भारतलाई गाली गरेर देश तथा पार्टीमा शक्तिशाली बन्नु भएका एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब भारतलाई गाली गर्ने, उसको आलोचना गर्ने एजेण्डा नै छैन । २०७४ र ७९ को चुनावमा भारतलाई गाली गरी राष्ट्र छवी बनाएर चुनाव जित्नु भएका प्रधानमन्त्री अोली २०८४ मा कुन एजेण्डा लिएर चुनाव जाने रणभुल्लमा पर्नुृभएको छ । त्यही भएर एमालेले मिसन ८४ लाई तीव्रता दिन सक्नु भएको छैन । नेता कार्यकर्ता सबै अलमलमा छन् ।
२०७२ मा संविधान बनेपछि मधेशवादी दलले गरेका आन्दोलनका कारण नेपाल–भारत सीमा अवरुद्ध थियो । आन्दोलनका कारण भारतबाट निर्वाधरुपमा समानहरु आइरहेका थिएन । नेपालमा दैनिक उपभोग्यवस्तुको अभाव हुन थाले । त्यही मौकामा एमालेका अध्यक्ष अोलीले प्रचार गर्न थाल्नुभयो कि भारतले नेपालमाथि नाकाबन्दी लगायो ।
भारतले नाकाबन्दी लगायो भनि सबभन्दा बढी प्रचार गर्ने ओली र उहाँका पार्टीका नेता तथा कार्यकर्ताहरु हुनुहुन्थ्यो । त्यसले उहाँ बाहवाही बटुल्नुभयो । त्यतिबेला प्रधानमन्त्रीको रुपमा उहाँ भारत भ्रमणमा जानुअघि नाकाबन्दी अन्त्य भएको थियो । त्यतिबेला धेरैलाई भ्रम थियो कि नाकाबन्दीको अन्त्य प्रधानमन्त्री अोलीले गराउन सफल हुनुभयो । यसरी भारतको विरुद्ध अभिव्यक्ति दिने ओलीलाई भ्रमणमै बोलाएपछि झन उहाँको हाइट बढ्यो ।
त्यो नाकाबन्दीको प्रचार गरेर ओलीले २०७४ को चुनावमा माओवादीसँग गठबन्धन बनाएर राम्रै नतिजा ल्याउनुभयो । उहाँ दुई तिहाइ बहुमत भएको पार्टीको प्रधानमन्त्री बन्नुभयो । त्यो बेला उहाँले चुच्चे नक्साको कुरा उठाउनु भयो । नेपालको नक्सा संशोधन गर्नुभयो । संविधानमा अनुसूची थप्ने काम गर्नुभयो । यसले उहाँको जयजयकार भयो । नेपालमा प्रधानमन्त्री अोलीको छवी झन सशक्त भयो । त्यही समयमा उहाँले चितवनको ठोरीमा राम जन्मेको प्रसङ ल्याउनु भएको थियो । त्यसले नेपालमा ओलीको चर्चा राष्ट्रवादी नेताको रुपमा भयो । त्यतिबेला नेपालमा भारतप्रति नकारात्मक धारणा बनाउनमा प्रधानमन्त्री अोलीले ठुलो भूमिका खेल्नुभएको थियो ।
भारतलाई चिढाउने, गाली गर्ने कार्यलाई प्रधानमन्त्री अोलीले निरन्तरता दिनुभयो । प्रधानमन्त्री अोलीलाई थाह थियो । नेपालमा भारतलाई जति गाली दिइन्छन्, त्यति शक्तिशाली भइन्छ । उहाँले त्यसलाई निरन्तरता दिनुभयो । त्यही कारणले उहाँ २०७९ को चुनावमा सफलता हात पार्नुभयो । नेपालमा दोस्रो शक्तिको रुपमा एमालेको उदय भयो तर प्रधानमन्त्री बन्न उहाँलाई डेढ वर्ष कुर्नुपर्यो । एक वर्ष अघि असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओली पटक पटक भारतको विरुद्धमा अभिव्यक्ति दिनुभएको छ ।
नाकाबन्दी, चुच्चे नक्सालाई छाडेर पछिल्लो समय उहाँले इपीजी प्रतिवेदन र सीमा विवादको कुरा उठाउनु भएको छ । तर यसपटक भारतले मात्र होइन, नेपाली जनताले पनि उहाँको कुराप्रति ध्यान दिएको छैन । प्रधानमन्त्री नियुक्त भएको एक वर्षभन्दा बढी भइसक्यो तर भारतले हालसम्म अोलीलाई भ्रमणमा बोलाएको छैन । भारतले महत्व नदिएपछि प्रधानमन्त्री अोलीले बोलेको कुरा पनि जनताले पत्याउन छाडेका छन् । भारतलाई गाली गरेर आफ्नो राजनीति ग्राफ बढाउनु भएका प्रधानमन्त्री अोलीको ग्राफ तल झर्दैछ किनभने उहाँसँग अब भारतलाई चिढाउने, भारतलाई गाली गर्ने कुनै मुद्दा वा एजेण्डा बाँकी छैन । यदि यस्तै अवस्था रहने हो २०८४ को चुनावमा एमालेको पोजिसन यस्तै नरहने राजनीतिक मामिलाका जानकाहरु बताउनुहुन्छ ।


तपाईको प्रतिक्रिया