Khadya Bibhag

महन्थ ठाकुले कसलाई दिनुभयो पार्टी बनाउने जिम्मा ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले महाधिवेशनको तयारीका लागि द्रुतगतिमा लागेका छन् । २०८२ बैशाख २६ गतेदेखि महाधिवेशनका लागि संगठन निर्माणदेखि सदस्यता वितरणका कामलाई तिब्रता दिएका छन् । बैशाख आउन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा सबै काम पुरा हुने गरी पार्टीले आफ्नो कामकाजलाई अगाडि बढाएको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा गठन भएको महाधिवेशन निर्देशिका समितिले पनि निर्देशिका तयार पारेर पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पुस २६ गते सुम्पिसकेको छ । उपाध्यक्ष सोनलले भन्नुभयो, ‘महाधिवेशनको लागि निर्देशिका तयार भइसकेको छ अब महाधिवेशनको तयारी तिब्र रुपमा अगाडि बढ्छ ।’
वडा तहदेखि माथिल्लो तहसम्मको अधिवेशन कसरी गराउन, चुनाव कसरी गराउने, महाधिवेशन प्रतिनिधि कसरी चयन गर्ने जस्ता कुरा निर्देशिकामा उल्लेख छ । तलदेखि माथिसम्म ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ भने अन्य समाजिक संरचना, जातजाती, समुदायलाई उसको जनसँख्या तथा भुगोलमा उपस्थितिको आधारमा समावेश गराउने व्यवस्था गरिएको छ ।
संगठनलाई कसरी बलियो तथा समावेशी बनाउने त्यसको दिशानिर्देश यो निर्देंशिकाले गरेको उहाँले बताउनुभयो । पार्टीको हरेक संरचना चुनावी विधिबाट गठन हुने र त्यसका लागि स्थानीय तह, क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रका लागि छुट्टा छुट्टै निर्वाचन समिति बनाएको छ । अधिवेशन तथा महाधिवेशनबाट बन्ने हरेक कार्य समिति चुनावी प्रकृयाबाट नै चयन हुन्छ ।
लोसपाले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने भएको छ । त्यस्तै प्रदेश अधिवेशनका लागि केन्द्रीय समितिले पाँच सदस्यीय, जिल्ला अधिवेशनका लागि प्रदेश समितिले तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्देशनमा भनिएको छ । प्रदेश समिति नरहेको ठाउँमा केन्द्रीय समितिले सो समिति गठन गर्ने भनेको छ । निर्वाचन क्षेत्रीय अधिवेशन तथा पालिका अधिवेशनका लागि तीन–तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्देशिका भनिएको छ ।
निर्देशिका अनुसार पालिका, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनको प्रतिनिधिहरुको नामावली सम्बन्धित निर्वाचन समितिमा कम्तीमा २४ घण्टा पहिले दिनुपर्ने हुन्छ । निर्वाचन क्षेत्रमा सक्रिय रहेको भातृ संगठनले अधिवेशनका लाग पाँच जना, जिल्लामा रहेको भातृ संगठनले पनि पाँच जना प्रतिनिधि चयन गर्ने प्रावधान निर्देशिकामा राखेको छ । त्यस्तै प्रदेश अधिवेशनका लागि प्रदेशमा सक्रिय रहेका मातृ संगठनले सात जना प्रतिनिनिधि चयन गर्न सकिन्छ । त्यसैगरि, केन्द्रमा सक्रिय रहेको भातृ संगठनले केन्द्रीय महाधिवेशनका लागि सात जना प्रतिनिधि चयन गर्ने प्रावधान राखेको छ ।
लोसपा नेपाल निकट लोकतान्त्रिक शिक्षक संघ, लोकतान्त्रिक प्राध्यापक संघ, लोकतान्त्रिक बुद्धिजिवी संघ, लोकतान्त्रिक कानुन व्यवसायी संघ, सेवा निवृत शिक्षक तथा कर्मचारीहरुमध्ये निर्वाचन समिति गठन गर्ने निर्देशिकामा उल्लेख छ । अधिवेशन गराउने बखत कुनै वैधानिक जटिलता उत्पन्न भएमा केन्द्रीय निर्वाचन समितिको निर्णय अन्तिम हुने निर्देशिकामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया