काठमाडौं, मंसिर १८ गते । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिविहीन भएको दाबी गर्नुभएको छ ।
नेपालबाट जम्बो टोली लिएर चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीले हिमालय एयरलाईन्सलाई विजनेस दिनुबाहेक देश र जनताको लागि उल्लेख्य उपलब्धि हाँसिल गर्न नसकेको भन्दै साहले यो भ्रमणलाई तीर्थयात्रामै सिमित भएको संज्ञा दिनुभयो ।
चीन भ्रमणको दौरान आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङस्थित् ग्रेट हल अफ दि पिपलमा भएको सौहार्द भेटवार्तापछि जारी गरिएको ९ बुँदे सहमति तथा समझदारीपत्रपछि पूर्वमन्त्री साहले यस्तो टिप्पणी गर्नुबभएको हो ।
अध्यक्ष साहले प्रधानमन्त्री ओलीले भ्रमणअघि नै राजनीति गर्न खोजेपछि चिनियाँ पक्षले भाउ नदिएको पनि दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले सुरुमा चीन भ्रमण भनेर नयाँ दिल्लीको भ्रमण गर्न चाहेको कुरा अहिले चीनले द्धिपक्षीय सहमति तथा समझदारीमा खासै महत्व नदिनुले प्रष्ट भएको दावी गर्नुभयो ।
साहले भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले कांग्रेसलाई खुशी तुल्याएर आफ्नो सत्ता–सुरक्षित राख्न बीआरआई कार्यान्वयनको सवालमा पछि हट्ने भनेर सम्झौता गरेको कारणले चीन उड्नु एक दिनअघि कांग्रेस र एमालेबीच सहमति भएको भनिएको ‘बीआरआई फ्रेमवर्क सहमति’ बारेपनि आजको भेटवार्तामा कुनै चर्चा हुन नसकेको आरोप लगाउनुभयो ।
आम जनता पार्टीको आज बसेको उपत्यका बिशेष कमिटीको बैठकलाई सम्बोधनको क्रममा साहले भन्नुबभयो, “मैले त उहाँको यो भ्रमण तिर्थयात्रामा सिमित हुन्छ भनेर धेरै पहिले नै भनेको थिएँ । आज बेईजिङमा भएको सहमति हेर्दा देशको गौरव नै धुमिल भएको अनुभूति भयो । बीआरआईको कुनै चर्चा भएन । यो भ्रमण देशको लागि उपलब्धिविहीन भयो । तर, उहाँले हिमालय एयरलाईन्सलाई विजनेस दिनुभयो । त्योबाहेक अरू उपलब्धि देखिएन ।’
साहले भैंसीको मासु निर्यात गर्ने समझदारी हुनु र बीआरआईको कुनै चर्चा नहुनेले पनि भ्रमण कति सफल वा असफल भन्ने कुरा प्रष्ट भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया