Khadya Bibhag

मधेशी मोर्चा गठन गर्न अध्यक्षहरुलाई नै छैन चासो

जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले अहिले मधेशवादी दलहरुको बिचमा मोर्चाबन्दी गर्न दौडधुपमा लाग्नु भएको छ । तर मधेशका मुख्यदल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र राजेन्द्र महतो राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्षहरुले रुची देखाउनु भएको छैन ।
सत्तारुढ दल काँग्रेस र एमालेले संविधान संशोधन गरी साना दललाई सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न भन्दै मधेश केन्द्रीत दलहरु एकीकृत हुने अभियान थालेका छन् । दलहरुले कार्यदल पनि गठन गरिसकेका छन् तर ती दलका अध्यक्षहरुले त्यसमा खासै रुची नलिएको देखिएको टिप्पणी भइरहेको छ । जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष ह्रदयश त्रिपाठीले पुस ८ गते नै आफ्ना पार्टीका उपाध्यक्ष डा.शिवजी यादवको नृेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गर्नुभएको छ ।

अध्यक्ष त्रिपाठीसहित सो वार्ता समितिले एक चरण हरेक मधेशवादी दलका अध्यक्षसँग भेटघाट गरी सहकार्य वा मोर्चाबन्दीका लागि आग्रह गर्नुभएको छ । माघ १ गते कार्यदलहरुको बैठक बोलाउने तयारी पनि गर्नुभएको छ । यसअघि भएको भेटघाटमा अध्यक्षहरु मोर्चाका लागि सकारात्मक प्रतिकृया दिएपनि अहिले त्यसमा खासै चासो लिइरहनु भएको छैन । त्रिपाठीको पटक पटकको ताकेतामा दलहरुले आफ्नो पार्टीबाट पनि वार्ता समिति बनाएका छन् । सुरुमा अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टीले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा वर्ता समिति गठन गरेको थियो ।

त्यसपछि पुस २१ गते महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा वार्ता समिति गर्यो । त्यसको भोलीपल्ट अर्थात पुस २२ डा.सिके राउत नेतृत्वको जनमत पार्टीले पनि पार्टीका उपाध्यक्ष अब्दुल खानको संयोजकत्वमा वार्तां समिति गठन गर्यो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले असोजमा बसेको केन्द्रीय समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । समिति गठन गरेर राखेपनि मोर्चा वा एकताका लागि कुनै पहल गरेको थिएन ।

वृषेशचन्द्र लाल अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीले २०७९ साउनमा पार्टीका वरिष्ठ नेता डा.विजय सिंहको नेतृत्वमा गठन गरेको वार्ता समितिलाई नै निरन्तरता दिएका छन् । पछिल्लो समय जनता प्रगतिशिल पार्टीका अध्यक्ष त्रिपाठीले पुसदेखि सबैलाई जगाउन थालेपछि वार्ता समितिसम्म गठन गरेका छन् । तर ती दलका अध्यक्षहरु रुची देखाउनु भएको छैन । जबसम्म जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, जनमता पार्टीका अध्यक्ष सिके राउत एक ठाउँमा बसेर छलफललाई अगाडि बढाउनु हुन्न तबसम्म यो मोर्चाको कुरा अगाडि बढ्दैन ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले हालसम्म वार्ता समिति पनि गठन गरेका छैनन् । मधेशवादी दलहरुले उपाध्यक्षहरुको नेतृत्वमा वार्ता समिति बनाए पनि अध्यक्षहरुले एकता वा सहकार्यका लागि खासै रुची नदेखाएको गुनासो भइरहेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव करिब एक महिनादेखि उपत्यका बाहिर हुनुहुन्थ्यो ।

उहाँले पनि यो मोर्चा तथा सहकार्यका लागि कुनै रुची लिनु भएको छैन । त्यस्तै, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पनि काठमडौँ–मधेश आउजाउमा गरिरहनु भएको छ । पार्टीहरुको एकता र सहकार्यको बारेमा उहाँले पनि खासै चासो लिनुभएको छैन । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले हालसम्म वार्ता समिति गठन गर्नुभएको छैन । पार्टीहरुको दबाबमा जनमत पार्टीका अध्यक्ष सिके राउतले वार्ता समिति गठन गरेपनि उहाँले मोर्चा गठनप्रति आशावादी रहनु भएको छैन ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष चौधरीले वार्ता समिति समेत गठन गर्नुभएको छैन । यहाँसम्म कि उहाँले कसैसँग यो विषयमा भेटघाट गर्न पनि मानेका छैनन् । रेशम चौधरी जपान गएको कुरा सबैलाई भन्नुभएको छ जबकी उहाँ यो समाचार तयार पार्दा (पुस २९)सम्म नेपालमै हुनुहुन्छ तर उहाँ कसैसँग भेट्नु भएको छैन ।

तपाईको प्रतिक्रिया