सप्तरी, भदौ २८ गते । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य उमेश यादवले आफ्नै निवासमाथि भएको आक्रमणलाई नियोजित, षड्यन्त्रपूर्ण र प्रतिशोधप्रेरित रहेको दाबी गरेका छन्।
उनले जारी गरेको वक्तव्यमा आफू सन् २०७४ सालदेखि हालसम्म कुनै पनि सरकारी वा राज्यकीय लाभको पदमा नरहेको र जेन–जेड आन्दोलनको मूल भावनालाई समर्थन गर्दै आएको व्यक्तिमाथि आक्रमण हुनु स्वाभाविक नभएको बताएका छन्। “सच्चा जेन–जेड आन्दोलनकारीहरूले मेरो निवासमाथि आक्रमण गरेका होइनन् भन्नेमा हाम्रो परिवार स्पष्ट छ,” यादवले भनेका छन्।
उनका अनुसार अवोध बालबालिकालाई प्रयोग गरेर बदला लिन खोज्ने षड्यन्त्रकारीहरूले यस्तो गतिविधि गरेका छन्। “यस्ता षड्यन्त्रकारीहरूले यसबारे जवाफ दिनैपर्छ,” उनले चेतावनी दिएका छन्।
साथै, उनले राजविराज क्षेत्रमा अरु कसैको आवासमाथि आक्रमण नभएको र यो सकारात्मक पक्ष भएको बताएका छन्।
आक्रमणपछि सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत भर्त्सना गर्ने, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहानुभूति जनाउने सबैप्रति उनले हार्दिक धन्यवाद प्रकट गरेका छन्। “मेरो परिवारप्रति देखाइएको सद्भाव र सहयोगका लागि म आभारी छु,” यादवले भनेका छन्।
तपाईको प्रतिक्रिया