स्वतन्त्र मधेशका लागि सुरु गरेको आन्दोलनबाट असफल हुनुभएका जनतमत पार्टीका अध्यक्ष डा.सिके राउतले सुरु गरेका कुनै पनि अभियानमा सफल हुनु भएको छैन । स्वतन्त्र मधेश गठबन्धन चलाउँदा कहिले मुठीदान कार्यक्रम, त कहिले गुलाबको फूल वितरण गर्ने, कहिले नीमको बोट रोप्ने, त कहिले एक रुपियाँ संकलन गर्ने अभियान चलाउनु भएका सिके राउतको कुनै पनि अभियान सफल भएको छैन । तर उहाँ हार मान्नु भएको छैन । अहिले पनि विभिन्न आकर्षक नामबाट अभियान चलाउदै आउनु भएको छ । नौलो गणतन्त्र असफल जस्तै छ । अहिले उहाँले ‘यु ट्वान्टी फोर’ अभियान चलाउनु भएको छ ।
डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टी मधेशमा दिनदिनै कमजोर भइरहेको कारण संगठनलाई सुक्ष्म रुपमा अध्ययन गर्न ‘यु ट्वान्टी फोर’ अर्थात २४ घण्टा अपडेट अभियान सुरु गरेको छ । २०७९ को चुनावमा लोभ लाग्दा नारा दिएर राष्ट्रिय पार्टी बनाउन सफल भएका अध्यक्ष राउतले ती नारा तथा प्रतिबद्धता पुरा नगरेपछि जनताका लागि अरुचिकर बन्यो । पार्टीका नेता तथा कार्यकर्ता पनि पार्टी छाडेर जान थालेका छन् ।
पार्टीलाई बचाउनका लागि ‘रि–इन्जिनियरिङ’ गर्न यो अभियान चलाएको हो । संगठनका लागि विभिन्न आकर्षक नारा दिएर अभियान चलाउनमा माहिर अध्यक्ष राउतले यसपटक पनि नयाँ नाम दिएर संगठनका लागि अभियान सुरु गर्नुभएको छ । अब पार्टीका नेता तथा कार्यकर्ता २४ घण्टा पार्टीको निगरानीमा रहने भएको छ । यो अभियान डेढ महिनासम्म सञ्चालन हुनेछ । फागुन २५ र २६ गतेका लागि पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यो बेलासम्म यो अभियान चल्नेछ । बैठकमा यो अभियानको बारेमा समिक्षा गर्नेछ ।
अभियानले संगठनलाई फाइदा गरेको वा उपलब्धीमुलक छ भने त्यसलाई निरन्तरा दिनेछ । सुरुमा डेढ महिनाका लागि सुरु गरिएको छ । यो अभियानले संगठनमा को को छन्, कहाँ कहाँ छन् र कुन अवस्थामा छन् सबैको कुरा अध्ययन गर्नेछन् । पार्टीको कुन नेता के गरिरहेका छन्, उसले गर्ने संगठनको काम कति प्रभावकारी छ, संगठनका लागि कति समय दिन्छन् लगायतका विषयमा पनि अध्ययन गर्नेछन् ।
पार्टीको प्रतिवद्ध कार्यकर्ता कति छन्, त्यसको पनि तथ्यांक संकलन गरिने बताइएको छ । वडा तहदेखि केन्द्रसम्म अध्यावधिक गर्ने बताइएको छ । जनमत पार्टीका एक जना केन्द्रीय सदस्यले भन्नुभयो, ‘धेरैले जनमत पार्टी हुँ भन्छन् तर ती व्यक्ति कहाँ छन्, कहाँको सदस्यता लिएका छन् खोजनीति हुन्छ । कतिपय व्यक्ति सदस्यता लिएर पनि निस्कृय छन् त्यसको बारेमा पनि खोजनीति हुन्छ, कोही पार्टीमा निकै सक्रिय छन् तर उ जहिले पछाडिका पछाडि नै छन् भने त्यसको बारेमा पार्टीले अध्ययन गर्छ ।’
अर्थात संगठनको सम्पूर्ण गतिविधि र सदस्यको बारेमा अध्ययन गर्नेछन् । त्यसका लागि पर्यवेक्षक खटाउने बताइएको छ । यो अभियानले पार्टीलाई रि–इन्जिनियरिङ हुने अपेक्षा गरिएको छ । यसअघि २०७४ को चुनावमा ‘राइट टु रिजेक्ट’ अभियान चलाएर निर्वाचन बहिष्कार गर्नुभएको थियो भने २०७० को संविधानसभा चुनावमा ‘कोठली बाहर’ अभियान चलाउनु भएका थियो । मतदान गर्ने तर कोठली बाहिर मतदान गरेर चुनावको बहिष्कार गर्ने अभियान अध्यक्ष राउतले चलाउनु भएको थियो ।
जसरी उम्मेदवारहरुले चुनावमा मत माग गरिरहेका थिए, त्यसरी सिके राउतका कार्यकर्ताहरुले चुनावकै शैलीमा प्रचार प्रसार गरी कोठली बाहर अर्थात कोठा बाहिर मतदान गर्न आग्रह गरेका थिए । त्यसका लागि संगठनले प्रचार सामाग्री पनि बनाएका थिए । राइट टु रिजेक्ट अभियान पनि त्यसैगरि अध्यक्ष राउतले चलाउनु भएको थियो । तर कुनै पनि अभियान उहाँको सफल भएन । २०७४ मा राइट टु रिजेक्ट अर्थात नो भोट अभियान सफल नभएपछि अध्यक्ष राउतले तत्कालिन स्वतन्त्र मधेशी गठबन्धनको तर्फबाट विज्ञप्ति जारी गर्नुएको थियो ।
उहाँले विज्ञप्तिमा भन्नुभएका थियो, ‘मधेशी जनताद्वारा आफैं ग्राम तथा नगर स्वराज परिषद्को निर्वाचन गराई स्थानीय सरकार घोषणा गरिने, पुनः निर्वाचन हुनु पर्ने धारणा राख्ने पार्टी, उम्मेदवार एवं संघ–संगठनसँग सहकार्यका लागि अपील ।’ नेपाल सरकारद्वारा कञ्चनपुरदेखि झापासम्मका मधेशका जिल्लाहरुमा २०७४ असार १४ र असोज २ गते बाह्य औपनिवेशिक सेना तथा प्रहरीको बन्दुकको नालमा धाँधलीपूर्ण एवम् अपारदर्शी तरीकाले गरिएको स्थानीय तह (गाउँपालिका÷नगरपालिका) को निर्वाचन गराएको आरोप लगाउँदै उहाँले लोकतान्त्रिक निर्वाचनको प्रक्रिया तथा मूल्यमान्यता विपरीत रहेको स्वतन्त्र मधेश गठबन्धनको ठहर रहेको बताउनु भएको थियो ।
२०७९ को चुनाव आउन लागेपछि सिके राउत मुलधारको राजनीतिमा आइसक्नु भएको थियो । र जनमत पाटी गठन गरिसक्नु भएको थियो । त्यतिबेला उहाँले बुथ लेभेलबाटै संगठनलाई मजबुत बनाउन अध्यक्ष राउतले ‘मधेश कभरेज अभियान’ चलाउनु भएको थियो । २०७९ को तिनै तहको निर्वाचनलाई लक्षित गर्दै उहाँले मधेसका २४ वटा जिल्लामा अभियानको चलाउनु भएको थियो । तर त्यो अभियानले पनि सिके राउतलाई साथ दिएन । त्यसपछि उहाँले बुथ–बुथ मजबुत अभियान चलाउनु भएको थियो । बुथलाई बलियो बनाउने उद्देश्यले सो अभियान चलाउनु भएको थियो ।
त्यसका लागि उहाँले केन्द्रबाट नेता खटाउनु भएको थियो तर उहाँले सोचे जस्तो सफलता हात पार्नुभएन । चुनावपछि पार्टी कमजोर हुँदै गएपछि विभिन्न अभियान चलाउदै नौलो गणतन्त्रका लागि आन्दोलन घोषणा गर्नुभयो तर अहिले त्यसको अतोपतो छैन ।


तपाईको प्रतिक्रिया