Khadya Bibhag

नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त विज्ञप्ति

काठमाडौँ मंसिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा भेटवार्ता गरेका थिए ।

यस क्रममा  नेपाल र चीनबिच विभिन्न समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उच्चस्तरीय भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यको पहिलो बुँदामा दुई देशका नेताहरूले  सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा चीन-नेपालको सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने र पारस्परिक हितका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूबारे गहिरो आदानप्रदान गरेको तथा व्यापक विषयहरूमा सहमतिमा पुगेको उल्लेख छ।

दोस्रो बुँदामा दुई देशबिचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले नेपाल र चीनबिचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन योगदान पुर्‍याएको बताइएको छ । हालका वर्षहरूमा चीन र नेपालबिच सबै तहमा भएको घनिष्ठ आदानप्रदान र व्यावहारिक सहयोगले फलदायी नतिजाहरू देखिएको र यसले दुई जनतालाई मूर्त लाभहरू दिएको उल्लेख छ।

सन् २०२५ मा चीन र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाउने क्रममा दुवै पक्षले वार्षिकोत्सवलाई महत्त्वपूर्ण बनाउने तरिका र उपायहरूबारे व्यापक छलफल गरिएको पनि बताइएको छ ।

शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त र असल छिमेकी र मित्रताको सिद्धान्तको आधारमा दुई देशको हितमा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने जिकिर गरिएको छ ।

तेस्रो बुँदामा दुवै पक्षले आ-आफ्ना प्रमुख चासो र प्रमुख सरोकारहरू समावेश भएका मुद्दाहरूमा एक अर्कालाई आफ्नो दृढ समर्थन गरेको बताइएको छ। नेपालले ताइवान चीनको भूभागको अविभाज्य भाग हो भन्दै एक चीन सिद्धान्तप्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याएको छ । नेपाली पक्षले सिजाङ मामिला चीनको आन्तरिक मामिला भएको र नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने कुरा दोहोर्‍यायो ।

चिनियाँ पक्षले पनि मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशिताको सिद्धान्त र छिमेकमा मित्रता र साझेदारी कायम गर्ने नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

तपाईको प्रतिक्रिया