काठमाडौँ भदौ १८ गते । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जागर अभियानमार्फत अरुलाई सुधार्नु भन्दा पहिले यही मोर्चामा रहेका नेताहरु सुध्रिनुपर्ने बताउनुभयो ।
सप्तरीको राजविराजमा आयोजित सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रममा अध्यक्ष महतोले मोर्चाको जागरण अभियानले मधेशको जनालाई जगाउनु भन्दा पहिले यहीं मोर्चाका नेता जाग्नुपर्ने धारणा राखे । भुमि ऐन पास हुँदा मोर्चाका घटक दलका सांसदहरुको पोजिसन संसदमा के रह्यो त्यो कुरा स्पष्ट राख्नुपर्ने उहाँले धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘‘सारा मधेशी पार्टी एक भएर मात्रै नपुग्ने अवस्था रहेकोले आदिवासी जनजातीसहित सबै उत्पीडित जाती र समुदायहरु नमिलेसम्म अधिकार पाउन गाह्रो हुन्छ ।’
अध्यक्ष महतोले अहिलेको सत्ता गठबन्धन लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास भएको टिप्पणी गर्नुहुँदै उत्पीडितहरुलाई अधिकारविहिन बनाई कांग्रेस, एमालेले विगत ३५÷३६ वर्षदेखि देश लुटेर जनतालाई कंगाल बनाएको आरोप लगाउनुभयो । उहाँले पूर्वी सभ्यता र संस्कृतिलाई मेटाएर यहाँका शासकवर्गले होलीवाइन संस्कृति लाद्न खोजेको पनि आरोप लगाउनुभयो ।

लोकतान्त्रिक मोर्चाको बारेमा अध्यक्ष महतोको त्यस्तो कुरा आएपछि जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले भन्नुभयो, ‘मोर्चालाई तोड्ने र भत्काउने काम कसैबाट भयो भने मधेशी जनताले त्यसको दानापानी रोकिदिनुपर्छ ।’
संघीय लोकतान्त्रिक मोर्चा गठनमा अहम् भूमिका खेल्नु भएका अध्यक्ष त्रिपाठीले यदि यो मोर्चा तोड्न कमजोर पार्न यस मोर्चामा आवद्ध कुनै दल वा नेताले बदमासी गरे भने दानापानी बन्द गर्न मधेशका जनता अगाडि आउनुपर्ने धारणा राख्नुभयो । यो राज्यसत्तालाई मधेश चाहिने तर मधेशी नचाहिने बताउँदै उहाँले भुमि विधेयक भुमिविहिन र सुकुम्बासीको लागि भन्दा पनि भुमाफियाको लागि ल्याएको टिप्पणी गर्नुभयो ।
सोही कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भूमि ऐनले मधेशीहरुलाई एकजुट भएर लड्न बाध्य बनाएको बताउनुयभो ।
अध्यक्ष ठाकुरले मधेशीको जन्म नै संघर्ष गर्नलाई भएकोले संघर्षबाट पछि नहट्ने बताउनुभयो । भूमि ऐनले मधेशीहरुलाई एकजुट भएर लड्न बाध्य बनाएको उल्लेख गर्दै उहाँले भूमि ऐन मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने षड्यन्त्र रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेशीसँग अब दुईटा विकल्प मात्र छन्, कि लडेर आफ्नो अधिकार लिन्छन् या कि सकिन्छ ।’
राष्ट्रिय मुक्ति पार्टी नेपालका सप्तरी अध्यक्ष दीपेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो, ‘‘तराई मधेशको उब्जाउ भूमिलाई शासकवर्गले पहिलो चरणमा बक्सिस, बिर्ता, जागिरको रुपमा वितरण गरे, दोश्रो चरणमा हदबन्दीको नाममा खोसे, तेस्रो चरणमा पुनर्वास कम्पनीको नाममा विदेशीहरुलाई वन विनाश गरेर जमिन बाँडे, चौथो चरणमा कानुन बनाएर सुकुम्बासीको नाममा कार्यकर्तालाई जग्गा वितरण गरे र अहिले आएर पाँचौ चरणमा भुमि ऐन ल्याएर मधेशलाई मरुभूमि बनाउन खोजिएको छ ।’
मधेशलाई आन्तरिक उपनिवेश बनाई अझै शासन गरिरहेको बताउँदै उहाँले आफ्नै शासन सत्ताका लागि सबै मिलेर संघर्ष गर्नु पर्ने धारणा राखे । समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गरिनुपर्ने माग गर्दै अध्यक्ष यादवले मधेशको अधिकारका लागि एकपटक पुनः संघर्षमा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले अहिलेको गठबन्धन सरकारले कुशासन र भ्रष्टाचार बढाएको टिप्प्णी गर्दै आन्दोलनकारी माथिको झुठा मुद्दा सरकारले फिर्ता लिनु पर्ने बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय कोषाध्यक्ष टीका लक्ष्मी चौधरीले नश्लीय शासनबाट देशले मुक्ति खोजेको बताउनुभयो । यी सबै पार्टीले मिलेर संघर्ष गर्ने हो भने मात्रै अधिकार प्राप्त हुन सक्ने उहाँ बताउनुभयो ।
मोर्चाले पहिलो चरणमा देशको आठ ठाउँमा जनजागरण अभियान सञ्चालन गर्ने तय गरेको थियो । जसअनुसार अब २० गते जनकपुरधाममा कार्यक्रम हुनेछ ।


तपाईको प्रतिक्रिया