काठमाडौँ, भदौ २३ गते । राजधानीको राजनीतिक तथा सामाजिक आन्दोलनको केन्द्र मानिने माइतीघर मण्डला आज फेरि एकपटक प्रदर्शनकारीले भरिएको दृश्य देखियो। बिहान ११ बजेदेखि सुरु भएको यो प्रदर्शन जेनजीहरुले आयोजना गरेका हुन्। प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति दिएको थियो, जसले गर्दा यसपटक माइतीघरमा आएको भीड व्यवस्थित र शान्तिपूर्ण देखिन्थ्यो ।
कलेज ड्रेस लगाएका युवाहरु हातमा प्लेकार्ड बोकेर मण्डलामा पुगेका थिए। उनीहरुका प्लेकार्डमा भ्रष्टाचारविरुद्धका तीखा नाराहरु, पारदर्शिता सुनिश्चित गर्ने माग र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्ने अभिव्यक्तिहरु अंकित थिए। यस्ता माग केवल नारामात्र नभई उनीहरुको भोलिको भविष्यप्रति भएको गम्भीर चिन्ता र पीडाको आवाज पनि झल्किरहेको थियो ।
आन्दोलन सुरु हुनु अघि आयोजकहरुले विज्ञप्ति जारी गरी आफ्नो कदम शान्तिपूर्ण र कानुनी सीमाभित्रै रहने विश्वास दिलाएका थिए। उनीहरुको भनाइमा, समाजलाई नष्ट गरिरहेको भ्रष्टाचारलाई नियन्त्रण नगरेसम्म सुशासन सम्भव छैन, सरकारको कामकाजमा पारदर्शिता नभएसम्म जनताले आफ्नो अधिकार महसुस गर्न सक्दैनन्, र राजनीतिक हस्तक्षेपबाट ग्रस्त प्रशासनले कहिल्यै पनि निष्पक्ष सेवा दिन सक्दैन। त्यसैले, उनीहरुको आन्दोलन कुनै व्यक्तिगत लाभका लागि नभई साझा सरोकारका विषयलाई राज्यसामु उजागर गर्ने प्रयास थियो ।
युवा पुस्ताको सक्रिय सहभागिता, शान्तिपूर्ण तर दृढ स्वर, र प्रष्ट उद्देश्यका साथ सम्पन्न भएको यो प्रदर्शनले फेरि एकपटक देखायो कि नागरिक समाज र जएनजीहरु केवल विकासका मामिलामा मात्र होइन, लोकतान्त्रिक संस्कारलाई जोगाउने जिम्मेवारीमा पनि सक्रिय छन् । माइतीघरमा गुञ्जिएका ती आवाजहरूले सरकारलाई सुशासन र जबाफदेहिताको बाटो रोज्न अझै मजबुर बनाउने संकेत दिएका छन् ।


तपाईको प्रतिक्रिया