काठमाडौँ, असार ३० गते । जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र नेता विरेन्द्र साहले आफूमाथि कालोमोसो छर्की ज्यान मार्ने प्रयास भएको भन्दै पार्टीकै दुई नेताविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा सोमवार किटानी जाहेरी दिनुभएको छ ।
बारा क्षेत्र नं. २ स्थित घटनास्थलमा हिजो असार २९ गते बिहान ११ जनमत पार्टीकै नेता विकासकुमार सिंह र रामबाबु साहले आफूहरूलाई लक्षित गर्दै कालोमोसो छर्केको उजुरीमा उल्लेख गरिएको छ । उजुरीमा उनीहरूका साथै अन्य १०–१२ जना अज्ञात व्यक्तिहरू मिलेर योजनाबद्ध रूपमा गाडी रोकी पेट्रोलियम पदार्थ छर्की आगो लगाउने प्रयास गरेको आरोप लगाइएको छ । विकासकुमार र रामबाबु जनमत पार्टीका अध्यक्ष डा.सिके राउतका खास मान्छे हुनुहुन्छ । सिके राउतकै इसारामा उहाँहरुले आफूहरुमाथि हमला गरेको दावी उपाध्यक्ष साहले गर्नुभएको छ ।
जाहेरीपत्रमा भनिएको छ, “हामी जाहेरवाला र डा. सि.के. राउतबिच रहेको व्यक्तिगत रिसईबी साधन गर्न डा. सि.के. राउतका समर्थक भनिएका विपक्षीहरूले हामी चढेको गाडीको सिसा खोल्न लगाई शरिरमा पेट्रोलियम पदार्थ छर्की आगो लगाउने उद्देश्यले सलाई तथा लाइटर समेत तयारी अवस्थामा राखेका थिए । तर हामी गाडी स्टार्ट गरी घटनास्थलबाट भाग्न सफल भएकाले ज्यान जोगिएको हो ।”
प्रहरीसमक्ष दायर उजुरीमा घटना योजनाबद्ध र राजनीतिक प्रतिशोध स्वरूप गरिएको दाबी गरिएको छ । उजुरी दिने नेताहरूले आफूहरू पूर्व उपाध्यक्ष, कोषाध्यक्ष तथा पार्टीका प्रभावशाली कार्यकर्ता भएको कारण लक्षित आक्रमण भएको बादी गर्नुभएको छ ।
यस घटनाले जनमत पार्टीभित्रको आन्तरिक कलह सतहमा आएको छ । पार्टी अध्यक्ष डा. सिके राउतले आफ्नो फेसबुकमार्फत थ्रेट दिएको भोलीपल्ट यो आक्रमण भएको दाबी जाहेरीमा गरिएको छ ।
यो घटनाको पार्टीभित्रै पनि विरोध भइरहेको छ । पार्टीका सचिव बीपी साह, केन्द्रीय नेता संजय यादवले पनि त्यसको विरोध गर्नुंभएको छ ।


तपाईको प्रतिक्रिया