपछि मधेशमा आयोजना हुने जुन होली संस्कृति छ, त्यसलाई स्वीकार्न बडो कठिन भयो । लडाईं नै लड्नुपर्यो ।
मधेशमा मुस्लिम समुदायको पहिचान र संस्कृतिका रूपमा रहेका इद, बकर इदजस्ता पर्वलाई पनि मान्यता दिइएन । थारूहरूले मनाउने माघी पर्वमा पनि बिदा थिएन । यो सांस्कृतिक विभेदको पराकाष्ठा थियो । मधेशवादको दृष्टिमा यो कृत्य मधेशको संस्कृतिमाथि आक्रमण थियो । घोर अन्याय थियो । त्यसका विरुद्ध संघर्ष अनिवार्य थियो । देश भनेको भावना मात्रै होइन, अपनत्व पनि हो । हामीले साझा अपनत्वका लागि लडेको लडाई थियो । यो देशभक्ति राष्ट्रले गर्ने व्यवहारमा निर्भर हुन्छ ।
मधेशमा विद्रोहको लहर उठ्न थालेपछि पहाडका जनजाति पनि आफ्नो सांस्कृतिक पहिचानका लागि जुर्मुराए । सांस्कृतिक पहिचानको लडाइँले क्रमिक रूपमा मधेशका पर्व त्यौहारले राष्ट्रिय मान्यता पाउन थाले । पहाडको कुनै एक समुदायलाई कुकुरपूजामा पनि सार्वजनिक बिदा दिने, तर मधेशको छठ, होली र ईदमा बिदा दिन शासक वर्ग हिच्किचायो । यस अवस्थामा मधेशका जनताको शासक, सरकार र राष्ट्रप्रति के धारण बन्यो होला ? नश्लवादी सरकार यसबारे कहिल्यै संवेदनशील बनेन ।
मधेशको पहिचान मेटाउन मधेशका कला, संस्कृति र साहित्यलाई पनि उपेक्षा गरियो । राज्यबाट मधेशको कला, संस्कृति र साहित्यको अन्वेषण, विकास र संरक्षण गरिएन । तिरहुत, सिमौनगढको सभ्यताका अवेशषहरू त्यत्तिकै बिलाएर गयो । काठमाडौँको सत्ताले त्यसको संरक्षण गर्न उचित ठानेन ।
मधेशका मौलिक गीत–संगीत, माटोको ध्वनीलाई प्रश्रय दिने नीति, कार्यक्रम केही ल्याइएन । नेपाल प्रज्ञा प्रतिष्ठानलाई सत्ताका आसेपासेहरूको भर्ती केन्द्र बनाइयो । मधेशका गायक–गायिका, नृत्यकार, साहित्यकार, कलाकार र बुद्धिजीवी प्राज्ञ बन्न सक्छन्, यिनीहरूको पनि सांस्कृतिक चेतना हुन्छ भनेर शासक वर्गलाई कहिल्यै लागेन । मधेशको सांस्कृतिक पहिचान मेटाउने षड्यन्त्रका कारण मधेशका जनतामा आफ्नै मौलिक संस्कृति बिर्सने प्रवृत्ति देखापर्यों ।
मधेशका झिझिया, जाटजटिन, समाचकेवा, झुमरी, सखिया, कीर्तनिया, भगता, झरनी, होरीजस्ता माटोका पर्वमा पहाडे झ्याउरे नृत्यले अतिक्रमण गर्न थाल्यो । होलीको ठाउँमा देउसी भैलोको अतिक्रमण भयो । अनि जितिया पावनको ठाउँमा तिजको अतिक्रमण भयो । यसरी पञ्चायतअघि र त्यसपछिका सरकारले पनि भाषणमा जे भने पनि पहिचानको भूषणमा त्यो प्रतिविम्बित भएन । एक भाषा एक भेषको नीतिले मधेशमाथि शासन जमाइरह्यो । आधिपत्य विस्तार गरिरह्यो ।
पहिचानको राजनीति अहिले नेपाली राजनीतिको केन्द्रमा छ । पहिचान स्थापित गर्न खोज्ने र विस्थापित गर्न खोज्नेहरूको संघर्ष जारी छ । संसारभरका पिंधमा रहेका तप्काले आफ्नो पहिचानको हक खोज्छ । शासन–प्रशासनमा आफ्नो दमित र उत्पीडित अनुहार खोज्छ । आफ्नो पहिचान प्रतिविम्बित होस् भनेर अपेक्षा राख्छ । त्यसका लागि आन्दोलित हुन्छ । यसलाई जातीय राजनीति भनिँदैन । यो त सहअस्तित्वको राजनीति हो ।
