गौर घटना भएको १९ वर्ष भइसकेको छ । तर यो घटनाले बेलाबेलामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भुत जस्तो पछ्याइ रहेको छ । जब ठुला दलले उपेन्द्र यादवसँग काम लिनुपर्ने हुन्छ, झुकाउनु पर्यो भने गौर घटनाको फाइल खोल्छ । १९ बित्दा पनि त्यसको चर्चा कम भएको छैन । विभिन्न राजनीतिक दलदेखि लिएर राष्ट्रिय मानव अधिकार आयोगलगायतका संघ संस्थाले पनि गौर घटनाको बारेमा चासो लिँदै आइरहेका छन् । २०६३ चैत ७ गते रौतहटको गौर बजारमा भएको तत्कालिन मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताको बीचमा झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो भने त्यसमा ११५ जना घाइते भएका थिए । सायद दुई पार्टीको बीचमा झडप हुँदा यसरी मानवीय क्षती भएको यो पहिलो घटना होला तर त्यसमा संलग्न दोषीलाई हालसम्म कारवाही भएको छैन ।
राष्ट्रिय मानव अधिकारी आयोगले गत पुस १९ गते एक निर्णय गर्दै घटना भएको १६ वर्ष बित्न लाग्दा पनि किटानी जाहेरी दरखास्त उपर कुनै कारवाही, अनुसन्धान, तहकीकात गरी अभियोजन गर्ने कार्य नदेखिएको ठहर गरेको थियो ।
घटनाबारे अनुसन्धान कार्य अघि नबढाउने जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक योगेश्वर रोमखामी र मानव अधिकारको उल्लंघन हुनबाट रोक्ने जिम्मेवारी पूरा नगर्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ओझा, तत्कालीन प्रहरी उपरीक्षक रामकुमार खनाल, सशस्त्र प्रहरी नायव उपरीक्षक धर्मानन्द सापकोटा र नायव उपरीक्षक कामाख्या नारायण सिंहलाई सेवामा नै बहाल रहेको अवस्था भएमा विभागीय कारवाही गर्न र सेवा निवृत्त भएको अवस्था भएमा आगामी दिनमा राज्यको तर्फबाट कुनैपनि थप अवसर प्रदान नगर्न आयोगले सरकारलाई सिफारिस गरेको आठ महिना भइसक्यो तर अहिलेसम्म राज्यको तर्फबाट कुनै कारवाही हुन सकेको छैन ।
त्यति मात्र होइन, आयोगले किटानी जाहेरी दरखास्त र नेपाल सरकारबाट गठित गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन, २०६४ मा औंल्याईएका व्यक्तिहरू उपर तत्काल अनुसन्धान गरी दोषी देखिएका व्यक्तिहरू उपर अभियोग दर्ता गराउने कार्यगरी सो को जानकारी आयोगलाई तीन तीन महिनामा गराउन समेत सरकारलाई निर्देशनदिएको थियो तर अझै त्यो कार्यान्वयनमा आएको छैन ।
मृतकका परिवारले समेत हालसम्म सरकारबाट कुनै राहत तथा क्षतिपूर्ति प्राप्त नगरेको उल्लेख गर्दै आयोगले मृतक व्यक्तिका प्रत्येक परिवारलाई राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १६ बमोजिम कम्तीमा प्रति व्यक्ति तीन लाखको दरले यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराई तीन महिनाभित्र आयोगमा जानकारी गराउन भनेको थियो तर त्यो पनि कार्यान्वयनमा आएको छैन । घाइतलाई निशुल्क उपचार गराउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।
यस्तो जघन्य अपराध हुँदा पनि जिल्लास्थित राष्ट्रिय अनुसन्धान कार्यालयको भूमिका अति निष्कृय देखिएको हुँदा राष्ट्रिय अनुसन्धान कार्यालयहरूको प्रभावकारीताको मुल्याङ्कन गरी जिम्मेवारी पुरा नगर्ने तत्कालीन कार्यालय प्रमुखलाई जवाफदेही बनाउन पनि सरकारलाई भनेको छ ।
कसरी भयो घटना ?
गौर घटना हुनुमा तत्कालीन नेकपा माओवादी भातृ संगठन मधेशी मुक्ति मोर्चा र मधेशी जनअधिकार फोरमको तिक्ततापूर्ण र प्रतिशोधी व्यहार जिम्मेवार रहेको आयोगको ठहर छ । घटनामा तत्कालिन फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादव र रौतहट जिल्लाका फोरम कार्यकर्ताहरू तथा तत्कालीन नेकपा (माओवादी) भातृसंगठन मधेशी मुक्ति मोर्चाका तत्कालीन महासचिव प्रभु साह एवम् पूर्व जनसरकार प्रमुख विन्देश्वर यादवलाई एकै स्थान र समयमा दुई फरक कार्यक्रम हुँदा अवस्था बिग्रन सक्छ भनि थाह हुँदा हुँदै कार्यक्रम गरेको देखिएको आयोगले ठहर गरेको छ ।
घटनामा फोरमतर्फबाट मधेशी मुक्ति मोर्चाको मञ्च भत्काउने तथा तोडफोड गर्ने कार्य भएपछि त्यसको प्रतिरोधमा पहिलो गोली मधेशी मुक्तिमोर्चाको तर्फबाट चलेको आयोगले आफ्नो निर्णयमा उल्लेख गरेको छ । माओवादीको तर्फबाट गोली चलेपछि त्यसको प्रतिकारमा फोरम तर्फबाट माओवादीहरूलाई पूर्व तयारी गरी नियोजित रुपमा नियन्त्रणमा लिई वा लिने क्रममा भएका क्रियाकलाप अमानवीय र क्रूर हुन पुगेको आयोगले जनाएको छ ।
लैंडिग संवेदनहीन भई माओवादी महिला कार्यकर्ताको स्तन काटिनु महिलाका जननेन्द्रियहरूमा लक्षित गरी कुटपिट गरिनु, व्यक्तिहरूको हत्या गर्ने तरिका प्राय एउटै हुनु, अपरिचित व्यक्तिहरूलाई लखेटी लखेटी लाठी भाटा, रड, भाला जस्ता हतियारले कुटीकुटी वा घोचीघोची मारेको, जलाएको, मारिसकेपछि बौद्धिमाईको मन्दिर वरिपरि मृतकको लाश घुमाई मूर्तिमा रगत चढाएको भनी उल्लेख भएको यस आयोग र गौर घटना जाँचबुझ आयोगको प्रतिवेदनको निष्कर्षबाट घटना पूर्व नियोजित मनसाययुक्त र क्रूर तरिकाबाट गराईको निष्कर्ष आयोगको रहेको छ ।
आयोगका अनुसार यस्तो क्रूर, अमानवीय योजनबद्ध र पूर्व नियोजित देखिएको भनी यस आयोग र गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन समेतबाट उजागर भएको यस घटनामा एकातर्फ जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको तालुक निकायबाट थप बल पठाउने कार्य भएको देखिएन भने अर्कोतर्फ जिल्लामा रहेका नेपाल प्ररही र सशस्त्र प्रहरीबीचमा समेत प्रभावकारी समन्वय हुन नसकेको दुख अवस्था रहेको आयोगले ठहर गरेको छ ।
घटना हुनुभन्दा अघि र घटना भएको दिन समेत अत्यन्त कमजोर रुपमा उपस्थित जनाएको स्थानीय सुरक्षाकर्मी र प्रशासनले यस्तो गम्भीर अवराधका दोषीहरुलाई कानुनी दायरामा ल्याउन असफल भएको आयोगल जनाएको छ । आयोगले जिल्लास्थित तत्कालिन प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ओझाले घटना हुन नदिन कुनै पहल गरेको देखिएन भने राष्ट्रिय अनुसन्धान कार्यालयको भूमिका पनि प्रभावहिन देखिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा दुई वटा किटानी जाहेरी दर्ता गराए पनि कल्पनासम्म गर्न नसकिने अपराधविरुद्ध वास्तविक रुपमा जाहेरीका आधारमा जिम्मेवारीमा रहेका निकाय पूर्णतः उदासीन रहेको र यसमा प्रहरी प्रधान कार्यालय र महान्यायाधिवक्ता कार्यालयले समेत वेवास्ता गरेको आयोगले जनाएको छ ।
