प्रधानमन्त्री ओलीले लगाएको कुराले जसपा नेपाल अहिलेसम्म हैरान
२ पुष २०८१, मंगलवार १०:५०
२०७४ को चुनावपछि दुई तिहाईभन्दा बढी बहुमत भएको सरकारको प्रधानमन्त्री बन्नुभएका केपी शर्मा अोलीले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको बारेमा भारतलाई लगाउनु भएको एउटा कुराले उपेन्द्र यादव अझै हेरानी झेलिरहनु भएको छ ।
२०७४ मा मधेश प्रदेश (तत्कालिन प्रदेश नम्बर २) सरकारको नेतृत्व तत्कालिन संघीय समाजवादी फोरम नेपालले अर्थात अहिलेको जसपा नेपालले पाएको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको मुख्यमन्त्री लालबाबु राउतलाई बनाउनु भएको थियो । जसपा नेपाल यादवहरुको पार्टी हो भनि आरोप लागि रहेको बेला उपेन्द्र यादवले रणनीतिक रुपमा मुसलमान समुदायका लालबाबु राउतलाई मुख्यमन्त्री बनाएर मधेशमा एउटा उदाहरण प्रस्तुत गर्नुभएको थियो । मुस्लिमलाई जसपा नेपालप्रति आकर्षण गर्नका लागि उपेन्द्र यादवले त्यो रणनीति बनाउनु भएको थियो । मधेश प्रदेशमा यादवपछिको जनसँख्य मुसलमानको नै रहेको छ र मुसलमान र यादव मिलेपछि त्यहाँ अरु दलको दाल गल्दैन ।
पार्टी बनाउन त्यो रणनीतिले कति काम गर्यो गरेन त्यो उपेन्द्र यादवलाई नै थाह होला तर मुस्लिमलाई मुख्यमन्त्री बनाएकोमा उहाँले अहिलसम्म मूल्य चुकाई रहनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एकता गरेर नेकपा बनाइ दुई तिहाइ बहुमत भएको सरकारको नेतृत्व गरेको प्रधानमन्त्री अोलीलाई मधेशवादी दलबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मात्र सघाउनु भएको थियो । तर सरकारमा उपेन्द्र यादव र केपी ओली बिचको सम्बन्ध लामो समय चलेन ।
र, बाध्य भएर उपेन्द्र यादव सरकारबाट बाहिरिनु भएको थियो । उपेन्द्र यादव सरकारबाट बाहिरिने बित्तिकै प्रधानमन्त्री ओलीको विरुद्धमा आन्दोलन सुरु भएको थियो । काँग्रेस, माओवादी, जसपा नेपाल, जनमोर्चा नेपालले मिलेर आन्दोलन गरेका थिए । त्यसमध्ये सबभन्दा कडा उपेन्द्र यादव हुनुभएको थियो ।
त्यति नै बेला जसपा नेपाल भित्रबाट महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाएको थियो । प्रधानमन्त्री अोलीले पनि मधेशका सबै माग पुरा गरिदिने भनेपछि जसपा नेपालमा बिद्रोह गरेर भएपनि महन्थ ठाकुरहरुले उहाँलाई समर्थन मात्र होइन सरकरमै सहभागी हुनुभएको थियो । त्यतिबेला नै हो प्रधानमन्त्री ओलीले भारतलाई मधेशमा उपेन्द्र यादवले मुसलमानलाई मुख्यमन्त्री बनाएर नेपाल–भारतको सम्बन्धमा समस्या उत्पन्न गराएको कुरा लगाउनु भएको थियो ।
सीमा क्षेत्रमा भइरहेको मुसलमानहरुको गतिविधिमा मधेश प्रदेशका मुख्यमन्त्रीको पनि हात रहेको र त्यसमा उपेन्द्र यादवले पनि सघाएको कुरा लगाएको जसपा नेपालका एक नेताले बताउनुभयो । प्रधानमन्त्री तहबाट यस्तो कुरा आएपछि त्यसमा विश्वास नगर्ने कुरा हुँदैन । त्यसबेलादेखि भारतले उपेन्द्र यादवलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको थियो । भारतले पहिलादेखि नै उपेन्द्र यादवलाई चीन निकट मानिरहेको थियो, पछि मुसलमानलाई मुख्यमन्त्री बनाएपछि उहाँमाथि झन संशकित भएको थियो ।
त्यसपछि भारतले नेपालमा रहेका आफ्ना शुभेच्छुक संगठनहरुबाट मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्न लगाएको थियो । लालबाबु राउतलाई सरकारबाट हटाउनसम्म प्रयास भएको थियो । तर उपेन्द्र यादवले लालबाबु राउतलाई जोगाउनु भएको थियो । त्यसपछि भारतले उपेन्द्र यादवमाथि त्यति विश्वास नगरेको बताइएको छ । स्रोतहरु भन्छन्, ‘त्यसको नतिजा हो २०७९ मा सप्तरी–२ बाट उपेन्द्र यादवले चुनाव हार्नु ।’ चुनावको समयमा सप्तरी–२ मै गएर मुसलमान जिहादीलाई उपेन्द्र यादवले संरक्षण दिएको नारा लगाइएको थियो । नारा मात्र लगाइएको थिएन, उपेन्द्र यादवलाई हराउनका लागि सारा शक्ति प्रयोग पनि भएको थियो ।
२०७९ को चुनावपछि उपेन्द्र यादवले मधेश प्रदेशको मुख्यमन्त्री सरोज यादवलाई बनाएपछि बारा–२ मा भएको उपनिर्वाचनमा मात्र चुनाव जित्नु भएको थियो । यदि मधेश प्रदेशमा लालबाबु राउतलाई पुनः दोहोर्याएको भए उपेन्द्र यादव बारा–२ बाट कुनै पनि हालतमा चुनाव जित्नु हुन्थेन । दोस्रो कार्यकालमा पनि लालबाबु राउत मुख्यमन्त्री बन्नका लागि निकै कोसिस गर्नुभएको थियो । तर उपेन्द्र यादवले चुनाव सकिने बित्तिकै बारा–२ बाट चुनाव लड्ने भनेर सरोज यादवलाई मुख्यमन्त्री बनाउने तयारीमा लागि सक्नुभएको थियो । जुन कुराको जानकारी पार्टीभित्र धेरैलाई थिएन ।
तपाईको प्रतिक्रिया