Khadya Bibhag

दुग्ध संकलन र ढुवानीमा सहजता ल्याउन बोर्डको आग्रह

काठमाडौं, भदौं २७ गते । दुग्ध विकास बोर्डले दुध बिक्रि वितराणमा आवश्यक सहजीकरण गर्न सरोकार निकायलाई आग्रह गरेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गरी हालको विषम परिस्थितिमा दुग्ध उत्पादन र वितरणमा समस्या देखिएको भन्दै त्यसमा सहजीकरण गर्न आग्रह गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवद्वारा शुक्रबार जारी विज्ञप्तिमा दूध मानव जीवनमा अपरिहार्य खाद्यपदार्थ भएकाले यसको संकलन, प्रशोधन र वितरणमा अवरोध नआओस् भन्ने सुनिश्चित गर्न आग्रह गरिएको छ।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड र डेरी उद्योगहरूले जारी गरेको अपिलप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बोर्डले दुग्ध पदार्थको ढुवानीका लागि आवश्यक मात्रामा इन्धन उपलब्ध गराउन अनुरोध गरेको छ। साथै किसानहरूबाट उत्पादित कच्चा दूध सहजै संकलन गर्न सम्बन्धित उद्योगीहरूलाई समेत आग्रह गरिएको छ।

बोर्डले दुग्ध उत्पादक किसानलाई मार नपरोस् र उपभोक्ताले आवश्यक दूध तथा दुग्ध पदार्थ सहजै पाउन सकून् भनेर सबै पक्षलाई जिम्मेवार रहन आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया