Khadya Bibhag

जेनजी आन्दोलनले संस्थागत शासनको आधार तयार गर्न सकेनन्

–जेपी गुप्ता, राजनीतिक विश्लेषक
नेपालमा भदौं २३ र २४ गते जेनजी पुस्ताको भिषण आन्दोलन भयो । दुई दिनमै देशमा उथलपुथल ल्याइ दियो । विश्वकै ध्यान नेपालतर्फ तानियो । तर यसखालको आन्दोलन नेपालमा मात्र होइन, अन्य देशमा पनि भएका छन् । एसिया महादेश विगत एक शताब्दीभन्दा बढी समयदेखि राजनीतिक आन्दोलन र क्रान्तिको प्रयोगशाला रहँदै आएको छ । स्वतन्त्रता, समानता, लोकतन्त्र र सामाजिक न्यायका नाममा यहाँ धेरै देशमा ऐतिहासिक विद्रोहहरू भए । तर तीमध्ये थोरै मात्र स्थायी संस्थागत लोकतन्त्रमा रूपान्तरण हुन सके । नेपालमा भएको जेनजी आन्दोलनको चर्चा पनि विभिन्न कोणबाट भइरहेको छ । यसले पनि कति स्थायित्व लिन्छ वा लिँदैन त्यो कुराको प्रतिक्षा नै गर्नुपर्छ । तर यी आन्दोलनहरू बिचलित हुन्छन् ? किन जनताको उत्साह दीर्घकालीन संस्थागत रूप लिन सक्दैन ? यी प्रश्नका उत्तर खोज्ने प्रयत्नमा हामीले पुराना राजनीतिककर्मी एवं बैद्धिक व्यक्तित्व जेपी गुप्तासँग कुराकानी गरेका छौं ः

तपाईंको दृष्टिमा एसिया महादेशका देशहरु किन निरन्तर आन्दोलन र राजनीतिक उथलपुथलको भूमिमा परिणत भइरहेका छन् ?
–एसिया संसारको सबैभन्दा विविध महादेश हो । संस्कृति, धर्म, जातीयता र ऐतिहासिक चेतनाको हिसाबले सम्पन्न देशको रुपमा नै लिइन्छ । यही विविधता राजनीतिक आकांक्षा र असमानताको स्रोत पनि हो । विगत शताब्दीभर एशियाली मुलुकहरूमा दुई प्रमुख ध्रुव रह्यो । एकातिर उपनिवेशविरोधी स्वतन्त्रता आन्दोलन, र अर्कोतिर स्वतन्त्रतापछि शासन व्यवस्थामा सुधारको खोज । तर समस्या के भयो भने स्वतन्त्रता प्राप्तिका आन्दोलनहरू नेतृत्वकेन्द्रित थिए संस्थाकेन्द्रित थिएन । अर्थात् आन्दोलनका नायकहरूले जनतालाई उचाल्न सफल भए, तर संस्थागत शासनको आधार तयार गर्न सकेनन् । त्यसैले एसियाली देशहरूमा क्रान्ति सजिलै सुरु हुन्छ, तर स्थायित्व आउन दशकौं लाग्छ वा कहिल्यै आउँदैनन् ।

तपाईंले विचलन शब्द प्रयोग गर्नुभएको छ । क्रान्ति किन र कसरी विचलित हुन्छ ?
–विचलन अर्थात् डिभियन अफ रिभोलुशन । त्यो त्यतिबेला हुन्छ, जब आन्दोलनले आफ्नो मूल उद्देश्य गुमाउँछ । क्रान्ति सुरुमा आदर्श र जन–आकांक्षाबाट प्रेरित हुन्छ, तर सत्ता प्राप्त भएपछि नेतृत्व र संरचना त्यस आदर्शबाट टाढा जान्छ । यसका तीन कारणहरु देखिन्छन्, जस्तो नेतृत्वको सत्तालिप्सा, संस्थागत कमजोर संरचना, नागरिक समाजको निष्क्रियता । जुन आन्दोलनमा यी तीन तत्वको सन्तुलन छैन, त्यो लामो समयसम्म टिक्दैन । त्यसैले हरेक एसियाली देशको आन्दोलनमा सुरुमा जनभावना बलियो थियो, तर परिणाममा सत्ताको केन्द्र सधैं केही व्यक्तिमा सिमित भयो ।

