जसपा नेपालले आईटी सेललाई प्रशिक्षण दिने

काठमाडौँ असार ९ गते । जनता समाजवादी पार्टी, नेपालले सामाजिक सञ्जालहरूको प्रभावकारी परिचालन तथा प्रचार–प्रसार संयन्त्रलाई संस्थागत र सशक्त बनाउन केन्द्रीय आईटी सेल गठन गर्ने निर्णय गरेको छ।

आइतवार सम्पन्न कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। पार्टीका कार्यकारिणी सदस्य शैलेन्द्र साहका अनुसार आईटी सेलमार्फत स्वाट्सएप, फेसबुक, टिकटक, एक्स, भाइबर, युट्युब, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र उद्देश्यपूर्ण बनाउने योजना रहेको छ।

यसै सन्दर्भमा देशभरका जिल्लाहरूबाट आईटी सेलमा आबद्ध सदस्यहरूको क्षमतावृद्धि र समन्वयलाई मध्यनजर गर्दै पार्टीले दुई दिवसीय आवासीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रम २०८२ साल असार १६ र १७ गते जनकपुरधाममा आयोजना हुने कार्यकारिणी सदस्य साहले जानकारी दिनुभयो।

पार्टीका अनुसार प्रशिक्षणमा सहभागी हुनेहरू सामाजिक सञ्जालमा सक्रिय, प्रविधीमैत्री तथा प्रचार–प्रसारमा अग्रसर कार्यकर्ता रहनेछन्। प्रशिक्षणपछि उनीहरूले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको सन्देश र विचार प्रभावकारी ढंगले प्रवाह गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

जसपाले प्रविधिको प्रयोगलाई संगठित राजनीतिक अभियानको अभिन्न अंग बनाउँदै जाने रणनीति अनुरूप यो कदम चालेको बताइएको छ।

तपाईको प्रतिक्रिया