काठमाडौं मंसिर १८ गते । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले हालै सम्पन्न उपनिार्वचन परिणामले आफ्नो दलको पक्षमा जनमत बढेको पुष्टि भएको बताउनु भएको छ ।
पार्टीको गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई मंगलबार सम्बधोन गर्दै पुनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रुपमा आफूहरुलाई जनमतले अनुमोदन गरेको बताउनु भयो ।
काँग्रेस र एमालेलेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै फैलाएको गलत अफवाहलाई जनताले खारेज गरेको उहांको भनाइ थियो ।
‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौं भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो’, पुनले भन्नुभयो, ‘कहिले एमालेले र कहिले काँग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौं । उपचुनावको परिणमबाट जनताले त्यसको जवाफ दिएका छन् । हामीले आफ्नो जनमत देखाएका छौं ।’
विगतका केही निर्वाचनमा तालमेल गर्दा काँग्रेस र एमालेले आफूहरुको मत लिएको तर आफूहरुलाई मत नदिएको पनि यो निर्वाचनले पुष्टि गरेको उहाले बताउनुभयो । उहाँले काँग्रेस र एमालेको जनमत घटेको र आफूहरुको बढेको दाबी गरे । जितेका ११ ठाउँबाहेकमा पनि धेरै स्थानमा आफ्नो दल दोश्रो भएकाले त्यो पुष्टि हुने तर्क पुनको थियो ।
निर्वाचन परिणामले वर्तमान व्यवस्थालाई बहुदलीयबाट दुई दलीय व्यवस्थामा लैजाने र पालौलापो जनतालाई शासन गर्ने काँग्रेस–एमाले महत्कांक्षामा धक्का लागेको उनले बताउनुभयो । ‘अब त्यो सम्भव छैन । बहुदलीय प्रतिस्पर्धा हुन्छ । माओवादीलाई माइनस गरेर जान तपाईंहरुले सक्नुहुन्न’, पुनले भन्नुभयो ।
पुनले जनताले एक्लै निर्वाचनमा जाँदा आफूहरुलाई विश्वास गरेको भन्दै उहाले पार्टी केन्द्रीय समितिबाट आगामी दिनमा स्थानीय तह तथा संघ र प्रदेशको निर्वाचनमा कसैसँग तालमेल नगर्ने निर्णय यसअघि नै भएको स्मरण गराउनुभयो ।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले भ्रष्टाचार, बेथिति, बिचौलियातन्त्र र राज्य दोहनविरुद्ध काम गरेका कारण पनि जनता आफूहरुतिर आकर्षित भएको उनको भनाइ थियो ।
पुनले आफूहरुको ध्यान सरकारमा नभएको भन्दै ०८४ सम्म मिलेर सरकार चलाउन काँग्रेस–एमालेलाई आग्रह गर्नुभयो । ती दलका नेताले आफ्नो महत्व बढाउन माओवादी सरकार ढाल्ने खेलमा लागेको भन्दै टिप्पणी गरेको भन्दै उहाले सरकारबाहिरै बसेर जनताको सेवा गर्ने उल्लेख गर्नुभयो ।
आफूहरु सरका ढाल्ने खेलनमा नलागेको र नलाग्ने चर्चा गर्दै पुनले विगतका चार महिनामा जसरी नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुको सेवा गरिरहे यो सरकारलाई जनताले सडकबाटै ढाल्ने दाबी गर्नुभयो ‘तपाईंहरुको विचार, व्यवहार, शैली र प्रवृत्ति मिल्छ । तपाईंहरु मिलेरै सरकार चलाइराख्नुस्’ पुनले भन्नुभयो, ‘हामीलाई सरकार चाहिएको छैन । अहिले जसरी नै भ्रष्टाचारी, बिचौलिया, दलालहरुको सेवा गरिराख्नुभयो भने तपाईंहरुलाई कुनै दिन जनताले सडकबाट गलहत्याउँछन् ।’
फरक प्रसंगमा पुनले २०५१ को मध्यावधि निर्वाचनमा एकपटक प्रतिनिधिसभा सदस्य २०७४ मा माओवादी समर्थनमा प्रदेशसभामा बाहेक कहिल्नै चुनाव नजितेका एमाले महासचिव शंकर पोखरेलले आजीवन चुनाव नहारेका आफ्ना अध्यक्ष पुष्पकमल दाहाललाई हरुवा भनेकामा आपत्ति जनाउनुभयो ।
‘२०५१ मा एकपटक र २०७४ मा हामीसँग मिलेर प्रदेशसभामा जितेबाहेक जीवनमा कुनै पनि चुनाव नजितेका व्यक्तिले ०६४ देखिका हरेक चुनावमा जित्दै आउनुभएका हाम्रा अध्यक्षलाई हरुवा भन्न लाज लागेन ? आफ्नो हैसियत हेरेर बोल्ने गर्नुस्’, पुनले भन्नुभयो ।

तपाईको प्रतिक्रिया