पाकिस्तानको उदाहरण दिँदा स्वतन्त्रता प्राप्तिपछि त्यहाँ क्रान्तिको विचलन कसरी भयो ?
–पाकिस्तानको सन् १९४७ को स्वतन्त्रता आन्दोलन धार्मिक पहिचान र राजनीतिक स्वतन्त्रताको मिश्रण थियो । मोहम्मद अली जिन्नाले धर्मनिरपेक्ष, प्रजातान्त्रिक र न्यायपूर्ण पाकिस्तानको परिकल्पना गरेका थिए । तर जिन्नाको मृत्युपछि देशमा संस्थागत स्थायित्व विकास हुन सकेन । सेनाले राज्य संरचनामा प्रमुख भूमिका लिन थाल्यो, जसले जनताबाट शक्ति हरण ग¥यो । त्यसपछि पाकिस्तानमा लोकतन्त्र बारम्बार सैनिक शासनको बन्धक बन्यो । आयुब खान, जियाउल हक, मुसर्रफ सबैले यही दोहोर्याए । यसले धर्मनिरपेक्षताको सट्टा धार्मिक कट्टरतालाई राज्यको सिद्धान्त बनायो । नतिजा जनताको स्वतन्त्रता, अल्पसंख्यकको अधिकार, र लोकतन्त्रको सपना सब कमजोरो भयो । यो नै एशियाली क्रान्तिको विचलनको पहिलो ठोस उदाहरण हो ।

त्यसपछि बंगलादेशको मुक्ति आन्दोलनलाई कसरी हेर्नुहुन्छ ?
–बंगलादेश सन् १९७१ मा पाकिस्तानको बिभेदविरुद्ध उठेको ऐतिहासिक मुक्ति आन्दोलन हो । भाषिक, सांस्कृतिक र राजनीतिक अधिकारका लागि बंगाली जनताले बलिदान दिए, लाखौंको ज्यान गयो । तर स्वतन्त्रतापछि जुन लोकतन्त्रको आशा गरिएको थियो, त्यो स्थायी हुन सकेन । शेख मुजीबुर रहमानको नेतृत्वमा बनेको नयाँ शासन परिवारवाद र भ्रष्टाचारमा फस्यो । उनकै हत्या भयो, र देश पुनः सैनिक अधिनायकवादमा गयो । मुक्ति आन्दोलनको महान आदर्श व्यवहारमा विचलित भयो । स्वतन्त्रता त आयो, तर स्वतन्त्र समाज बन्न सकेन । यो बंगलादेशको सफल क्रान्ति र असफल संस्थागतकरण बीचको कथा हो ।

श्रीलंकाको तमिल आन्दोलन पनि लामो र हिंस्रक भयो । यसमा के गल्ती भयो ?
–श्रीलंकामा तमिल अल्पसंख्यकले समान अधिकार र पहिचानका लागि सुरु गरेको आन्दोलन सुरुमा राजनीतिक थियो । तर राज्यले वार्ताभन्दा दमन रोज्दा, आन्दोलनले सशस्त्र स्वरूप लियो । एल.टी.टी.ई.को जन्म त्यसैको परिणाम हो । जब आन्दोलनले नै आत्मघाती आक्रमण र आतङ्कवादको बाटो लियो, त्यसको नैतिकता हरायो । २००९ मा सरकारको सेनाले यसलाई सैन्य रूपमा समाप्त ग¥यो । तर तमिल जनताको राजनीतिक समानता अझै सुनिश्चित छैन । यसले देखाउँछ—यदि राज्यले संवाद बन्द गर्छ र आन्दोलनले हिंसा रोज्छ, विचलन दुबै दिशाबाट हुन्छ ।

म्यानमारको आन्दोलन पनि लामो र ठुलो इतिहास बोकेको छ । के त्यहाँ पनि त्यस्तै कुरा दोहोरियो ?
–हो, म्यानमार पनि एउटा उत्कृष्ट उदाहरण हो । सन् १९८८ को छात्र आन्दोलनले देशव्यापी जनउठान ग¥यो । आङ सान सुकी त्यस आन्दोलनको प्रतिक बनिन् । तर सैन्य शासन झण्डै पाँच दशकजति टिक्यो । २०१५ मा उनले जितेर लोकतान्त्रिक सरकार बनाइन्, तर रोहिंग्या संकटमा उदार नीतिको कमीले उनको छवि धुमिल भयो । सन् २०२१ मा पुनः सैनिक कू भयो र सुकी पुनः कैदमा परिन् । यसले स्पष्ट गर्छ कि जहाँ सेनाको शक्ति अत्यधिक हुन्छ, त्यहाँ जनआन्दोलनले ल्याएको लोकतन्त्र स्थायी बन्न सक्दैन ।

