Khadya Bibhag

जनमत अध्यक्ष डा. राउतको गुनासो,बजेट विभाजनमा हाम्रो पार्टीप्रति प्रतिशोध

काठमाडौँ, असार ११ गते । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सिके राउतले मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२\८३ को बजेटप्रति असन्तोष व्यक्त गर्दै आफूहरूको माग र योजनाहरू बेवास्ता गरिएको गुनासो गर्नुभएको छ।

जनमत पार्टीका तर्फबाट प्रदेश सरकारलाई प्रस्तुत गरिएका अधिकांश योजनाहरू बजेटमा समावेश नभएको र परेकाहरूमा पनि न्यूनतम रकम मात्र छुट्याइएको भन्दै अध्यक्ष राउतले गम्भीर आपत्ति जनाउनुभएको हो। उहाँले भन्नुभयो, “जनमतले जनताबीच गएर उठाएका प्राथमिकताका योजना बजेटमा परेनन्। परे पनि अरू पार्टीका सिफारिसमा करोडौं बजेट छुट्याइएका योजनाहरूको छेउछाउमै जनमतको योजना छ भने पनि ५-५ लाख मात्र राखिएको छ। यो कस्तो प्रतिशोध हो ?”

डा. राउतले आफ्नो निर्वाचन क्षेत्र सप्तरी–२ का योजनाहरूलाई अपमानजनक ढंगले न्यून बजेट दिएको आरोप लगाउँदै भन्नुभयो, “सिरियली हेर्दा माथि र तल करोडौं बजेट परेको छ, तर म आफैंले दिएको योजनामा ५ लाख मात्रै छ। कस्तो विडम्बना ।”

उहाँले बजेट विभाजनमा मात्र नभई पछिल्लो समय भएका दर्जनौं राजनीतिक नियुक्तिहरूमा समेत जनमत पार्टीलाई बेवास्ता गरिएको बताउँदै मधेश सरकारलाई लक्षित गर्दै प्रश्न गर्नुभयो, “मिडिया काउन्सिल, चलचित्र बोर्ड, खेलकुद परिषद् आदिमा अरू पार्टीले भागबन्डा पाए, तर जनमतका तर्फबाट एक जना पनि नियुक्त भएनन् ।”

डा. राउतले यो अवस्थालाई जनमत पार्टीप्रति ुसूक्ष्म प्रतिशोधु को रुपमा व्याख्या गर्दै सरकार संचालनमा पार्टीको निर्देशनको अवहेलना गरिएको आरोप लगाउनुभयो । उहाँले जनमत पार्टीका कार्यकर्ताहरूमा आक्रोश हुनु स्वाभाविक रहेको उल्लेख गर्दै धैर्य धारण गर्न आग्रह गर्नुभयो।

उहाँका अनुसार यो विषयमा पार्टीको संसदीय दल तथा सचिवालय बैठकमा गम्भीर छलफल भई आवश्यक निर्णय लिइनेछ। अध्यक्ष राउतले पार्टी कार्यकर्तालाई आश्वस्त पार्दै भन्नुभयो, “जनमत पार्टी सदैव तपाईंहरूको साथमा छ र रहनेछ।”

मधेश सरकारसँग साझेदारीमा रहेको जनमत पार्टीकै शीर्ष नेतृत्वले यसरी सार्वजनिक असन्तुष्टि प्रकट गर्नु प्रदेश सरकारभित्रको आन्तरिक शक्ति सन्तुलन, नीति निर्माण प्रक्रियामा भागीदारी र कार्यगत समन्वयप्रति पनि गम्भीर प्रश्न उठाएको छ।

 

तपाईको प्रतिक्रिया