Khadya Bibhag

अब कसलाई हान्ने दाउमा हुनुहुन्छ प्रचण्ड ?

भिजिट भिसा प्रकरणमा संसद अवरोध गर्दै आएको माओवादी केन्द्रले अकस्मात् अडान फिर्ता लिएपछि सत्ताको समीकरण फेरिने संकेत देखिन थालेको धेरैले विश्लेषण गर्न थालेका छन् । पछिल्ला घटनाक्रमले माओवादी केन्द्र अब सत्ताको केन्द्रमै रहने रणनीतिमा उन्मुख भएको बुझिएको छ । खासगरी, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको गोप्य छलफलपछि समग्र राजनीतिक घटनाक्रमले नयाँ मोड लिएको राजनीतिक विश्लेषकहरुको विश्लेण छ ।

विश्वसनीय स्रोतका अनुसार, देउवा–प्रचण्ड भेट एक किसिमको टर्निङ प्वाइन्छ बन्यो । आधा घण्टा लामो उक्त वार्तापछि माओवादी अध्यक्ष प्रचण्ड संसद अवरोधको अडानबाट पछाडि हट्न तयार हुने भए मात्र यति नभई प्रमुख प्रतिपक्ष एमालेसँग दुई बुँदे सहमति गर्न समेत सहमत हुनुभएको छ । राजनीतिक प्रेक्षकहरू भन्छन्—सडकबाट सत्ता कब्जा गर्ने नीति लिएको माओवादी अब सत्ता सुरक्षित गर्नकै लागि लचक भएको छ । विगतमा “ढाडमा टेकेर टाउकोमा हान्ने“ शैलीमा अगाडि बढ्ने माओवादी अहिले सत्ता र स्थायित्वको नयाँ समीकरणमा ढल्न थालेको देखिएको छ । संसद अवरुद्धबाट पछाडि हट्नु भएका प्रचण्ड अब कसको टाउकोमा हान्ने हो त्यो हेर्न नै बाँकी छ ।

विशेषतः काँग्रेस सभापति देउवाले देखाएको सक्रिय कूटनीतिक भूमिका निर्णायक बनेको बताइन्छ । देउवा एमालेसँगको सहकार्य तोड्ने मनस्थितिमा रहेको र उपयुक्त समय कुरिरहेको स्रोतहरू बताउँछन् । परिस्थिति मिल्नासाथ माओवादीसँग सहकार्य गरेर नयाँ सत्ता समीकरण बनाउन सक्ने आँकलन गरिएको छ ।

साटासाटको आरोप खण्डन
यसबीच, भिजिट भिसा प्रकरणमाथिको संसद अवरोध अचानक हटाइएपछि कतिपयले माओवादीमाथि आरोप लगाएका छन् कि पार्टीका प्रवक्ता अग्नी सापकोटा विरुद्ध विचाराधीन मुद्दासँग यो प्रकरण साटासाट गरिएको हो । तर, माओवादी केन्द्रले ती आरोपको स्पष्ट खण्डन गरेको छ । उपमहासचिव वर्षमान पुनले सार्वजनिक रूपमा स्पष्ट पानुृभयो कि ‘अग्नी सापकोटाको मुद्दा भिजिट भिसासँग कुनै प्रकारले जोडिएको छैन । त्यो अलग विषय हो ।’
अध्यक्ष प्रचण्डले चितवनमा आयोजित कार्यक्रममा सार्वजनिक रूपमा संसद अवरोध फिर्ता गर्नुको कारण स्पष्ट पार्नुभयो । उहाँका अनुसार, ‘यदि संसद अवरुद्ध नै भइरहने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसको फाइदा हुने र संसद पुनः विघटनको सम्भावना बलियो हुने देखिएको थियो । त्यसकारण हामीले रणनीतिक हिसाबले संसद खोल्ने निर्णय ग¥यौं ।’ उहाँले थप्नुभयो, ‘सदन अवरुद्ध हुँदा प्रतिक्रियावादीहरूलाई खेल्न सजिलो हुन्थ्यो । हामी त्यो सम्भावनालाई निष्क्रिय बनाउन चाहन्थ्यौं ।’

सत्ता समीकरण फेरबदलको सङ्केत
देउवा–प्रचण्ड सम्वादपछिको परिस्थिति र एमालेसँग गरिएको दुई बुँदे सहमतिले संसदको गतिरोध हटाएको भए पनि, अब सत्ताको चरित्रमा फेरबदल हुने सम्भावना झनै प्रस्टिएको छ । काँग्रेस नेतृत्वले माओवादीसँग पुनः गठबन्धन बनाउन सक्ने संकेत देखिन थालेको छ । यसैबीच एमालेभित्र पनि यो घटनाक्रमले चासो उत्पन्न गराएको छ । एमालेले सत्ताबाट हटाउने कदम चाल्न सक्ने जोखिमको आकलन गर्दै देउवाको रणनीति विश्लेषण गर्न थालेको स्रोतहरू बताउँछन् ।

संसद सञ्चालनको सामान्य सन्देशमात्र नभई पछिल्लो सम्वाद र सहमतिहरू नेपाली राजनीतिमा अर्को गठबन्धनको सम्भावना निर्माण गर्ने दिशामा संकेत गरिरहेका छन् । सत्ता अब साझा एजेन्डाभन्दा पनि रणनीतिक चातुर्यमा केन्द्रित बन्दै गएको देखिन्छ ।

तपाईको प्रतिक्रिया