Khadya Bibhag

मधेश आन्दोलनको १८ वर्षः कहाँ गयो उपेन्द्र यादवको दहाड र राजेन्द्र महतोको लल्कार ?

–अनन्त अनुराग
पहिलो मधेश आन्दोलनको १८ बर्ष पुगेको छ । केन्द्रीय राजनीतिको गोलचक्करमा नै मधेशको राजनीति चक्कर खाइ रह्यो । यद्यपी यो १८ वर्षको अवधिमा मधेशी जनताका इच्छा, अपेक्षा र चाहानामा नै परिवर्तन आएको छ । चेतनामा वृद्धि भएको छ । सोच्ने शैली र बुझ्ने शैलीमा विकास भएको छ । मधेशलाई ड्राइभ गर्ने राजनीतिक दल नै दलदलमा फँसेपछि त्यतिकै पनि त्यहाँको जनताको जीवन अन्धकारमै हुने नै भयो । तत्तकालिन मधेश आन्दोलन पहिचान, अधिकार र सम्मानको लागि देशभित्र राष्ट्रियतालाई बलियो बनाउनका लागि भएको थियो । सबै मधेशी शक्ति एकसाथ हुँदा केही हदसम्म मागहरु पुरा पनि भएका छन् । पुरा नभएका मागका पुरा गराउनका दलहरुसँग त्यो शक्ति र समाथ्र्य नै छैन । जसको भुक्तभोगी स्वयं मधेशी दलका नेतृत्वपक्ति नै भएका छन् ।
नेतृत्वले बारम्बार गल्ती गरेपनि मधेशी जनताले क्षमा गर्दै जिताएर पठाएका छन् । तर मधेश केन्द्रित दलले जनताको मतलाई मात्र होइन कि मान र सम्मानलाई पनि ठेस पुर्याउने काम गरेका छन् । अहिलेको अवस्थामा कुनै पनि मधेश केन्द्रित दलका शीर्ष नेतृत्वको कुनै पनि निर्वाचत क्षेत्र सुरक्षित छन् भनि भन्ने अवस्था छैन । नेताहरुले चुनाव कहाँ कुन क्षेत्रबाट कसरी जित्ने त्यसको हिसाब किताबमा लागेका छन् । मधेशवादी दलका कुनै पनि शीर्ष नेताहरुको आफ्नो क्षेत्र सुरक्षित छैन । वर्तमान नेतृत्वको शैलीले अब मधेशी जनता पनि आजित भएका छन् र विकल्पका लागि चिन्तन पनि गरी रहेका छन् ।
दलदलमा मधेशी दल
अधिकार र पहिचानको राजनीति गर्ने मधेश केन्द्रित दल दिनानु दिन दलदलमा फस्दै गएका छन् । एक समय थियो त्यतिबेला एकजुट भएका बेला मधेस केन्द्रित दलहरु देशका प्रमुख निर्णायक शक्ति थिए । र, आज मधेशी केन्द्रित दल आफ्नो साख कसरी जोगाउने भनि चिन्तित छन् । एकातिर सत्ताधारी दुई ठुला दलले तर्साएको तसाए छन् । कहिले पार्टी फुटाई दिने भनेका छन् भने कहिले सरकारबाट निकालि दिने भनेका छन् भने कहिले थ्रेसहोल्ड बढाएर पार्टी नै समाप्त पारि दिने धम्की दिइरहेका छन् । तर त्यसको ठोस जवाफ दिन नसकेर अब के गर्ने भनि दलका नेताहरु अलमलमै छन् ।
यस्तो अबस्था आउनुमा अरु कोही दोषी छैनन् । दोषी कोही छन् भने तिनै दलका मुखियाहरु हुन् । जसले बारम्बार मधेशी जनताका मत लिएर काठमान्डौं केन्द्रित सत्ताको पाउमा बुझाएर, आफ्ना व्यक्तिगत र पारिवारिक व्यवस्थापनमा सत्तालाई भरमग्दुर ऐयास्सीका साधनको रुपमा प्रयोग गरे । उनीहरुका सिमित चाहना र आर्थिक सबलिकरण त उभो लाग्यो । तर त्यसले आम मधेशी जनताले के पाए त्यो मुख्य प्रश्न हो ।

यदि मधेशको मुड र मान अभिमान, सम्मानसँग हल्का खेल्ने कोशिस गरे मधेशको ज्वारभाटामा जलेर खरानी हुन सक्ने विगतको ईतिहासको हेक्का राख्न जरुरी छ ।

 

मधेश आन्दोलनमा सक्रिय भएर लागेकाहरु तिनै नेताका कारण या त गुमनाम छन या आफ्नो राजनितिक साख जोगाउन तथा आफ्नो राजनीतिक यात्रालाई कायम राख्न ठुला दलका नेताको शरणमा पुगेका छन् । अर्कोतर्फ तत्कालिन अबस्थामा ठुला दल परित्याग गरि मधेशी अधिकारका लागि मधेश कित्तामा आएका कतिपय नेताहरु मधेशी जनताको नाममा प्राप्त पद, प्रतिष्ठा र पैसा प्राप्त गरि पुनः आफ्नो पुरानो घर फिर्ता भएका छन् । राजनितिक गलियारका ती महारथीले बुझ्न के जरुरी छन् भने अब मधेशको पुरानो लय र क्रान्तिको छवी सुधार्न कठिन छ ।
आन्दोलनको ओज
हामीले पहिलो मधेश आन्दोलनको ओज सम्झिनै पर्छ । हामीले तत्कालीन मधेस आन्दोलनका अगुवा उपेन्द्र यादवको दहाड पुनः स्मरण गर्नै पर्छ । हामीले राजेन्द्र महतोद्वारा काठमाडौ केन्द्रित सत्तालाई दिएको लल्कार स्मृतिको खाजानाबाट बाहिर ल्याउनै पर्छ । हामीले सन्त बयोवृद्ध शालिन भद्र नेता महन्थ ठाकुरले ‘मरे तो मुक्ती, जिए तो मधेस’ को त्यो गर्जन पुन एक पटक मनन गर्नै पर्छ ।
तर, खै आज तिनै नेताहरु कसरी अचानक सवाशेरबाट शेर भए ? किन तिनिहरुले निर्मम तरिकाले आफ्नो बिगतका ओजको स्खलनबारे समीक्षा गर्न चाहेका छैनन् । तिनिहरु स्वस्थ्य आलोचनाबाट किन भाग्न खोजी रहेका छन् । आलोचना गर्नेहरुमाथी किन सत्रुतापूर्ण व्यवहार देखाउंछन् । किन नेतृत्व वरिपरि केवल गुणगान गर्ने हनुमान मन्डली खडा गरेका छन् । ति हनुमानहरुले पनि नेतृत्वको शेष पछि आफनो राजनीतिक भविष्य प्रति किन गम्भीर नभएका होलान् ।
प्रायः अहिलेका मधेश केन्द्रित दलहरुमा दोस्रो र तेस्रो तहको नेतृत्व बिकास हुन सकेको छैन । उपेन्द्र यादव उहिलेदेखि अहिलेसम्म निरन्तर पार्टीका अध्यक्ष छन् । महन्थ ठाकुर त आजिवन अध्यक्ष रहनुको विकल्प नै छैन । राजेन्द्र महतोलाई दोस्रो तहमा बस्न नसकिने थाहा पाएपछि मधेशबादको तामझामलाई त्याग्दै अहिले स्वदेशबाद भन्दै मधेशबाट पहाड उक्लनु भएको छ । यता, जनमतका अध्यक्ष डा. सिके राउतले पनि सत्ताको गलियारमा जानेर वा नजानेर हात अज्माए पनि खासै केही हात लागेन । बरु, उनिमाथी आम मधेशी जनताको अपेक्षा पनि स्खलित हुन पुगेको छ ।
दलमा पुस्तान्तरण
मधेशी दलभित्र नेतृत्व पुस्तान्तरण वा हस्तान्तरणको प्रकृया थालिने नगर्ने हो भने यसै पनि नयाँ पुस्ता मधेश केन्द्रित दलको झुठो आवश्वासन र भाषणमा विश्वास गर्ने अवस्थामा छैन । मिलेनियम, जेन्जी र जेन्जी बिटा पुस्ताले मधेशका वर्तमान नेतृत्वबाट के अपेक्षा गर्ने ? सधैं अधिकार, पहिचान र सम्मानको नाममा राजनीतिक गरेर मधेशको शिक्षा, स्वास्थ्य, रोजगार, कृषि लगायतको क्षेत्रमा कहिले काम गर्ने ?

अब, मधेश पुनः गोलबन्द हुन सक्दैन, पुनः मधेश एकसाथ जुरुक्क उठन सक्दैन भने भ्रम छ भने समयमा नै त्यस्ता भ्रमबाट मुक्त भए बेस होला ।

दशकअघिसम्म मधेशको शिक्षाको स्तर उत्कृष्ट थियो । डाक्टर, ईजिनियर, शिक्षक लगायतका प्राविधिकहरु कति हो कति तर, मधेशमा हालको शिक्षाको अवस्था कस्तो छ ? यस्ता विषयहरुमा कुनै पनि मधेश केन्द्रित दलका नेताहरु सार्थक बहस र छलफल गर्न तयार छैनन । नमुनाको रुपमा पाएको ८ जिल्लाको मधेश प्रदेशमा हालसम्म गठन भएका सरकारहरुले कुनै पनि नमुना लायक काम गर्न सकेका छैनन ।
जुन दलको नेतृत्वमा सरकार गठन भए पनि आफ्ना दलका नेता, कार्यकर्ता, आसेपासेलाई अवसर दिएर आम मधेशी जनता र आन्दोलनमा सहादत दिएका सहिदहरुको बलिदानीलाई लज्जित पार्ने काम गरेका छन् । पुराना नेतृत्वले गर्न सकेनन भन्दै आएका युवा नेतृत्वको सरकारले पनि खासै केही गर्न नसक्दा युवाहरुमा आक्रोस छ । अहिले मधेश प्रदेश सबैका लागि लुटको केन्द्र बनेको छ । एक पछि अर्काे भ्रष्टाचारका काण्डले कुशासनको नमुना प्रदेशको रुपमा चित्रण हुन थालेको छ । यस्ता आरोपहरुलाई चिर्न कोही पनि तयार देखिँदैन ।
अहिलेसम्मको अवस्था हेर्दा मधेशभित्र मधेश केन्द्रित दलले राजनीतिक पसल चलाई रहेका छन । तर, मधेशका लागि राजनीतिक दल र सही नेतृत्व पंक्ति मधेशी जनताले व्यग्रताका साथ खोजी रहेका छन् । जुन नेतृत्व पाउन अझै कति समय लाग्ने हुन यसै भन्ने अवस्था छैन । अहिले नेतृत्वको कमिकमजोरीले मधेशका मागहरु छरिएर अपलत्र परेका छन् । तर मधेश त्यहि छ, जहाँ थियो, मधेशका मागहरु छदैछ, बरु केही मागहरु समयक्रमसँग थपिएका छन । मधेशको मुड पनि उस्तै छ, मधेशको क्रान्तीकारी मुड केही समयका लागि शान्त मात्र भएको हो, मधेशको मुडसँग खेलवाड गरे फेरि जुनसुकै बेला तंरगित हुन सक्छ ।
यदि हुँदाहुँदै पनि कसैले मधेश सकियो, अब, मधेश पुनः गोलबन्द हुन सक्दैन, पुनः मधेश एकसाथ जुरुक्क उठन सक्दैन भने भ्रम छ भने समयमा नै त्यस्ता भ्रमबाट मुक्त भए बेस होला । यदि मधेशको मुड र मान अभिमान, सम्मानसँग हल्का खेल्ने कोशिस गरे मधेशको ज्वारभाटामा जलेर खरानी हुन सक्ने विगतको ईतिहासको हेक्का राख्न जरुरी छ । देशको स्वाभिमानको लागि मधेश अटल, अमर र सतिसाल झै उभिएको छ । मधेशलाई कुनै पनि बहानामा अब कुनै पनि विभेद स्वीकार छैन । मधेश हिजो भन्दा आज झनै तेज र तर्रार रुपमा प्रस्तुत हुन सक्छ । मधेश अब हरेक मोर्चामा अब्बल हुन अग्रसर छ ।
मधेशको वर्तमान नेतृत्वले अब गम्भीरता पूर्वक सोच्ने समय आइसकेको छ । उनीहरुले जे जति त्याग, बलिदानी र योगदान पुर्याए त्यसका लागि धन्यवाद ज्ञापन गर्दै अब युवा पुस्तालाई अगाडी सारेर अभिभावकीय भूमिका निर्वाह गरी नयाँ जोश, जाँगर र तरिकाबाट मधेशका एजेन्डालाई सैद्धान्तिक बहस, छलफल, वार्ताको माध्यमबाट सम्बोधन गराउन अगाडि बढ्नु पर्छ ।
मतभार वृद्धिको आवश्यकता
त्यति मात्रैले पनि पुग्दैन । विगतका केही निर्वाचनहरुमा मधेश केन्द्रित दलले प्राप्त गरेको मतको कुलभार हेर्दा केवल ११–१२ प्रतिशतको हाराहारीमा प्राप्त हुने गरेका छन् । संसदीय व्यवस्था नम्बरको खेल पनि हो, तसर्थ अब आउँदा दिनमा मधेश केन्द्रित दलले मतभार पनि बृद्धि गर्न अतिआवश्यक छ । यदि आफ्ना माग, एजेन्डा संसदीय व्यवस्थामा लोकतान्त्रीक तरिकाबाट सम्बोधन गराउने हो संसदीय व्यवस्थाको खेलको नियममा पनि अब्बल देखिनु जरुरी छ ।
खेलको नियम हुन्छ, कमजोर मानसिकता र सोचले खेल कहिले पनि जितिन्न, त्यसका लागि मानसिक, शारिरीक र सांख्यात्मक रुपमा हरेक मोर्चामा पुर्ण तयारीका साथ पुनः सबै शक्ति एकजुट भएर अन्तिम धक्काका लागि तयार हुनुपर्दछ । अब, आफनो लागि होइन, आफना परिवारका सदस्य वा नातेदारहरुको व्यवस्थापनका लागि भन्दा मधेशका भावि पुस्ताका लागि सबैले के के त्याग गर्नुपर्ने हो बिनाशर्त त्याग गर्न तयार हुनुपर्दछ ।
वर्तमान नेतृत्वको कमिकमजोरीले दलदलमा फँसाएको मधेशको राजनीतिकलाई पुनः बाहिर ल्याउन निश्वार्थ भावना प्रर्दशन गर्न जरुरी छ । यदि त्यसो गर्न सकिएन भने भावि पुस्ताले कदापि पनि माफ गर्ने छैन । सम्भवतः मधेश आन्दोलनमा जीवनको आहुति दिने महान सहिदहरु पनि स्वर्गबाट यहि कामना गरी रहेको हुनुपर्छ । आउनुस् सहिदका बलिदानीलाई खेर जान नदिने अन्र्तआत्माबाट प्रतिज्ञा गरौं ।
(लेखक अनन्त अनुराग पत्रकार हुनुहुन्छ)

तपाईको प्रतिक्रिया