Khadya Bibhag

मन्त्रीबाट हटेपछिको पनि जोगार

अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुरी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा महिला बालबालिका मन्त्री हुनुहुन्छ । यसअघि उहाँ मधेश प्रदेश सरकारमा पनि मन्त्री हुनुहुन्थ्यो । जसपा सरकारबाट बाहिरिएपछि उहाँ त्यो पार्टीमा नबस्ने गरी जोगारमा लाग्नुभएको स्रोतले जनाएको छ । उहाँ आफ्नै नेतृत्वमा पार्टी बनाउन लाग्नुभएको छ या नभए कुनै अर्कै पार्टीमा जाने उहाँको तयारी रहेको त्यो स्रोतको दावी छ । राजकुमार महतो नेतृत्व गरेको नेपाल सद्भावना पार्टी खरिद गर्ने सोचमा उहाँ रहनु भएको छ । त्यसका लागि उहाँका छोराले राजकुमार महतोसँग कुरा चलाइ रहनु भएको मन्त्री निकट एक नेताले बताउनुभयो ।

नेपाल सद्भावना पार्टीका एक नेताले भन्नुभयो, ‘मन्त्री साहको छोराले राजकुमार महतोसँग कुराकानी गरिरहनु भएको छ, रकमका कुरा मिलेको छैन, कुरा मिल्यो भने उहाँले सो पार्टी लिनुहुन्छ र आफ्नो छुट्टै पार्टी सञ्चालन गर्नुहुन्छ ।’ जसपाको संगठनको काम राम्रो भइरहेको छैन । कुनै पनि गतिविधि छैन । यस्तै रह्यो भने ८४ को चुनावमा सो पार्टीले राम्रो प्रगति गर्न सक्दैन । त्यही भएर सो दलका नेताहरु अरु अरु पार्टीमा जाने सोच बनाइ रहनु भएको छ ।

२०७४ को चुनावपछि लगातार सत्तामा रहनु भएका नवलकिशोर साहको कामकाजप्रति जनता सन्तुष्ट छैन । तर उहाँ सरकारबिना बाँच्न सक्नुहुन्न जस्तो अवस्था छ । सरकारमा निरन्तर रहेको कारण जनतामा उहाँले एउटा छाप छाड्नुपर्ने थियो तर उहाँको बारेमा सकारात्मक भन्दा नकारात्मक टिप्पणीहरु धेरै भइरहेका छन् । यो वर्तमान सरकारबाट हटेपछि पुनः सरकारमा कसरी जाने त्यसको जोगारमा पनि लाग्नुभएको छ । सम्भवतः कुनै उपाय लगाएर यही सरकारमा रहने उहाँको आन्तरिक तयारी भइरहेको छ । यदि हट्नै पर्यो भने त्यसपछि के गर्ने त्यसको बारेमा पनि उहाँले सोच्न थाल्नुभएको छ ।

जसपा नेपालमा हुँदा पनि उहाँ बलपूर्वक मन्त्री लिनुभएको थियो । मन्त्री नदिए पार्टी छाडि दिने धम्की जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दिनुभएको थियो । उपेन्द्र यादवले उहाँलाई वन मन्त्री बनाउनु भएको थियो । तर अशोक राइ त्यहाँबाट अलग भएपछि नवलकिशोर साह पनि अलग हुनुभयो र जसपाबाट पुनः मन्त्रीलाई निरन्तरता दिनुभयो । नवलकिशोरलाई थाह थियो कि उपेन्द्र यादवसँग रहेपछि मन्त्रीमा रहन दिँदैन, यता अशोक राइले मन्त्री कन्फर्म गरेपछि जसपातिर उहाँ लाग्नुभएको छ । जसपामा रहेर सत्ताको जोगार भएन भने उहाँको अर्को बाटो लाग्ने जोगारमा रहेको उहाँ निकट नेताहरु बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया