Khadya Bibhag

धानमा लागेन दाना, सर्लाहीका किसान मर्कामा

पालिकाबाट पाएको अनुदानबाला धानको बिउ रोप्दा त्यसमा दाना नलागेपछि सर्लाहीका किसानहरु तनावमा छन् । धान भित्र्याउने बेला भइसक्यो तर त्यहाँका किसानले धानमा कतिखेर दाना लाग्छ भनि कुरेर बसेका छन् । लालबन्दी नगरपालिका र बागमती नगरपालिकाका किसानले अनुदानबाट पाएको साँवा मन्सुली सव–१ जातको धानमा दाना नलाग्ने भएपछि त्यहाँका किसानहरु यतिखेर मारमा परेका छन् । लालबन्दी नगरपालिकामा जुटपानी, जियाजोर र रानिगञ्ज क्षेत्रका किसानले लगाएको धानमा दाना नलाग्ने समस्या देखिएको छ
लालबन्दीमा १० टन र बागमतीमा १३ टन धानको बिउ वितरण भएको पालिकाको कृषि शाखाले जनाएका छन् । नगरपालिकाले धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेका थिए । यसरी पालिकाले वितरण गरेको धानमा दाना नलागेपछि राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषा र बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवन, काठमाडौंबाट कृषि प्राविधिकको टोली गएर स्थलगत निरीक्षण जाँच गरेका छन् । राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथका प्राविधिक अधिकृत परमानन्द शर्माले धान पसाउने बेला असोज पहिलो साता केही दिन तापक्रम अत्याधिक बढेको र त्यसपछि तीन दिनसम्म अविरल वर्षा भएका कारण मौसम अनुकूल नहुँदा धानमा दाना नलागेको बताउनुभयो । धान पसाउने बेला ठूलो पानी परेर धानको फूल धोइदिएकाले राम्रोसँग परागसेचन हुन पाएन, त्यसैले धानमा दाना कम लागेको टोलीले निष्कर्ष निकालेको हो ।
साँवा मन्सुली सव–१ जातको धान १४५ दिन अर्थात् मङ्सिर पहिलो वा दोस्रो हप्तासम्ममा पाक्छ । स्थलगत निरीक्षणमा आएको कृषि प्राविधिकको टोलीले यहाँका किसानले यो जातको धान चाँडो गरी रोपेको र बिचमा भारी वर्षा र उच्च तापक्रमले गर्दा समस्या उत्पन्न भएको प्रारम्भिक निष्कर्ष निकालेका छन् ।
तर लालबन्दी नगरपालिका–२, जुटपानीका किसान रामप्रसाद शिवाकोटीले नयाँ जातको धान राम्रो फल्ने आशमा हौसिएर रोपेपनि अन्तिममा आएर धान बालीमा दाना नै नलागे बताउनुभयो । गत वर्ष १७ कठ्ठा खेतमा ५४ मन धान भित्र्याए तर यो वर्ष नयाँ जातको धान रोप्दा दाना नै लागेन अब के हुने हो थाह छैन भन्दै उहाँले यसपटक जुनसुकै उपाय लगाउँदा पनि दाना नलागेको बताउनुभयो । धान पसाउँदा नै कुहिएको जस्तो भएर पसाएको र तीन छिमल (तीन पटक) धान पसाउँदै, बाला मर्दै गरेको देखिन्छ । कृषि मन्त्रालयबाटै देशभरका पालिकालाई सिफारिस भएर आएको साँवा मन्सुली सव–१ जातको धानको बिउ लालबन्दी र बागमती नगरपालिकाले सहकारी संस्था, कृषक समूह र किसान स्वंयलाई वितरण गरेका थिए । लालबन्दी नगरपालिका–१२, जियाजोरका किसान मोहन घिमिरेको पनि त्यही समस्या छ । उहाँले पनि पाँच कठ्ठामा रोपेको साँवा मन्सुली सव–१ जातको धान पसाए पनि दाना नलागेर पगटा मात्रै देखिएको बताउनुभयो ।
नगरपालिकाबाट अनुदानमा बाँडिएको धानको बीउमा दाना नलागेपछि जियाजोर क्षेत्रका किसानले क्षतिपूर्तिको माग गर्दै लालबन्दी नगरपालिकाको कृषि शाखामा सामूहिक रुपमा निवेदन दिएका छन् । कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख देवानन्द रायले साँवा मन्सुली सव–१ जातको धानमा दाना नलाग्नेसँगै कालो पोके र गवारोको प्रकोप समेत देखिएकाले जिल्लामा धान उत्पादनमा कमी आउने देखिएको बताउनुभयो । उहाँले कृषिविज्ञ सहितको टोली अनुगमन गरेर फर्किएको र टोलीले दिएको प्रतिवेदनका आधारमा स्थानीय, प्रदेश र सङ््घीय सरकारबाट पीडित किसानलाई क्षतिपूर्तिका लागि पहल गरिने जानकारी दिनुभयो ।
लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले अघिल्ला वर्षहरुमा अनुदानमा धानको बीउ वितरण गर्दा कुनै समस्या नआए पनि यो वर्ष साँवा मन्सुली सव–१ जातको धानमा समस्या आएको बताउनुभयो । उहाँका अनुसार लालबन्दी नगरभित्र यो जातको धानमा ५० देखि ९० प्रतिसतसम्म दाना नलाग्ने समस्या देखिएको छ । बागमती नगरपालिकाको कृषि शाखाका प्रमुख अवद्येध झाले बागमती, शङ्करपुर, सोल्टी, राजघाटलगायत क्षेत्रमा लगाइएको धान बालीमा दाना नलाग्ने समस्या रहेको बताउनुभयो । बागमतीमा यो वर्ष उन्नतजातको मकै बालीमा पनि दाना नलाग्ने समस्या देखिएको थियो ।

तपाईको प्रतिक्रिया