भारतमा पनि जेपी आन्दोलनदेखि असम आन्दोलनसम्म विद्यार्थीहरूले ठुलो भूमिका खेले । ती आन्दोलनले के सन्देश दिन्छन् ?
–भारतमा विद्यार्थी आन्दोलनहरू प्रायः जनचेतना जगाउने बलिया माध्यम बने । सन् १९७४–७५ को जेपी आन्दोलन इन्दिरा गान्धीको निरंकुश प्रवृत्तिविरुद्ध उठेको ऐतिहासिक आन्दोलन थियो । यसले आपतकाल अन्त्य ग¥यो, लोकतन्त्र पुनःस्थापित ग¥यो । तर जेपीले देखाएको “संपूर्ण क्रान्ति” दीर्घकालीन व्यवहारमा टिक्न सकेन । सत्तामा पुगेका दलहरू पुनः वंशवाद र भ्रष्टाचारमा फसे । त्यसपछि सन् १९७९–८५ को असम आन्दोलन पनि पहिचान र आप्रवासी प्रश्नमा केन्द्रित थियो । प्रफुल्ल महन्ता मुख्यमन्त्रीसम्म बने, तर आन्दोलनपछि जातीय हिंसा र विभाजन अझ बढ्यो । यी उदाहरणले देखाउँछन्, विद्यार्थी आन्दोलनले शासन बदल्न सक्छ, तर चरित्र बदल्न सक्दैन । थाइल्यान्ड र कम्बोडियाका उदाहरणहरू पनि उल्लेखनीय छन् ।

त्यहाँ के कस्तो समस्या देख्नुहुन्छ ?
–थाइल्यान्डमा सन् १९७३ र १९९२ का जनआन्दोलनहरूले सेनाको अधिनायकवादविरुद्ध ठूलो उथलपुथल ल्याए । तर सेना पुनः सत्तामा फर्किन सफल भयो । त्यहाँ नागरिक समाज बलियो भए पनि संवैधानिक संस्कृति कमजोर रह्यो । कम्बोडियामा भने पोल पोटको खमेर रुज शासन इतिहासकै डरलाग्दो बिचलन हो । समानताको नाममा १७ लाख मानिसको नरसंहार भयो । यो क्रान्ति होइन, बिचलनको चरम रूप थियो । त्यसले देखायो, जब क्रान्ति मानवताविहीन बन्छ, त्यसको अन्त्य रगतले हुन्छ ।

इरान र अफगानिस्तानका आन्दोलनहरू धार्मिक कट्टरतामा परिणत भए, यस्तो किन भयो जस्तो लाग्छ तपाईलाई ?
–यी दुवै देशमा आन्दोलन प्रारम्भमा जन–स्वतन्त्रता र आत्मनिर्णयको पक्षमा थिए । सन् १९७९ को इरानी क्रान्ति शाहको निरंकुशता र पश्चिमी प्रभुत्वविरुद्ध थियो । तर क्रान्तिको नेतृत्व धर्मगुरु खमेनीको हातमा पुगेपछि, त्यो धार्मिक शासनमा बदलियो । स्वतन्त्रता, महिला अधिकार, र बहुलतावाद सबै कुण्ठित भए । अफगानिस्तानमा पनि यही भयो । राजतन्त्रको पतनपछि कम्युनिष्ट शासन, त्यसपछि सोभियत आक्रमण, अनि जिहादी प्रतिरोध भयो । तर हरेक चरणले धार्मिक अतिवाद र विदेशी हस्तक्षेप बढायो । तालीबानको उदय क्रान्तिको विचलनको परिणाम हो, स्वतन्त्रताको सट्टा आतंकको राज्य । यी देशहरूले देखाए कि जब धर्म र राजनीति एकै थालमा मिसिन्छन्, अनि क्रान्ति स्वतन्त्रता होइन, नियन्त्रण जन्माउँछ ।

फिलिपिन्स र चीनका आन्दोलनहरू फरक प्रकृतिका थिए, त्यहाँको आन्दोलनले के सन्देश दिन्छन् ?
–फिलिपिन्सको सन् १९८६ को पिपुल पावर मुभमेन्ट शान्तिपूर्ण परिवर्तनको उत्कृष्ट उदाहरण हो । जनताको शक्तिमार्फत् फर्डिनान्ड मार्कोसको अधिनायकवाद अन्त्य भयो । तर पछि पनि भ्रष्टाचार र वंशवादबाट देश उन्मुक्त हुन सकेन । अर्थात् जनआन्दोलनले सत्ता फेर्न सक्छ, तर संस्कृति फेर्न सक्दैन । चीनमा सन् १९८९ को तियानानमेन आन्दोलन लोकतन्त्रको प्रतिक बन्यो । विद्यार्थीहरूले स्वतन्त्रता मागे, तर सेनाले रक्तपातपूर्वक दमन ग¥यो । त्यसपछि चीन अझ अधिनायकवादी बाटोमा गयो । तर दक्षिण कोरियामा भने ग्वाङ्जु आन्दोलनले प्रारम्भमा असफल भए पनि दीर्घकालीन सफलता दिलायो । त्यहाँको नागरिक समाज निरन्तर सक्रिय रह्यो, जसले सात वर्षपछि स्थायी लोकतन्त्रको बाटो खोल्यो । त्यसैले म भन्छु, असफल क्रान्ति पनि यदि चेतनामा बाँच्छ भने त्यो अन्ततः सफल हुन्छ ।

