Khadya Bibhag

प्रचण्डको छेउमा उपेन्द्रको कुर्सी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सहकार्य गर्न नपरोस् भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नचाहेर पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनुपरेको थियो । एउटै मोर्चा (समाजवादी मोर्चा), एउटै सरकारमा रहेको बेला प्रधानमन्त्री रहेका समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी फुटाइ दिएको भन्दै जसपा नेपालका अध्यक्ष उहाँसँग बोलीचाली मात्र होइन, एक अर्काको बाटा हिड्न पनि छोडिसक्नु भएको थियो । जबकी जनयुद्धदेखि शान्ति प्रकृयामा आइसकेपछि तथा गणतन्त्र स्थापनापछि पनि दुई जनाको बिचमा हरेक मोर्चामा सहकार्य हुन्थ्यो । हरेक राजनीतिक संकटमा एक अर्कालाई साथ दिनुहुन्थ्यो । एउटा घटनाले दुवै जनाबिचको दुरी यसरी बढाई दिएको छ । तत्कालै एक ठाउँमा आउने छाँटकाँट देखिएको छैन ।
तर परस्थिति यस्तो आइलाग्यो कि संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै छेउमा उपेन्द्र यादवको कुर्सी लाग्ने अवस्था आएको छ । जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । पार्टीको संसदीय दलबाट निर्णय लिन बाँकी छ । संसदमा उपेन्द्र यादव र प्रचण्ड एकै ठाउँमा आउने सम्भावना बढी सकेको छ । वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले घोषणा नै गरिसक्नु भएको छ । पार्टीका महासचिव रामकुमार शर्माले सरकारबाट पार्टीले समर्थन फिर्तां लिइसकेको छ, औपचारिकताका लागी संसदीय दलबाट पत्र पठाउन मात्र बाँकी रहेको बताउनुभयो । संविधानको अग्रगामी संशोधन गर्ने, सुशासनको ठोस प्रत्याभुती आमजनताले प्राप्त गर्ने, तीव्र गतिमा आर्थिक विकास गर्ने, स्वदेशमै रोजगारीको वातावरण बनाउने, भ्रष्टाचारको महामारीबाट देशलाई मुक्त गर्ने जस्ता महत्वपुर्ण प्रतिबद्धता गरेको एक वर्ष बितिसक्दा पनि केपी ओली नेतृत्वको सरकारले आफ्ना कुनै पनि प्रतिबद्धताप्रति इमान्दारी नदेखाएकोको कारण जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिएको महासचिव शर्माले बताउनुभयो ।
सरकारबाट समर्थन फिर्ता लिएपछि जसपा नेपाल पनि प्रतिपक्षी दल भएको छ । माओवादी केन्द्र पनि प्रतिपक्षी दलको भएको कारणले सदनमा नचाहेर पनि दुई दलको बिचमा सहकार्य हुने देखिएको छ । तर जसपा नेपालका नेताहरुले जसरी आफूहरु सरकारलाई समर्थन गरेर पनि विपक्षी जस्तै अर्थात प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा बोलिरह्यौं त्यसरी नै विपक्षी दलको रुपमा माओवादीसँग सहकार्य नहुने दाबी गर्नुभयो । महासचिव शर्माले भन्नुभयो, ‘कुनै जरुरी छैन कि विपक्षी बेन्चमा बसेपछि माओवादी केन्द्रसँग सहकार्य गर्नैपर्छ, विपक्षमा बसेर माओवादीले आफ्नो काम गर्छ, हामी आफ्नो काम गर्छौ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो विश्वास गुमाइसक्नु भएको छ, विश्वास बनाउनका लागी जसपा नेपालले लिएको एजेण्डालाई संसदमा समर्थन गर्नुपर्छ अनि मात्र सहकार्य गर्ने कि नगर्ने विषयमा सोच्न सकिने उहाँले बताउनुभयो ।
जसपा नेपालका आफ्नै मुद्दा रहेको जिकिर गर्दै महासचिव शर्माले ती मुद्दामा माओवादी केन्द्रको कस्तो सहयोग हुन्छ, त्यसकै आधारमा सम्बन्ध निर्धारण हुने बताउनुभयो । जसपा नेपाल संसदमा भए पनि सडकको मोर्चालाई सशक्त बनाएर जाने तयारीमा लागेको उहाँले बताउनुभयो । जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि प्रचण्ड विश्वसनीय व्यक्ति नभएका कारण आफूहरूको सहकार्य नहुने बताउनुभयो । ‘प्रचण्डले विगतदेखि पटक–पटक धोका दिएका कारण विश्वास गर्ने आधार छैन,’ उहाँले भन्नुभयो, ‘त्यही भएर विपक्षी गठबन्धनमा माओवादी केन्द्रसँग सहकार्य हुँदैन ।’

तपाईको प्रतिक्रिया