एउटा पत्रकारको टोलीले गरेको स्थलगत अध्ययन अनुसार कार्यक्रम जुधेपछि सम्भावित भिडन्त टार्न माओवादी पक्षले तत्कालिन फोरमका जिल्ला अध्यक्ष अमर यादवलाई कार्यक्रम सार्न आरोध गरेको थियो । तर नमानेपछि समय अघिपछि पारेर शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने सहमति भएको जानकारी माओवादी पक्षबाट पाइयोको पत्रकारको प्रतिवेदनमा उल्लेख छ ।
त्यहीअनुसार फोरम र मोर्चार्को मञ्च करिब ६० मिटर दूरीको फरकमा बनेको पनि थियो । सहमतिअनुसार फोरमको कार्यक्रम सकिएपछि मोर्चाको कार्यक्रम गर्ने समझदारीअन्तरर्गत मोर्चाको जुलुस बजार परिक्रमा गरिरहँदा बन्दूक, फट्टा, लाठी, चुपीसहितको फोरमको उत्तेजित जत्थाले अचानक मधेसी राष्ट्रिय मुक्ति मोर्चार्को मञ्च तोडफोड गरेपछि स्थिति बिग्रिएको पत्रकारको प्रतिवेदनमा उल्लेख छ ।
भारतीय गुण्डा प्रयोग
माओवादीको जुलुस पुगेपछि तत्कालिन फोरमको कभरमा भारतबाट झिकाइएका हतियारधारी गुण्डाहरुको जत्थाले मञ्चको दक्षिण–पश्चिमस्थित पहेंलो रंगको घरबाट अचानक पिस्टनबाट फायर गरेपछि र आफ्नो मञ्च भत्काइएको देखेपछि आक्रोशित बनेका माओवादीका कार्यकर्ताहरुले फोरमको मञ्च तोडफोड गरेको पत्रकारको प्रतिवेदनमा उल्लेख छ ।
त्यहीबीचमा वरिपरिका अन्य घरहरु र सभास्थल नजिकका पानी ट्यांकीमा समेत लुकेका फोरमका कार्यकर्ता तथा भारतीय गुण्डाहरुले स्वचालित हतियार तथा एके ४७ बाट फायरिङ्ग गरेको कुरा माओवादी निकट वाई.सी.एल.का गौरका तत्कालिन उपाध्यक्ष लक्ष्मणप्रसाद यादव (हिमाल) ले बताएकोको प्रतिवेदनमा उल्लेख छ । लक्ष्मणका अनुसार फोरमका विन्दवासिनी साहनीले पहिलो फायर गरेका हुन् । त्यसपछि पानीटंयाकी, जिविस सभापतिको निवास र फोरमकै मञ्च अगाडिको घरबाट थ्रीनट(थ्री) एस.एम्जी. पिष्टन, माउजर र ग्रिनेटहरु अन्धाधुन्दा प्रहार गरिएको रौतहटका भू्पू् जनसरकार प्रमुख विन्देश्वर यादवले बताएकोको प्रतिवेदनमा उल्लेख छ ।
कसलाई कसरी भयो हत्या
गौरको पुरानो राइसमिल चौरस्थित माओवादी मञ्चको वरीपरी नै ५ जना हत्या भयो । गोली लागी घाइते भएकाहरुलाई लाठी, फट्टा र खुकुरीद्वारा निर्मम ढंगले प्रहार गरी हत्या गरिएको तत्कालिन उपाध्यक्ष लक्ष्मणको दावी छ । सो घटनामा मारिएकी प्रतिमा खातुनलाई दर्जनौं फोरमका कार्यकर्ताहरुले बलात्कार गरी छट्पटाइरहेकी अवस्थामा आगो लगाई हत्या गरेको कुरा पनि पत्रकारको प्रतिवेदनमा उल्लेख छ ।
गौरबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको बोधिमाई मन्दिरमा र्सलाहीतर्फ भाग्दै गरेका माओवादीका कार्यकर्ताहरुलाई फोरमका कार्यकर्ताहरु तथा भारतीय पेशेवर हत्याराहरुले बाग्मती नदीबाट कब्जा गरेर ल्याई ‘माओवादीलाई बलि दिनुपर्छ’ भन्दै सामूहिक रुपमा ११ जनाको हत्या गरेको प्रतिवेदनमा उल्लेख छ । सो घटनामा हत्या गरिएका रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीलाई फोरमका कार्यकर्ताहरुले दर्जनौं पटक बलात्कार गरी गुप्ताङ्गमा बाँसका लाठी घोंचेर स्तन काटेर तड्पाई तड्पाई जिउँदै आगो लगाएको प्रतिवेदनमा उल्लेख छ । बलात्कृत महिलाहरुले ‘आफूहरुलाई बिहे गर तर नमार’ भनेर अनुनय विनय गर्दा पनि फोरमका कार्यकर्ताले उनीहरुलाई छोड्नुको सट्टा जिउँदै आगोमा लगाइएर मारेको प्रत्यक्षदर्शीको कुरा प्रतिवेदनमा उल्लेख गरेको छ ।
गौर बजारभित्रै रौतहट गेष्ट हाउस नजिक रहेको एउटा फुसको घरमा लुकी बसेका माओवादीका कार्यकर्ताहरुलाई बाहिर थुती गोली हानेर भाला, खुकुरी, ढुङ्गा, इट्टाले कुटीकुटी मारेको कुरा घटनाबाट भाग्न सफल विन्देश्वर यादवले पत्रकारहरुलाई बताएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी नेपाली सेनाको भद्रकाली गण रहेको स्थान नजिकको शिर्शिया र मडलवाको चौरछेउ अन्य तीन जनालाई फट्टा, ढुंगा र इटा प्रहार गरी अशक्त घाइते बनाएर गहुँ बारीमा घिसारी घिसारी मारेको प्रतिवेदनमा उल्लेख छ । अर्को एक जना माओवादीका कार्यकर्तालाई राष्ट्रिय वाणिज्य बैंकको नजिकै हत्या गरी नालामा फालिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रचण्ड र उपेन्द्र पनि दोषी
नेकपा (माओवादी) भातृ संगठन मधेशी मुक्तिमोर्चा र फोरम दुवैले हतियारको प्रयोग गरी एकले अर्काको स्वतन्त्रता र अस्तित्वलाई स्वीकार गर्न नसक्दा नै यस्तो अपराध हुन गएको हो । यस कार्यमा दुवै दलका जिल्ला स्तरीय नेता र केन्द्रको हकमा तत्कालीन फोरमका अध्यक्ष यादव तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड समेतले आफ्नो मातहतका नेता तथा कार्यकर्ताहरूलाई संयमित बनाउने तथा घटनामा दोषी देखिएका कार्यकर्ताहरूलाई कानूनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गरेको देखिएको आयोगले ठहर गरेको छ ।
घटनामा माओवादीका अध्यक्ष प्रचण्ड, तत्कालीन मधेशी मुक्ति मोर्चाका महासचिव प्रभु साह र पूर्व जनसरकार प्रमुख विन्देश्वर यादव तथा तत्कालीन अध्यक्ष उपेन्द्र यादव समेत जिम्मेवार रहेको आयोगले जनाएको छ । घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता भएका जाहेरीमा नाम उल्लेख भएका र नेपाल सरकारद्वारा गठित गौर घटना जाँचबुझ आयोगको प्रतिवेदनले दोषी भनी उल्लेख गरेका नामावलीमा तत्कालिन फोरमका अध्यक्ष यादवको पनि नामरहेको छ ।
यसरी यो घटनाको वर्षौ बित्दा पनि दोषीमाथि कारवाही नहुँदा पिडितहरुले बेलाबेलामा सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन् । पिडितहरुले गौर हत्याकाण्ड पीडित संघर्ष समिति नै गठन गरेर ध्यानाकर्ष गराउँदै आएका छन् ।
सरकारलाई ध्यानाकर्षण गराउनुको साथै बेलाबेलामा प्रदर्शन पनि गरेका छन् । संघर्ष समितिले साउन १ गते गौरमा वृहत प्रदर्शन गरेको थियो भने यसअघि प्रधानमन्त्रीलगायत अन्य सरोकारवालालाई ज्ञापनपत्र बुझाएको छ । तर सरकारले हालसम्म गौर घटनाको बारेमा केही बोलेको छैन जब कि अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री छन् । तर रौतहटमा माओवादीले गौर घटनाका दोषीलाई बचाउन उपेन्द्र यादव नेतृत्वको जसपालाई सहयोग गरिरहेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहको दावी छ ।
तपाईको प्रतिक्रिया