Khadya Bibhag

भारी वर्षाबाट प्रभावित जनताको सुरक्षामा जुट्न जसपाका उपमहासचिव यादवको निर्देशन

काठमाडौं, असोज १८ गते । देशका विभिन्न भागहरूमा पछिल्ला दुई दिनदेखि जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। पहिरो, बाढी र डुबानका कारण राजमार्ग अवरुद्ध हुनुका साथै आन्तरिक हवाई सेवा समेत प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी पर्सा जिल्लामा सबैभन्दा बढी वर्षा मापन गरिएको छ।

यस्तो चुनौतीपूर्ण घडीमा जनता समाजवादी पार्टी ९जसपा० का उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र संरचनालाई विपद् व्यवस्थापनमा सक्रिय रूपमा खटिन निर्देशन दिएका छन्।

एक विज्ञप्तिमार्फत यादवले भनेका छन्, “जनताको सुरक्षालाई सर्वोपरि प्राथमिकता दिँदै पूर्ण सतर्कता र सक्रियताका साथ विपद् व्यवस्थापनमा जुट्न सबैलाई हार्दिक आग्रह गर्दछु।”

उनले विशेष रूपमा स्थानीय पार्टी कमिटीहरूलाई सम्बद्ध सरकारी निकायहरूसँग समन्वय गर्दै जोखिममा परेका नागरिकहरूको उद्धार, राहत र संरक्षणमा अग्रपङ्क्तिमा रहन निर्देशन दिएका छन्।

प्रदीप यादवले यस कठिन घडीमा पार्टीका नेता–कार्यकर्तामात्र नभई प्रत्येक जिम्मेवार नागरिकलाई पनि एकताबद्ध भएर सहयोग, सद्भाव र सशक्त उपस्थिति प्रदर्शन गर्न आह्वान गरेका छन्।

“हामी सबै विपद् व्यवस्थापनका लागि तयार रहौं, संकटमा परेकाहरूलाई छिटो सहयोग पुगोस् भन्ने कामना गर्दछु,” यादवले विज्ञप्तिमा उल्लेख गरेका छन्।

सरकारी निकाय र सरोकारवालासँगको सहकार्यमा जसपा परिवारले विपद् प्रभावित क्षेत्रहरूमा राहत र पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया