काठमाडौं, भदौ २८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको विषम् परिस्थितिमा आवश्यकताको सिद्धान्तका आधारमा नियुक्त भएकी प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिएका छन्।
यादवले जारी गरेको शुभकामना सन्देशमा सङ्घीयता, लोकतन्त्र, गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै संविधान र संवैधानिकवादको सिद्धान्त तथा विधिको शासन कायम गर्ने महत्वपूर्ण जिम्मेवारी प्रधानमन्त्री कार्कीमाथि रहेको उल्लेख गरिएको छ।
उनले आर्थिक, सामाजिक र राजनीतिक रूपमा बहिष्करणमा पारिएका वा परेका सीमान्तकृत समुदायहरूले अब न्याय पाउने विश्वास व्यक्त गरेका छन्। साथै, मुलुकमा फैलिएको अराजकता, भ्रष्टाचार र अव्यवस्था अन्त्य गरी सुशासन कायम गर्न तथा निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न आफू र पार्टीले सहयोग गर्ने स्पष्ट प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
यादवले प्रधानमन्त्री कार्कीको कार्यकाल सफलताका लागि शुभकामना दिँदै “देशलाई स्थिरता, शान्ति र समृद्धिको दिशातर्फ अघि बढाउन सबैले सहयोग गर्नुपर्ने” बताएका छन् ।
तपाईको प्रतिक्रिया