Khadya Bibhag

भण्डारी र पुनलाई एक अर्काको भर तर पार्टीलाई छैन मतलब

पूर्व राष्ट्रपति र उपरराष्ट्रपतिको राजनीतिमा ‘कमब्याक’को चर्चाले नेपालको राजनीति तातिएको छ । सबभन्दा पहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने निर्णय गर्नुभएको थियो । २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहिसक्नु भएका भण्डारीले २०८१ बैशाखमा एमाले पार्टीको आफ्नो सदस्यता नविकरण गराएर चर्चामा आउनु भएको थियो ।
सदस्यता नविकरण गराए पनि हालसम्म पार्टीमा फर्किनु भएको छैन । आज–भोलीमै फर्किने चर्चा भइरहेको छ । तर निश्चित भएको छैन । एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली एकपटक पुनः अध्यक्ष दोहोर्याउने मनसायमा रहेको कारण भण्डारी यति छिट्टो पार्टीमा आउने सम्भावना देखिएको छैन । सक्रिय राजनीतिमा आउने भनि भण्डारीले आफै संकेत गरिसक्नु भएको छ तर पार्टीले हालसम्म निर्णय गरेको छैन ।
उहाँ राष्ट्रपति पदमा जाँदा पार्टीका उपाध्यक्ष हुनुहुन्थ्यो । यता, उपराष्ट्रपति नन्दबहादुर पुन पार्टीमा फर्किसक्नु भएको छ तर पार्टीले हालसम्म स्विकार गरेको छैन । पुसको अन्तिम साता काठमाडौँमा बसेको पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय समितिको बैठकमा सहभागी भइसक्नु भएको छ तर पार्टीमा आउने कि नआउने कुरा सुनिश्चित भएको छैन । केन्द्रीय समितिको बैठकमा आमन्त्रित सदस्यको रुपमा उहाँलाई बोलाइएको थियो । तर पार्टीमा राख्ने कि नराख्ने पार्टीले निर्णय गर्न सकेको छैन । पार्टीमा उहाँलाई फर्काउने विषयमा एकमत हुन सकेको छैन । केही नेताहरुले खुलेर विरोध गरिरहनु भएको छ । उपमहासचिवद्वारा जनार्दन शर्मा र वर्षमान पुन पनि नन्दबहादुर पुन पार्टीमा फर्कियोस् भने पक्षमा हुनुहुन्न ।
पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको बारेमा एमाले र माआवादी केन्द्रले अझै निर्णय गरेको छैन । यद्यपी उहाँ आआफ्नो पार्टीमा बर्चस्व देखाउन थाल्नुभएको छ । पार्टीमा गुट पनि चलाउन थाल्नु भएको छ । यहाँसम्म कि उहाँहरुले पार्टीमा भागबण्डामा पनि दावी गर्न थाल्नु भएको छ । अहिलेको वर्तमान सरकारमा रहेको अर्थमन्त्री एवं उपप्रधानमन्त्री विष्णु पौडेल पूर्व राष्ट्रपति भण्डारीको गुटका हुनुहुन्छ ।
त्यस्तै पूर्व उपराष्ट्रपति पुन पनि पार्टीमा आफ्नो हिस्सा माग्न थाल्नु भएको छ । आफ्ना नेताहरुलाई अघि सार्न थाल्नुभएको छ । पार्टीले स्विकार गर्ने कि नगर्ने निश्चित नभएपछि भण्डारी र पुनको बिचमा कुराकानी भइरहेको छ । एक अर्कालाई उहाँहरुले सहयोग गरिरहनु भएको छ । उहाँहरु प्रत्यक्ष भेटघाट नगरेपछि फोनमा नियमित कुराकानी भइरहेको स्रोतहरुले दावी गरेका छन् । राजनीतिमा कसरी इन्ट्री गरे त्यस विषयमा पनि उहाँहरुको बिचमा पटक पटक संवाद भएको छ ।
माघ १४ गते विराटनगरमा पत्रकारसँग कुरा गर्दै पूर्व राष्ट्रपति भण्डारीले राजनीतिमा ‘कमब्याक’ को विषयलाई लिएर पूर्व उपराष्ट्रपति पुनको लागि शुभेच्छा व्यक्त गर्नुभयो । उहाँले पुन सक्रिय राजनीतिमा फर्किएमा आफू खुशी हुने धारणा उहाँले राख्नुभएको थियो । उहाँले भन्नुभयो, ‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ । राजनीति गरेर आउनुभएको हो । म राष्ट्रपति, उहाँ उपराष्ट्रपति भएर सात वर्ष सहकार्य गरेको हो । खुशी नै लागेको छ, मेरो शुभेच्छा छ ।’
भण्डारीले मात्र होइन, पुनले पनि भण्डारीलाई शुभकामना दिइसक्नु भएको छ । सुरुमा भण्डारीले नै राजनीतिमा फर्किने निर्णय गरेपछि पुनले फोन गरेर शुभेच्छा व्यक्त गर्नुभएको थियो । भण्डारी राजनीतिमा आउने भएपछि मात्र पुनले पनि पार्टीमा फर्किने निर्णयमा पुग्नुभएको थियो । उहाँ दुवै जना सल्लाह गरेर कदम अगाडि बढाइ रहनु भएको छ ।

तपाईको प्रतिक्रिया