Khadya Bibhag

बैशाखभित्र सबै तहको अधिवेशन गर्न उपेन्द्र यादवको निर्देशन

जनता समाजवादी पार्टी नेपालले अगामी बैशाखभित्र सबैको तहको अधिवेशन सम्पन्न गर्नका लागि पार्टीको तहगत निकायलाई निर्देशन दिएको छ । केही दिन पहिले बसेको पार्टीको बैठकले सो निर्देशन दिएको हो ।
अगामी फाल्गुन मसान्तसम्म पार्टीका हरेक सदस्यले आफ्नो सदस्यता अध्यावधिक गर्ने र बैशाखसम्ममा भातृ संगठनदेखि पार्टीका सबै तहका अधिवेशन सम्पन्न गर्ने गरी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सबैलाई सर्कुलर पठाउनु भएको छ । चैतसम्म वडा तहदेखि जिल्लासम्मका सबै अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्देशन दिनुभएको छ । त्यस्तै बैशाखसम्म भातृ संगठन तथा प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने बताइएको छ ।
जसपा नेपालले माघ १९ र २० गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानको समिक्षा हुने पार्टीका महासचिव रामकुमार शर्माले बताउनुभयो ।
जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान सुरु भएको छ महिना भइसक्यो । गत भदौं ९ गतेदेखि सुरु भएको यो अभियान माघ मसान्तसम्म चल्ने छ । यो छ महिने अभियानले संगठनमा के कति प्रगति ल्याएको, संगठनका लागि अभियान कति प्रभावकारी रह्यो लगायतका विषयमा बैठकमा समिक्षा हुने बताइएको छ । भदौंमा सुरु गरिएको अभियान तीन महिनाका लागि मात्र थियो ।
संगठनका लागि अभियान प्रभावकारी देखिएको कारण तीन महिना थपेको थियो । अब छ महिना बित्न लागेको छ । यसको प्रभावकारिताको विषयमा समिक्षा हुन्छ । संगठन विस्तारमा सहयोग पुर्याएको छ भने यसलाई निरन्तरता दिन सकिने महासचिव शर्माले बताउनुभयो । यो अभियानको क्रममा प्रत्येक वडा, पालिका, जिल्ला तथा प्रदेशसम्म कार्यक्रम गरी कार्यकर्तालाई प्रशिक्षणा दिनुको साथै संगठनलाई अध्यावधिक गर्ने काम गरेको छ । सो क्रममा सदस्यता वितरणको कामलाई पनि अगाडि बढाएको छ । २०८४ सम्म पाँच लाख क्रियाशिल सदस्य बनाउन लक्ष्य जसपा नेपालले राखेको छ ।
त्यस्तै, कार्यकारिणी समितिको बैठकमा दलहरुको बिचमा भइरहेको मोर्चाबन्दीको प्रयासको बारेमा पनि समिक्षा हुने बताउँदै महासचिव शर्माले मोर्चाबन्दी कसरी गर्ने, कुन दलसँग गर्ने लगायतको विषयमा पनि छलफल हुने बताउनुभयो । दलहरुसँग एकता तथा सहकार्यका लागि वार्ता गर्न पार्टीका उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरिसकेको छ । सो समितिले छलफलहरु अगाडि बढाइ रहेको छ ।

तपाईको प्रतिक्रिया