विश्व साम्राज्यवादको औपनिवेशिककालको अन्त्यसँगै संसारमा चलेका पहिचानको राजनीतिको लहर अहिलेसम्म गतिवान् छ । उपनिवेश बन्न बाध्य भएका देशहरूमा उपनिवेशको अन्त्यसँगै त्यहाँका जनताले आफ्नो पहिचान खोजे । त्यस समयमा सम्बन्धित राज्यले उपनिवेशवादीहरूकै पदचाप पछ्याउन खोज्ने देशहरू टुक्रिएर फरक राज्य पनि बन्न पुगे । जुन देश उपनिवेश बन्न परेन, त्यहाँको राज्यसत्तामा कुनै खास एक जाति, वर्ग, लिङ्गको मात्रै आधिपत्य रह्यो । अन्य जाति, समुदाय, लिङ्ग, क्षेत्र र राज्यको मूल प्रवाहबाट पाखा लागे । यो अवस्थालाई आन्तरिक उपनिवेश भनियो । आन्तरिक उपनिवेशमा परेकाहरू राज्यमा आफ्नो उपस्थिति खोज्न थाले ।
आफ्नो अनुहार राज्यभन्दा फरक भएको राज्यले स्वीकार गर्नुपर्ने, आफ्नो इतिहास, भूगोल, र संस्कृति राज्यले स्वीकार गर्नुपर्ने माग उनीहरूले राखे ।
राज्यले अटेर गरेपछि उनीहरूमा संघर्षको आँधी हुर्कियो । विष्फोट भयो । त्यो आन्दोलन नै अहिलेको पहिचानको आन्दोलन हो । अहिलेको राज्य पहिचानको ‘प’ पनि सुन्न चाहिरहेको छैन । तर यो आन्दोलन नै अहिलेको अवस्थामा उत्पीडनबाट मुक्त हुने मार्ग हो । आन्तरिक औपनिवेशको भासमा जाकिनुभन्दा त्यसबाट मुक्त हुन लडाईं लड्नु नै श्रेयस्कर हो । सदियौंदेखि पहिचानको संघर्षलाई यहाँका शासक वर्गले गलत व्याख्या गरिरहेका छन् । नश्लीय चिन्तनको विरासतमा हुर्किएका र त्यसैको सोपानमा सत्ताको उपरी संरचनामा पुगेकाहरू पिँधका समुदायलाई आन्तरिक उपनिवेशको दुष्चक्रमा पारिरहन्छन् । त्यसैको आडमा शोषण गर्न चाहन्छन् । मूलवासी र भूमिपुत्रको आदिकालदेखि चलेको सभ्यता, त्यस सभ्यताको जगमा सुसंस्कृत बन्दै आएको संस्कृति र यसैको विरासतमा फैलिएको भूगोललाई तिरस्कार गरेर आफ्नो आधिपत्य स्थापित गर्न चाहन्छन् ।
राज्यमा सबैको अपनत्व बोध गराउने संघर्षको चुरोलाई विषयान्तर गरेर पहिचानको आन्दोलनलाई विखन्डनकारीको संज्ञा दिँदै सामाजिक विद्वेषको बिजारोपण गरिरहेका छन् । आफ्नै जातीय सत्ता लादेर शासन सत्तामा अरुलाई ढिम्किन पनि नदिनेहरूले उल्टै पहिचानवादीलाई विग्रह र जातीय विद्वेषकारीको उपमा दिइरहेका छन् । उनीहरूविरुद्ध विष ओकलिरहेका छन् । नश्लीय सरकारलाई हामी उसको अहंकारबाट ओराल्न चाहिरहेका छौ ।
शासन–सत्ताको मूल प्रवाहीकरणमा छुटेका कोटी अनुहार देखाएर सिंहदरबारमा उनीहरूको हक स्थापित गराउने अभियानमा छौ ।
अब काठमाडौंको सत्ताले शासनमा आफ्नो आधिपत्य कायम राखि राख्ने चिन्तनबाट बाहिर आओस् । बहुपहिचानलाई यथाशक्य चाँडो सम्मान गरोस् । मुलुकलाई सबै जातको माला ठान्ने राज्य सत्ताले हरेक थुंगालाई सम्मान गरोस् । हरेक फूलको थुंगाको अस्तित्व स्वीकार गरोस् ।
(राजेन्द्र महतोद्वारा लेखिएको पाइन प्रकाशनद्वारा प्रकाशित अधुरा क्रान्ति पुस्तकबाट सभार)

तपाईको प्रतिक्रिया