पर्सा, असार ३० – संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका प्रतिकूल प्रभावले तराई–मधेसमा खानेपानीको संकट गहिरिँदै गएको बताएका छन्। गृहजिल्ला पर्सा पुगेका मन्त्री यादवले विशेषगरी वीरगंज महानगरपालिकामा समस्या भयावह बन्दै गएको भन्दै दीर्घकालीन समाधानका लागि सरकारी प्रयास तीव्र पारिएको जानकारी दिएका छन्।
मन्त्री यादवले भने, “खानेपानीको दीर्घकालीन समाधानका लागि विभिन्न स्थानहरूमा डिप बोरिङ जडान गरेर पानी वितरणको काम सुरु भइसकेको छ। तर अझै पनि धेरै ठाउँमा नागरिकले आपूर्तिमा कठिनाइ भोगिरहेका छन्।”
उक्त समस्या पहिचान र समाधानका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया र आफू निर्वाचन क्षेत्र नं. २ का विभिन्न गाउँ, टोल र वडाहरूमा अनुगमनमा आएको उनले बताए।
एडिबिको सहयोगमा ४ अर्ब ५० करोडको परियोजना
वीरगंज महानगरपालिकाको खानेपानी समस्या समाधानका लागि एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा ४ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको जानकारी दिंदै मन्त्री यादवले यो रकम दीर्घकालीन योजना कार्यान्वयनमा खर्च हुने बताए।
“नेपाल खानेपानी संस्थानले सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै समस्याको समाधानमा आवश्यक कदम चालिरहेको छ,” मन्त्री यादवले भने, “यस कार्यमा तपाईंहरू सबैको सहकार्य र समर्थन अपेक्षित छ।”
खानेपानी मन्त्रालयको टिम अहोरात्र खटिएको दाबी
वीरगंजसहित सम्पूर्ण तराई–मधेस क्षेत्रको खानेपानी समस्यालाई राज्यले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री यादवले मन्त्रालयको पूर्ण टिम अहोरात्र खटिएको जनाए।
उनले खानेपानी अभावका कारण नागरिकले भोग्दै आएको कठिनाइप्रति गम्भीर चासो व्यक्त गर्दै भने, “म पूर्ण प्रतिबद्ध र कटिबद्ध छु। यो समस्या समाधान नगरेसम्म म र मेरो मन्त्रालय पछि हट्ने छैनौँ।”
खानेपानी जस्तो आधारभूत सेवा प्रवाहमा सरकारको ध्यान जानु सकारात्मक भएको भन्दै स्थानीयवासीले मन्त्री यादवको प्रयासको स्वागत गरेका छन्।


तपाईको प्रतिक्रिया