अब नेपालको कुरा गरौं, यहाँका दुई प्रमुख जनआन्दोलनले के उपलब्धि र के विचलन ल्याए ?
नेपालले दुई ठूला जनआन्दोलन देखेको छ—२०४६ र २०६२÷६३ । पहिलोले बहुदलीय प्रजातन्त्र पुनःस्थापित ग¥यो, दोस्रोले गणतन्त्र घोषणा ग¥यो । तर दुवै आन्दोलनले देखाएको आदर्श—सुशासन, समानता, र विकास—व्यवहारमा टिक्न सकेन । दलहरूबीचको गुटबन्दी, सत्ता–समीकरण, र अवसरवादले जनभावना कमजोर बनायो । माओवादी आन्दोलनले वर्गीय न्याय र सामाजिक समावेशीकरणको मुद्दा उठायो, तर सत्तामा पुगेपछि नैतिक विचलन देखियो । त्यस्तै, मधेश आन्दोलनले संघीयताको बिउ रोप्यो, तर संघीय राजनीति पनि पछि अवसरवाद र लाभको खेलमा फस्यो । नेपालमा आन्दोलन सफल भयो, तर क्रान्तिको मूल्य–व्यवस्था कमजोर बन्यो ।

तपाईंको दृष्टिमा, यी सबै उदाहरणहरूबाट हामीले के सिक्न सक्छौं ?
–पहिलो कुरा आन्दोलनले अधिनायकवाद उखेल्न सक्छ, तर संस्थागत व्यवस्था रोप्न सक्दैन । विप्लव सुरु गर्न सजिलो हुन्छ, शासन निर्माण गर्न कठिन हुन्छ । जहाँ नेतृत्वको सत्यनिष्ठा, नागरिक समाजको निरन्तर दबाब, र राज्य संरचनाको पारदर्शिता छैन, त्यहाँ क्रान्ति विचलित हुन्छ । दक्षिण कोरियाको उदाहरण अपवाद हो, किनकि त्यहाँ नागरिक समाजले आन्दोलनपछि पनि निरन्तर निगरानी ग¥यो । त्यसैले संस्थागत लोकतन्त्र स्थापित भयो । एशियाली आन्दोलनहरूको साझा निचोड यही हो । क्रान्ति केवल परिवर्तनको सुरुवात हो, स्थायित्व भने निरन्तर जिम्मेवारीको अभ्यास हो ।

तपाईंलाई लाग्छ, अहिलेको जेनजी पुस्ताले विगतमा भएका आन्दोलनहरुबाट केही सिक्न सक्छन् ?
–म अहिलेका युवामा विशाल ऊर्जा देख्छु, तर उनीहरूले इतिहासका गल्तीहरूबाट सिक्न जरुरी छ । क्रान्ति केवल नाराबाट सम्भव हुँदैन; त्यसका लागि संस्थागत दृष्टि, संगठनात्मक परिपक्वता र दीर्घकालीन दृष्टिकोण चाहिन्छ । एशियाली इतिहास भन्छ, जुन आन्दोलनले नीति र निष्ठा दुवै जोड्दछ, त्यो दीर्घकालमा विजयी हुन्छ । नेपाल, भारत, बंगलादेश वा म्यानमार, सबैतिर युवा पुस्ता पुनःसक्रिय हुँदैछ । तर तिनीहरूले बुझ्नुपर्छ सत्ताको विरोध गर्नु मात्र होइन, शासनको वैकल्पिक नक्सा तयार गर्न सक्नु नै वास्तविक क्रान्ति हो । यदि जेनजी पुस्ताले त्यो सिक्न सक्यो भने, आगामी आन्दोलनहरू विचलित होइन, स्थायित्व र न्यायको दिशामा रूपान्तरण हुनेछन ्।

तपाईको प्रतिक्रिया