Khadya Bibhag

सिके राउतलाई कसले दियो ज्यान मार्ने धम्की ?

काठमाडौँ वैशाख ११ गते
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले बिहिवार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकताको मितिको घोषणा गर्दै आफूलाई ज्यान मार्ने धम्की आएको बताउनु भएको छ । आफ्नो सचिवालयको फेसबुकमार्फत सो कुरा बताउनु भएको हो । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बिच बैशाख १७ गते एकता घोषणा हुँदैछ ।
बेलाबेलामा यस्ता अनौठो र आश्चर्यजनक अभिव्यक्ति दिँदै आइरहनु भएका जनमत पार्टीका अध्यक्ष राउतले नागरिक उन्मुक्ति पार्टीसँग एकतालाई लिएर निकै उत्साहित देखिनु भएको छ । उहाँ यति उत्साहित हुनुभएको छ कि उहाँले फेसबुकमा भन्नुभएको छ, ‘धेरै पार्टी–शक्तिहरूको अहिले निद्रा उडेको छ। किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ । नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ।’
तर आफूहरुलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले जनमत र नागरिक उन्मुक्ति पार्टी दुवैलाई तहस–नहस गर्नका लागि विगत ७–८ महिनादेखि कुनै कसर बाँकी नराखेका दावी पनि उहाँले गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूस्ताहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरीद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राऊ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन् ।’
तर कसले ज्यान मार्ने धम्की दिएका छन् तथा रेशम चौधरीलाई कसले पुनः पक्राउ गराई दिने धम्की कसले दिएका छन् त्यो कुरा पनि उहाँले खुलाउनु भएको छैन । बरु उहाँले भन्नुभएको छ,
‘हामी आत्तिएका छैनौं । तपाईंहरू पनि नआत्तिनुहोला । जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौं । एकता हुन्छ नै ।’

तपाईको प्रतिक्रिया