Khadya Bibhag

देशभरका नदीहरूमा बाढीको उच्च जोखिम, ८ नदीमा खतरा तह नाघ्यो

काठमाडौं, असोज १९, २०८२ (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण)

आज बिहान ५:३० बजेसम्मको वास्तविक (Real-time) जलसतह विवरण अनुसार देशका विभिन्न नदीहरूमा बाढीको जोखिम बढेको छ।

आठ वटा नदी केन्द्रहरूमा जलसतह खतरा तह भन्दा माथि पुगेको प्राधिकरणले जनाएको छ। तीमध्ये बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढी खोला (सुनसरी) र बिरिङ खोला (झापा) लगायतका बाढीमापन केन्द्रहरू समावेश छन्।

१२ वटा नदी केन्द्रहरूमा जलसतह सतर्कता तह भन्दा माथि रहेको र अधिकांश स्थानमा बहाव अझै बढ्दो क्रममा रहेको प्राधिकरणले जनाएको छ। ती नदीहरूमा मुख्य रूपमा बागमती, कमला, र कोसी जलाधार क्षेत्रका केन्द्रहरू रहेका छन्।

प्राधिकरणका अनुसार बागमती र मधेस प्रदेशमा वर्षाको तिब्रता विस्तारै घट्न थालेको छ भने कोसी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। उक्त वर्षा क्रम अझ केही घण्टा जारी रहने अनुमान गरिएको छ।

आज बेलुकीसम्म उल्लेखित नदीहरूमा बाढीको उच्च जोखिम रहिरहने तथा भोली बिहानसम्म मध्यम जोखिम कायम रहने प्राधिकरणको पूर्वानुमान छ। त्यसैले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्राधिकरणले भनिएको छ, “बाढी जोखिम भएका क्षेत्रका बासिन्दा, स्थानीय निकाय र सम्बद्ध निकायहरूले सावधानी अपनाउन र आवश्यक तयारी गर्न अनुरोध गर्दछौं।”

थप विवरण र अद्यावधिक पूर्वानुमान आज बिहान ८ बजे जारी हुने बाढी पूर्वानुमान बुलेटिनमा समावेश हुने प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया